नेभिगेशन
कानून/द्वन्द्व

मृतका नाममा वृद्धभत्ता हिनामिना, वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं – मृत व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकालेर हिनामिना गरेको आरोपमा दोलखाको मेलुङ गाउँपालिका–१ का पूर्ववडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा परेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५/७६ ताकाको घटनाका लागि तत्कालीन वडाध्यक्ष ईश्वर कोइराला, वडासचिव विनय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा मृत्यु भइसकेका तर अभिलेखमा नाम नहटाइएका १४ जना लाभग्राहीको कागजातमा कीर्ते हस्ताक्षर तथा औंठाछाप लगाएर रकम निकाली हिनामिना गरिएको पाइएको छ ।

अनुसन्धानबाट वडाध्यक्ष कोइरालाले एक लाभग्राहीको नाममा कीर्ते औंठाछाप लगाई ८ हजार रुपैयाँ निकालेको, कार्यालय सहायक थापाले विभिन्न अवधिमा १० जना लाभग्राहीको नाममा औंठाछाप लगाएर एक लाख रुपैयाँ भुक्तानी लिएको पाइएको छ भने तत्कालीन वडा सचिव उप्रेतीले आठ जनाको नाममा औंठाछाप प्रयोग गरी ६४ हजार रुपैयाँ निकालेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरूले सरकारी कागजातमा गैरकानूनीरूपमा सच्याउने, थपघट गर्ने र सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै कैद र जरिवाना सजायको मागदाबी गरेको छ । प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐनका सम्बन्धित दफाबमोजिम तीनै प्रतिवादीलाई सजाय हुनुपर्ने मागसहित आरोपपत्र दायर गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्