नेभिगेशन
अर्थतन्त्र

एनपीएलमा चौका बापत एनसेलले वितरण गर्‍यो शैक्षिक सामग्री

काठमाडौं – एनसेल फाउण्डेशनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलमा हानिएका चौकाबापत दुई हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरेको छ । क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने पहलअनुसार, यी सामग्रीहरू सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिएको एनसेलले जनाएको छ ।

गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरु गरिएको प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ । एनपीएल सिजन २ का हरेक चौकामा ४ वटा शैक्षिक सामग्री वितरण गर्ने फाउण्डेशनले जनाएको छ । बिहीबारसम्म खेलिएका एनपीएल सिजन २ का खेलहरूमा ९० खेलाडीहरूले कुल ५१० चौका प्रहार गरेका थिए । ती चौकाका लागि एनसेलले २,०४० शैक्षिक सामग्री वितरण गरेको हो । चौका प्रहार गर्ने शीर्ष तीन खेलाडीहरूको सूचीमा पोखरा अवेन्जर्सका एडम रोसिङटन २७ चौकासहित अगाडि छन् जसले १०८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहेर ७६ शैक्षिक सामग्री योगदान गरेका छन् । त्यसैगरी काठमाडौं गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी तेस्रो स्थानमा छन्, उनीहरूले १७–१७ चौका प्रहार गर्दै प्रत्येकले ६८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् ।

यो पहलले शैक्षिक सामग्रीको वितरणमार्फत विद्यार्थीहरूको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने एनसेलले विश्वास राखेको छ । विद्यार्थीहरूलाई प्रदान गरिएका प्रत्येक किटमा झोलासहित कपी, पेन्सिल, शार्पनर, इरेजरलगायतका आवश्यक सामग्रीहरू समावेश थिए । यी सामग्रीहरूले विद्यार्थीहरूलाई पठनपाठनका लागि आवश्यक स्रोतहरूको कमी घटाउन मद्दत गर्ने र उनीहरूको सिकाइमा योगदान पुर्‍याउने विश्वास गरिएको छ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले क्रिकेटप्रतिको उत्साहलाई अर्थपूर्ण सामाजिक कार्यमा जोड्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्दै आएको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्