नेभिगेशन
प्रदेश

परम्परामा नयाँपनको धुन

महोत्तरी । बिहेबटुलो र धार्मिक समाजिक कार्यक्रममा महिलाले बाजा बजाएको देख्नुभएको छ । अन्त कतै होला/नहोला बर्दिबासमा भने देख्न सुन्न पाइन्छ ।

बर्दिबास–३ पाटुमा सक्रिय समावेशी नौमती पञ्चे बाजा सांस्कृतिक समूह समाजका लागि प्रेरक उदाहरणका रूपमा छ । परम्परागत सीप, कला र संस्कृतिलाई कुनै जात–धर्म वा लिंगमा सीमित गर्ने पुरानो सोचलाई चुनौती दिँदै समूहले सामुदायिक समावेशिताको नयाँ धार सिर्जना गरेको छ । ‘सीप र कला कसैको निजी सम्पत्ति होइन’ भन्ने मनोभावनासहित निरु पौडेलदेखि सुभद्रा कार्की, अञ्जना तामाङ, भीममाया क्याप्छाकी मगर जस्ता महिलाहरू दमाहा, सहनाइ, झ्यालीजस्ता परम्परागत बाजा समातेर अगाडि बढेका छन् ।

समाजमा ‘यो काम त अमुक जातले मात्र गर्छ’ भन्ने गहिरो धारणालाई तोड्नु उनीहरूका लागि केवल पेसागत यात्रामात्र भएन, एक प्रकारको विद्रोह पनि बन्यो । बाहुनकी छोरीले दमाहा बजाउँदा हुने गुनासा, महिलाले पञ्चे बाजा समाए भनेर हुने टिप्पणीहरू समयसँगै हराउँदै गए, किनकि उनीहरूको सीप, लगन र मेहनतले परिणाम देखाएको छ ।

१५ सदस्यीय समूहमा विभिन्न जात, समुदाय र उमेरका कलाकार छन्, जसले ‘समावेशी’ शब्दलाई केवल नाममै होइन, व्यवहारमै रूपान्तरण गरेका छन् । स्थानीय तथा बाहिरी जिल्लाका कार्यक्रममा उनीहरू निकै व्यस्त छन् । दिनमै दुई ठाउँसम्म पुग्नुपर्ने अवस्था छ, जसले उनीहरूको लोकप्रियता र आवश्यकता दुवैलाई देखाउँछ ।

बर्दिबास र आसपासका क्षेत्रमा कार्यक्रम शुल्क तोकी व्यावसायिक सेवा दिँदै आएको समूहले आर्थिक क्षेत्रमा पनि आत्मनिर्भरता स्थापित गरेको छ । जानुका विकका अनुसार, समूहमा सहभागी भएपछि घरखर्चको जोहोका लागि अरूको आश्रय लिनुपर्ने अवस्था हटेको छ ।

मधेसका अधिकांश जिल्लासँगै उदयपुर, सिन्धुलीजस्ता स्थानमा उनीहरूको प्रस्तुति मन पराइन्छ । कलाकारहरूको लगाव, शुद्ध सुरताल र पेशाप्रतिको समर्पणले युवा पुस्ताको आकर्षण पनि बढ्दै छ । अध्यक्ष रमेश पौडेल खत्रीका अनुसार, युवा पुस्ताको यो चासोले परम्परागत कलालाई संरक्षण र विस्तार गर्ने आशा अझ प्रवल बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्