नेभिगेशन
दृष्टिकोण

बन्दसूचीको तरंग

राजनीतिक दलहरूले निर्वाचन हेतु समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाए । यसको अर्थ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन नजिक आइसकेको छ । तर सुरक्षाको सुनिश्चितता भएमा प्रायः सबैजसो दलले निर्वाचनमा भाग लिने कुरा सार्वजनिक गरेका छन् यो सकारात्मक पक्ष हो । जेनजी आन्दोलनपश्चात् मुलुक अँध्यारो सुरुङमा गएको लोकतन्त्र संविधान समाप्त भएको आदि चर्चा निकै भए । अत्यन्त नकारात्मक सोचबाट ग्रसित एकथरीले जेनजी आन्दोलनको विरोध, संसद् पुन:स्थापना, जेनजी आन्दोलन प्रतिगमन भन्ने कुरा प्रारम्भदेखि नै गर्न थाले । अर्कातर्फ जेनजी आन्दोलनको मर्मलाई स्वीकार गर्दै घोषित मितिमै निर्वाचन हुनुपर्ने, निर्वाचनमा जाने साथै शान्तिसुरक्षा आदिका कुरा पनि उठे । हाल समानुपातिकतर्फको बन्दसूची राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन हुने कुरामा प्रायः सबै विश्वस्त छन् तर केही संशय छ । लुटिएका हतियार, भागेका बन्दी, प्रहरीको मनोबल आदि कुरा उठिराखेका छन् । यसलाई गम्भीरता एवं सकारात्मकताका साथ हेरिनुपर्छ ।

निर्वाचन एवं दलीय गतिविधि

मुलुक निर्वाचनउन्मुख भएको छ । दलहरूको सक्रियता निकै बढेको छ । प्रतिनिधि सभा पुन:स्थापना एवं निर्वाचन दुवै पक्षको कुरा गर्ने दलहरू पनि क्रमिकरूपमा निर्वाचनमुखी भएका छन् । एमाले र कांग्रेसको अदालतलाई प्रभावित पार्ने प्रयास जनताले पनि बुझेका छन् । दलहरूबीच जनतामा कसरी जानेबारे गम्भीर छलफलको थालनीभन्दा पनि विभिन्न दलहरू आफूबीच कसरी एकता गर्ने भन्ने दिशातर्फ उन्मुख भएका छन् । अकल्पनीयरूपमा दलहरू आपसमा मिल्ने घोषणा गरी एकता गर्न थाले । प्रष्टरूपमा यो जेनजीलाई आकर्षित गर्ने प्रयासका रूपमा लिन सकिन्छ । साथै ‘एक’ नभएको अवस्थामा परिणाम अकल्पनीयरूपमा नकारात्मक हुन सक्छ भन्ने त्रास पनि छ । केपी र शेरबहादुरको पहल अन्य दलसँग एकताको देखिएको छैन । नेमकिपा, श्रमिक पार्टी एवं अन्य केही दलहरूले पनि पहल गरेको देखिएको छैन । तर दलहरूबीच एकीकरणको प्रक्रिया अकल्पनीयरूपमा बढेको छ । सिद्धान्तको कुरै छैन । कार्यक्रमको अत्तोपत्तो छैन । जनतामा के लिएर जाने पनि ठेगान छैन । तर एक भएपछि भोटको वर्षा हुन्छ भन्ने विश्वास लिएका छन् । जनतामा कस्तो प्रभाव परेको छ त्यसको अनुसन्धान कतै छैन । अनुमानमा सबै दल प्रथम भइसकेका छन् । मधेशवादी विभिन्न दलहरूका नेताहरूको संयुक्त चित्र छापाहरूमा आए पनि जनताले विश्वास गरेका थिएनन् । व्यवहारमा त्यही भयो । रेशम चौधरी, राजेन्द्र महतो, अशोक राई एकातिर भएका छन् । नेपाली कम्युनिष्ट पार्टीले बृहत् एकताको प्रयासको थालनी गर्‍यो । फलस्वरूप थुप्रै दलहरू एकत्रित भए । हाल रन्जिता श्रेष्ठ पनि उक्त पार्टीमा सहभागी भएकी छन् । बाबुराम, जनार्दनको मिलन भएको छ । अचम्म मान्नुपर्ने कुनै कारण छैन । जसपा नेपाल, जसपा र रेणु यादवबीच सहमति भएको छ । टीकाटिप्पणीको आवश्यकता छैन । जनमत पार्टी पनि छ तर कता ? राप्रपा र राप्रपा नेपालबीच पनि सहमति भएको छ । विप्लव, जनमोर्चाहरूको हाल चर्चा छैन । संघीय लोकतान्त्रिक मोर्चा (मधेश केन्द्रित दलहरू)बीच समझदारी भइसकेको छैन ।

चर्चित दलीय सहमति

प्रचण्ड एवं माधव नेपालले दलहरूबीच एकीकरणको शंखनादले मुलुकलाई तरंगित गर्‍यो । थुप्रै पक्षहरू संलग्न भए । मुलुकभरि एकता सन्देशले एउटा लहर ल्यायो । सुशासन भ्रष्टाचारको अन्त्य संविधान एवं सम्प्रभुताको रक्षालगायत जेनजीका मागहरूलाई समर्थन गर्ने उद्घोष गरे । त्यसै क्रममा थुप्रै दलहरूले पनि एकआपसमा सहमति गर्दै एकता गरेका छन् । रिहाइपश्चात् रविको सक्रियताले एउटा तरंग ल्याएको छ । रवि–बालेनबीच निम्नानुसार ७ बुँदे सहमति नै भएको छ । सहमतिका सात बुँदामा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्वता जनाउने र समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने विषय समेटिएको छ ।

यसमा कुलमान पनि पछि मिसिएका थिए तर उनी त्यहाँ अटाउन सकेनन् । केपी एमालेले आफ्नो प्रवृत्तिअनुसार आलोचना गरेको छ । एमालेका महासचिवले रवि–बालेनबीचको सहमतिलाई जेलेन्स्कीसँग जोड्न पुगे । ४५ जनालाई सहिद बनाएको केपी सरकारले जनताबीच कसरी जान्छ त्यो दिन नजिकिँदै छ । स्वयं एमाले एवं नेकाको इतिहासलाई केलाउने हो भने एउटा समयमा विभिन्न दलहरू उपरोक्त दलमा सम्मिलित भएका थिए । हाल एमाले एवं कांग्रेसले सो कुरा बिर्सेका छन् ।

११औं महाधिवेशनको सन्देशसभामा माओवादी पार्टी परित्याग गरी एमाले भएका रामबहादुर थापाले प्रतिनिधि सभामा आधा–आधा सिट नेकासँग बाँडफाँड गरेमा ‘लोकतन्त्र’ को रक्षा हुन सक्ने धारणा व्यक्त गरे । अर्थात् यी दुई ठूला दललाई साह्रै बिसञ्चो भएको छ । नेपाली कम्युनिष्ट पार्टी पनि त्रसित छ । उपर्युक्त दलहरूले आफ्ना कुरा बिर्से । रवि समूहलाई आलोचना गर्नमा आफ्ना समस्त शक्ति खर्च गर्दैछन् । घिनलाग्दो एवं हास्यास्पद कुरा हो । ११औं महाधिवेशनको सन्देश कार्यक्रममा एमालेले कुखुरा बाख्राको कुरा उठाएको छ । रामबहादुर एमालेका नेता भएमा कुनै आश्चर्य हुने छैन । झोले एवं दासहरू विरोध गर्न सक्दैनन्, नेपाल मात्र होइन संसारमै यो प्रवृत्ति देखिएको छ । ईश्वर पोखरेल समूह अपवाद हुन सक्छ त ? प्रताडित एवं अपमानित भएर बस्ने वा विद्रोह गरी सम्मानजनक राजनीतिक जीवन व्यतीत गर्ने ? बल ईश्वर समूहको कोर्टमा छ ।

एकताले पार्न सक्ने प्रभाव सर्वप्रथम ध्रुवीकरणले निर्वाचन चिह्नको संख्या घट्नेछ । शक्तिहरू एकजुट हुनेछन् । आफ्नो पक्षको सुव्याख्या हुनेछ । अरूको आलोचना प्रतिशतहरू निकै हुनेछन् । आश्वासन पनि । धनको जोहो एवं प्रचारमा ध्यान केन्द्रित हुनेछ । संक्षेपमा नेपाली जनताले विभिन्न प्रकारका रंगीन चित्रहरू देख्न पाउनेछन् । एकले अर्कोलाई सामाजिक सञ्जालमा अभिमत गरेका कुराले उनीहरूको चिन्तनको हैसियत एवं स्तरप्रस्त भएको छ जनता रमाएका छन् ।

बन्दसूची एवं समानुपातिकता

६५ दलले समानुपातिक बन्दसूची बुझाए । ५८ निर्वाचन चिह्न भए । १८ दलले मात्र ११० को समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाए । १० वटा दलले ४ वटा निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्ने समाचार आएको छ । माघ ४ गते निर्वाचन आयोगले बन्द सूची प्रकाशित गर्नेछ । बन्द सूचीले दलहरू चिन्तन छन् । एमालेले बन्द सूचीमार्फत २ वटा सन्देश दिएको छ । जेनजी एवं ४५ सहिद परिवारप्रति एमालेको कुनै सम्मान छैन । दोस्रो ईश्वर पोखरेल समूहलाई पार्टीमा अब कुनै सम्मान एवं स्थान छैन । एमालेको बन्द सूचीमा रामबहादुर थापा, गुरु बरालहरू पर्नु ईश्वर नपर्नु यसको प्रष्ट प्रमाण हो । एमालेको बन्द सूची कृपावादमा आधारित छ । नेकाको बन्द सूचीको अवस्था पनि त्यस्तै छ । सहिद परिवारको एक जना सदस्य राखेर नेकाले लाज छोप्न खोजेको छ । तर समग्रमा सकारात्मक छैन । बन्द सूचीमा तुलनात्मकरूपमा रास्वपाले जेनजीलाई समेटेको छ । तर सबैभन्दा बढी निराश यसै दलले गरेको छ किनभने यो दलबाट धेरै जेनजीलगायत सक्षम व्यक्ति समावेश गर्ने अपेक्षा जनमानसमा रहेको थियो ।

उपसंहार

दलहरूबीच एकता हुनु राम्रो संकेत हो । नेका एवं एमाले मिलेर लडे भने १५० सिट ल्याउन सक्छ भन्ने अभिव्यक्ति दुवै दलका नेताले दिन थालेका छन् । यो त्रास एवं मनोरोगको संकेत हो । निर्णय जनताले नै गर्ने हुन् । ४५ जनाको रगतले लतपतिएको अनुहारमा अरूप्रति जहिले पनि कटाक्ष, व्यंग्यले कति मत ल्याउँछ हेर्न बाँकी छ । भुटानी शरणार्थी काण्डलगायत थुप्रै काण्ड जनताले बिर्सेका छैनन् । केपी एमाले एवं शेरबहादुर कांग्रेसको गठबन्धनले कान समाती उठबस गरे पनि जनताले कति पत्याउने हो समयले बताउला । अरू दलहरूको अवस्था पनि त्यस्तै छ । मधेशको कुरा गर्ने तर सत्ता पाउना साथ टुक्रिने । प्रगतिशील नामको सार्थकता के हुने हो ? जाँतो चिह्न के हुने हो ? यी सबको अवस्था निर्वाचनमा प्रष्ट हुने नै छ । तर मुख्य चुनौती रवि, बालेन एवं कुलमानलाई छ । रवि, बालेन एवं कुलमानलाई नेपाली जनताले चिनेका छन् त्यसकारण अपेक्षा धेरै छ । निर्णय त आखिर जनता जनार्दनले नै गर्ने हुन् । इतिहासले बताएको छ, जनता कहिल्यै गलत हुँदैनन् । प्रश्न नेतृत्वले जनआंकाक्षा बुझ्छ कि बुझ्दैन भन्ने मात्र हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्