नेभिगेशन
विश्व

ट्रम्प लोभ्याउँदै भेनेजुएलाका दुई नेतृ

कराकास – आर्थिक र राजनीतिकरूपमा तहसनहस बनेको भेनेजुएलाको भविष्य के हुने हो भन्ने प्रतीक्षामा रहेका लाखौं जनताबीच अहिले देशको भविष्यको चिन्ता चुलिएको छ । भेनेजुएलाको शक्ति–बागडोरका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मन जित्ने उद्देश्यले दुई महिला नेतृबीच कडा प्रतिस्पर्धा सुरु भएको छ ।

एकातर्फ छिन् विपक्षी नेतृ तथा नोबेल पुरस्कार विजेता मारिया कोरिना माचादो र अर्कोतर्फ छिन्, डेल्सी रोड्रेगिज । भेनेजुएलामा लोकतन्त्रका लागि निरन्तर संघर्ष गर्दै आएकी माचादो पछिल्ला वर्षहरूमा निकै चर्चित भइन् । उनले हालै पदच्यूत भएका पूर्व तानाशाह निकोलास मादुरोसँग प्रत्यक्ष टक्कर लिएकी थिइन् । सन् २०२४ को विवादास्पद राष्ट्रपतीय निर्वाचनपछि, सरकारी नियन्त्रणमा रहेका निर्वाचन निकायहरूले मादुरोलाई विजेता घोषणा गरेपछि माचादो प्रायः भूमिगत अवस्थामा रहेकी छिन् । उक्त निर्वाचनपछि मादुरो सत्तामा टिकिरहे, तर दुई हप्ताअघि अमेरिकी विशेष फौजद्वारा गरिएको एक अप्रत्याशित कारबाहीमा उनी पक्राउ परे ।

माचादोकी मुख्य प्रतिस्पर्धी हुन् डेल्सी रोड्रिगेज । उनी मादुरोकी उपराष्ट्रपति थिइन् भने अहिले कार्यवाहक राष्ट्रपतिको भूमिकामा छिन् । रोड्रिगेजलाई पुरानो सत्तासंरचनाकी कट्टर सदस्य र मादुरोकी दृढ समर्थकका रूपमा हेरिन्छ । तर अहिले उनी वासिङ्टन र स्वदेशमा रहेका मादुरो समर्थकबीच सन्तुलन कायम गर्न कठिन कसरत गरिरहेकी छिन् ।

यी दुई नेतृको संघर्षको केन्द्रमा भने दुई हजार माइलभन्दा टाढा रहेका एक व्यक्ति छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । उनले काराकासमा घातक सैन्य कारबाहीको आदेश दिएका थिए र त्यसपछि संयुक्त राज्य अमेरिकाले अस्थायीरूपमा भेनेजुएलालाई ‘सञ्चालन’ गर्ने घोषणा गरेका थिए ।

हालसम्म ट्रम्पले भेनेजुएलामाथि दोस्रो आक्रमण नगरे पनि सैन्य हस्तक्षेपको खतरा कायमै छ । उनले हालै आफ्नो प्रशासनले स्थलमार्गबाट लागूऔषध तस्कर गिरोहलाई लक्षित गर्न सुरु गर्ने बताएका छन्, यसअघि समुद्रमा लागूऔषध बोकेको आशंकामा जहाजहरूमा आक्रमण गरिसकेका छन् । साथै, कराकासमाथि दबाब कायम राख्न उनले क्यारिबियन क्षेत्रमा ठूलो अमेरिकी सैन्य शक्ति तैनाथ गरेका छन् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, ट्रम्पका निर्णयहरूले भेनेजुएलाको भावी नेतृत्व कसको हातमा जाने भन्ने कुरामा गहिरो प्रभाव पार्न सक्छन् । सतहमा हेर्दा स्थिति सरल देखिन्छ । ट्रम्पले रोड्रिगेजको प्रशंसा गरेका छन् तर आफ्नै प्रशासनभित्र प्रभावशाली समर्थक हुँदाहुँदै पनि माचादोलाई समर्थन गरेका छैनन् ।

तर अन्य विश्व नेताहरूसँग भएका ट्रम्पका संवादहरूले देखाएका छन् कि उनका धारणा छिट्टै बदलिन सक्छन् । प्रशंसा तुरुन्तै धम्कीमा बदलिन सक्छ, वा उल्टो पनि हुन सक्छ । विशेष गरी, माचादोले बिहीबार ह्वाइट हाउसमा ट्रम्पसँग गर्ने व्यक्तिगत भेटले सबै समीकरण परिवर्तन गर्न सक्छ ।

नोबेल पुरस्कार कि बार्गेनिङको साधन

सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचादो र नर्वेजियन नोबेल समितिका उपनेता सन् २०२५ डिसेम्बर १२ मा ओस्लोमा देखिएका थिए । माचादो र रोड्रिगेज दुवैले अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गरिरहेका छन् । बुधबार ट्रम्पले फोनमा रोड्रिगेजसँग कुरा गरेको बताएका थिए र उनलाई ’अत्यन्तै उत्कृष्ट व्यक्ति’ भन्दै आफूहरू ’धेरै राम्रोसँग मिलेर काम गरिरहेका’ बताएका थिए ।

माचादो भने अझ एक कदम अघि बढ्दै प्रत्यक्ष भेट गर्दैछिन् । ह्वाइट हाउसको कार्यतालिकानुसार, उनी वासिङ्टन भ्रमणका क्रममा बिहीबार ट्रम्पसँग दिउँसो भोजन गर्ने तयारीमा छिन् । तर एउटा प्रतिष्ठित शान्ति पुरस्कारकै कारण उनलाई थप कठिनाइ हुन सक्छ ।

ह्वाइट हाउसभित्र उनका केही शक्तिशाली समर्थक छन् । विदेशमन्त्री मार्को रुबियोले उनको कामको खुलेर प्रशंसा गरेका थिए र उनलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयनसमेत गरेका थिए । ट्रम्पले पनि गत वर्ष पदग्रहणअघि माचादोलाई स्वतन्त्रताका लागि लड्ने योद्धा भन्दै ’उनी सुरक्षित र जीवित रहनैपर्छ’ भनेका थिए ।

तर माचादोले नोबेल पुरस्कार जितेपछि त्यो समर्थन चिसिएको देखियो । ट्रम्पले आफूले नोबेल पुरस्कार पाउनुपर्ने चाहना लुकाएका छैनन् । ‘इतिहासमा मभन्दा बढी नोबेल पुरस्कार पाउन योग्य कोही छैन । म घमण्ड गर्न चाहन्नँ, तर अरू कसैले युद्धहरू मिलाएका छैनन्,’ ट्रम्पले गत साता भनेका थिए ।

मादुरोलाई हटाएपछि ट्रम्पले माचादोसँग ‘देशभित्र आवश्यक समर्थन र सम्मान छैन’ भनी दाबी गरे । माचादोले ट्रम्पलाई सन्तुष्ट पार्ने प्रयास पनि गरेकी छिन् । उनले गत अक्टोबर नोबेल पुरस्कार जित्दा उक्त सम्मानको एक अंश ट्रम्पलाई समर्पित गरेकी थिइन् । पछिल्ला हप्ताहरूमा उनले नोबेल संस्थानले पुरस्कार हस्तान्तरण गर्न नमिल्ने बताइसके पनि आफू पुरस्कार ट्रम्पलाई दिन तयार रहेको संकेत दिइन् । ट्रम्पले त्यो सम्मान पाउनु गौरवको कुरा हुने बताए, तर यसले भेनेजुएलामा माचादोको भूमिकाबारे पुनर्विचार गर्छन् कि गर्दैनन् भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् ।

बिहीबारको भोजन माचादोका लागि राष्ट्रपतिलाई प्रभावित पार्ने सबैभन्दा राम्रो अवसर हुन सक्छ । अहिले कमजोर स्थितिमा देखिए पनि एक भेटमै धेरै कुरा बदलिन सक्छ । उदाहरणका लागि, गत फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ट्रम्पसँगको ह्वाइट हाउस भेट असफल भएपछि युक्रेन अमेरिकी समर्थन पुनः जुटाउन र युरोपेली देशहरूलाई मध्यस्थता गर्न बाध्य भएको थियो ।

त्यसैगरी, न्यूयोर्कका नवनियुक्त मेयर जोहरान मामदानीको मेयर चुनावका ताका ट्रम्पको तीव्र आलोचनाको सिकार बने । उनले पहिलो भेटमै ट्रम्पलाई प्रभावित गर्न सफल देखिए ।

खतरनाक ‘दोहोरो खेल’

सन् २०२६ जनवरी ५ मा काराकासमा भएको राष्ट्रिय सभाको बैठकपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज ।

यसबीच, ट्रम्पले रोड्रिगेजसँग पनि ‘कुनै समय’ भेट गर्ने इच्छा व्यक्त गरेका छन् । तर रोड्रिगेज अहिले अत्यन्तै संवेदनशील सन्तुलनमा हिँडिरहेकी छिन् ।

एकातर्फ, उनले अमेरिकी कारबाहीको खुलेर आलोचना गर्दै मादुरोको गिरफ्तारीलाई ‘बर्बरता’ र भेनेजुएलाको सार्वभौमिकतामाथिको गम्भीर उल्लंघन भनेकी छिन् ।

तर अमेरिकी दबाबपछि उनले नरम धारणा अपनाउँदै अमेरिकासँग ’सहकार्यको एजेण्डा’ प्रस्ताव गरेकी छिन् । उनको सरकारले शान्ति संकेतस्वरूप केही चर्चित बन्दीहरू, अमेरिकी नागरिकसहित, रिहा गर्न थालेको छ ।

रोड्रिगेजको अमेरिकासँगको सम्बन्ध जटिल रहँदै आएको छ । उनका प्रतिस्पर्धी माचादोले औंल्याएझैं, मानवअधिकार उल्लंघनको आरोपमा रोड्रिगेजमाथि अमेरिकी प्रतिबन्ध लागिसकेको छ, जसलाई उनले बारम्बार अस्वीकार गर्दै आएकी छिन् ।

यद्यपि, उनले वर्षौंदेखि द्विपक्षीय सम्बन्ध सुदृढ गर्न प्रयास गर्दै आएकी छिन्, विशेषगरी तेलमार्फत, किनभने भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार छ ।

सन् २०१७ मा परराष्ट्रमन्त्री हुँदा भेनेजुएलाले आफ्नो तेल सहायक कम्पनीमार्फत ट्रम्पको शपथ ग्रहण समितिलाई पाँच लाख डलर दान दिएको थियो । कार्यवाहक राष्ट्रपति बनेपछि उनले अमेरिकालाई करोडौं ब्यारेल तेल आपूर्ति गर्ने प्रस्ताव गरिसकेकी छिन् र सन् २०१९ मा बन्द भएको काराकासस्थित अमेरिकी दूतावास पुनः खोल्ने सम्भावनाबारे छलफल गर्न अमेरिकी कार्यवाहक दूत जो म्याकनमारालाई भ्रमणको अनुमति दिएकी छिन् ।

हालसम्म, ह्वाइट हाउसलाई आकर्षित गर्ने उनका प्रयास सफल देखिन्छन् । ट्रम्प र उनका प्रशासनका प्रमुख अधिकारीहरूले रोड्रिगेजलाई अमेरिकाले काम गर्न सक्ने स्थिर र व्यावहारिक विकल्पका रूपमा हेरेका छन्, जसले महत्त्वपूर्ण व्यापारिक अवसरहरू पनि खोल्न सक्छिन् । बुधबार भेनेजुएलाली तेलको पहिलो अमेरिकी बिक्री भएको समाचार सार्वजनिक भएको छ । तर उनी कुनै सुनिश्चित सफलताबिनै ‘अत्यन्तै कठिन दोहोरो खेल’ खेलिरहेको काउन्सिल अन फरेन रिलेशन्सका ल्याटिन अमेरिका अध्ययन फेलो विल फ्रिम्यान बताउँछन् ।

‘उनले ट्रम्प प्रशासनलाई आफू उनीहरूकै उद्देश्यअनुसार सहकार्य गरिरहेकी छु भनेर विश्वास दिलाउनुपर्छ,’ फ्रिम्यानले भन्छन्, ‘तर त्यही समयमा मादुरो शासनका कट्टर समर्थकहरू, विशेषगरी सेनालाई पनि आफूले धोका दिने छैन भन्ने भरोसा दिलाउनुपर्छ । हामी हेर्नेछौं, उनी कति समयसम्म यो साँघुरो डोरीमा सन्तुलन कायम राख्न सक्छिन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्