नेभिगेशन
दृष्टिकोण

चीनको दुईखुट्टे अभ्यास : नेपालले के सिक्ने?

हामी न स्वदेशी नमूनाको विस्तार गर्दा रहेछौं, न चीनियाँ अभ्यास पढेर वा देखेर त्यसको सिको गर्दा रहेछौं । चीनले नगरेको अर्को पाटो हो, सीपमा ज्ञान खोज्ने तथा ज्ञानमा सीप खोज्ने तरिका । यो तरिका अपनाउने हो भने हाम्रा परम्परागत सीपमा विषयगत ज्ञान भेटिन्छ । अनुसन्धानको कडी भेटिन्छ । त्यसको विस्तार गर्ने हो भने शिक्षक त्यहीँ छन् । शोधकर्ता त्यहीँ छन् । शोधविधि त्यहीँ भेटिन्छन् । पैसा त्यहीँ फल्छ । फलाउन पनि सकिन्छ । प्रश्न हो– यस्तो छ भनी ताली मात्रै खाने कि ? निराशा मात्रै बोक्ने र बोकाउने कि ? कुण्ठा बोकेर वैकुण्ठ खोज्ने कुण्ठित भक्तजन बन्ने कि ? काम गर्न थाल्ने? पहिले साम्यवादी हौं भन्नेहरूले सोचौं । अनि समस्या सुनाएर मत माग्ने सबै राजनीतिक दलले सोचौं ।

बालबालिका कसका हुन् ? चीनले भन्छ आमाबाबुका । अमेरिकाले भन्छ सरकारका । नर्वेले भन्छ स्वतन्त्ररूपमा जन्मेका । आमाबाबुले पनि हेर्नुपर्ने । सरकारले पनि हेर्नुपर्छ । आमाबाबुका भन्ने चीनले बालबालिकालाई सघाएन । आमाबाबुलाई सघायो । एक शोधभर्ना, दुई सुविधा । आपांगता भएका बालबालिकालाई शोधभर्ना स्वरूप रकम दिएर । गरिब अभिभावकलाई तिनका सन्ततिका लागि खाना तथा यातायात खर्च दिने, धनी अभिभावकलाई ३०० युयानसम्म तिर्न लगाउने, के हामी यी नीतिहरू लागू गर्न सक्छौं ?

हामी नेपालीले कसलाई छात्रवृत्ति दिएका हौं ? जीवनवृत्ति पनि नचल्ने, छात्रवृत्ति पनि नपुग्ने अभिभावकलाई सघाएको भन्न पनि नसक्ने । त्यसैले गर्दा हामीले बच्चालाई दिएको छात्रवृत्तिले सबैलाई स्कूलमा ल्याएन । कर्णाली तथा मधेश प्रदेशका बालबालिकाको भर्नादरले त्यसै भन्छ । भर्ना नभएकाहरूलाई अमेरिकाले जसरी हाम्रो सरकारले पढाऔं पनि भन्न सकेन । नर्वेलेजस्तो अभिभावकले सुविधा दिनैपर्ने बाध्यता गराउन पनि सकेन । भावावेगी हामीले गरिब र धनी छुट्याउन पनि सकेनौं । समताको कुरा त गर्‍यौं तर समानताको सोचभन्दा माथि उठ्न सकेनौं ।

यो स्थितिमा हामीले चीनको जस्तो अभिभावकलाई सघाउने नीति अवलम्बन गर्न सक्छौं त ? आपांगता भएका बालबालिकाका अभिभावकलाई शोधभर्ना, विपन्नलाई खाना, यातायात र आवास, धनीसँग निश्चित रकम लिनसक्ने सिलिङ दिएका छौं भन्न पनि सकेनौं । अचम्म त के भने चीनको तथा नेपालको शिक्षा ऐनले एउटै कुरा भनेको छ । फरक के रहेछ भने चीनले स्थानीय सरकारलाई बाध्य पारेछ, जवाफदेही बनाएछ । हामी भने त्यहीँ चुकेछौं ।

यो स्थितिमा कम्युनिष्ट दीक्षा बोकेर पनि हामीले किन यो काम गर्न सकेनौं ? गैरकम्युनिष्ट दीक्षावालाले पनि चीनबाट किन सिक्न सकेनौं ? स्थानीय पालिका र पालिकाभित्रका वडाले किन सिक्न सकेनौं ? यस स्थितिमा के हामी प्रत्येक पालिकाको नेतृत्वलाई संविधानको धारा ३१ तथा शिक्षा नियमावलीको दफा १९ कार्यान्वयन गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना गर्छाैं त ? त्यसका लागि पालिकाले के गर्छन्, उसैको निर्णय हो भन्न सक्छौं त ? अन्यथा हामीले आफूलाई न कम्युनिष्ट भन्न सक्छौं, न समाजवादी । न त समाजवाद उन्मुख न पुँजीवादी । न संविधानवादी, न प्रजातन्त्रवादी । यसरी हाम्रा राजनीतिक दलका नेताहरूलाई हामी बाध्य बनाउन सक्छौं त ?

सीप शिक्षाका लागि के सिक्ने?

चीनमा पनि नेपालमा झैं व्यावसायिक तथा प्राविधिक विद्यालय छन् । कलेजमा त उद्यमीकरण सहकारी पनि छ । तिनमा एकसाथ सैद्धान्तिक, व्यावहारिक तथा पेसाकर्मी बन्ने शिक्षा एवं सीप दिइन्छ । स्कूल कलेजमै छोटो अवधिको तालिम पनि दिइन्छ । स्कूल कलेजमा सीप सिकाउने प्रबन्ध नभएमा बाहिरका कर्पाेरेट तथा निजी संघसंस्थमा विद्यार्थी पठाएर विविध विधाका सीप सिकाइन्छ– कुनैमा प्रमाणपत्र दिनेगरी, कुनैमा सीप मात्र दिने गरी, कुनैमा रोजगारी दिनेगरी । नेपालको शान्ति नमूना माध्यमिक विद्यालय वुटवलको जस्तो (कान्तिपुर, २६ पौष, २०८२) ।

विरासतका रूपमा हामी ६४ कलाका कुरा गर्छाैं, सीप शिक्षा चाहिन्छ भन्छौं । व्यावसायिक तथा प्रविधिक धारका स्कूल कलेज खोल्छौं । तर किन हाम्रा सबै विद्यालय तथा कलेजले छोटो अवधिको सीप नसिकाएका ? पैसा त सीप सिक्नेले नै तिर्दारहेछन् ? आफ्नो स्कूल कलेजमा सीप सिकाउने व्यवस्था नभए छरछिमेककामा पठाउन मिल्ने रहेछ । अहिले त युट्युब हेरेर पनि सिक्न मिल्दोरहेछ । सीप भएका व्यक्ति तथा संस्थामा इन्टर्न गरे पनि हुने रहेछ । तिनलाई स्कूल कलेजमा बोलाए पनि हुनेरहेछ । युट्युब हेरेर सीप सिक भने पनि हुनेरहेछ । नेपालका सबै विद्यालय तथा कलेजले किन यो तरिका अपनाउँदैनौं ? चीनको राजनीतिक दीक्षा बोक्न मिल्ने, दीक्षा नमिले पनि घुम्न जान मिल्ने । तर त्यहाँको चलन स्कूल कलेज तथा विश्वविद्यालयमा ल्याउन नमिल्ने किन ? यी र यस्ता प्रश्नहरू सबै विद्यार्थी, शिक्षक तथा प्राध्यापकलाई सोध्न सक्छौं त ? साम्यवादी राजनीतिक दलका नेता तथा कार्यकर्तालाई सोध्न सक्छौं त ? गैरसाम्यवादी दलका नेता तथा कार्यकर्तालाई पनि झक्झक्याउन सक्छौं त ? जुन दिन यो अभियान चलाउँछौं त्यो दिन हाम्रो शिक्षा सीपमूलक हुन्छ । के हामी यसका लागि तयार छौं ?

उत्पादित वस्तु बेच्न के गर्ने?

चीनका सबै स्कूल तथा कलेजमा उत्पादनका लागि चाहिने ज्यावल छन् । छोटो अवधिका तालिम दिने कोर्स छन् । इन्टरनेटमा सिक्ने कोर्स पनि छन् । उत्पादनका लागि सघाउने कोर्स पनि छन् । सरकारले पनि अनुदान तथा ऋण दिने व्यवस्था गरेको छ । उद्योग दर्ता गर्ने सरल नियम छ । बजारका लागि ई–कमर्स तथा डिजिटल प्लेटफर्म पनि छन् । कलेजका बजार पनि छन् । उद्योगसँग सहकार्य गरेर बनाइएका आउटलेट पनि छन् । प्रतिलिपि अधिकार लिन चाहिने प्रबन्ध पनि छ । विद्यार्थी क्लब पनि छन् । आल्मुनाइ क्लब पनि छन् । जनताले खोजेका उत्पादन तयार पारे किन्ने मानिस पनि छन् । हामीसँग ती सबै कुरा नभए पनि अक्कल छ । ज्यावल छैनन् भने अभिभावकसँग जेजस्ता ज्यावल छन् मागे हुन्छ । दुई चारजना अभिभावक मिलेर किनाए पनि हुन्छ । कुनै बेला कास्कीको लाहाचोकको महेन्द्र माध्यमिक विद्यालयमा यो अभ्यास थियो । त्यसो नगर्ने हो भने सम्बन्धित स्कूल कलेजका अल्मुनाइहरूलाई ज्यावल किनिदेउ भने पनि हुन्छ । अल्मुनाइले सघाएका स्कूल तथा कलेज पनि हाम्रै देशमा छन् । पालिकासँग अनुरोध गरेर पनि ज्यावल जम्मा गर्न सकिन्छ । उत्पादनका लागि सघाउने कोष बनाए पनि हुन्छ । शान्ति नमूना माध्यमिक विद्यालयका विद्यार्थीले बाजा बजाएर गरेको आम्दानी स्कूलमा दिएको तरिका अपनाए पनि हुन्छ ।

सरकारी जानकारीले भन्छ– बैंकहरूमा पैसा थुप्रिएका छन् । सो पैसा स्कूल तथा कलेज ग्यारेण्टी बसेर ऋण लिए पनि हुन्छ । विद्यार्थीको एकल वा सामूहिक उद्यम खोले पनि हुन्छ । सामान बेच्ने ई–कमर्सको तरिका अपनाए पनि हुन्छ । डिजिटल प्लेटफर्म बनाए पनि हुन्छ । उद्योग दर्ताको प्रक्रिया अपनाए पनि हुन्छ । प्रतिलिपि अधिकार खोजे पनि हुन्छ । ज्ञानको प्रतिलिपि अधिकार, प्रविधिको प्रतिलिपि अधिकार, सीपको प्रतिलिपि अधिकार, उत्पादनको प्रतिलिपि अधिकार, नभए ऐंचोपैंचोजस्ता संस्थासँग सहकार्य गरे पनि हुन्छ । स्कूल तथा कलेजले फोर्स्ड सेल गरे पनि हुन्छ । किताब बिक्रेताले जस्तो यी सबै सम्भाव्य उपाय किन अपनाएनौं ? किनकि चीनका विद्यार्थी काम गर्छन् । शिक्षक तथा प्राध्यापकले काम लगाउँछन् । हाम्रा विद्यार्थी गफ गर्छन् । भैंसीपालक तथा बिक्रेताको शब्दमा ‘थुकको डोरी’ बाट्छन् । कुराको विकास, कुरमा विवाद अनि निराशा उकेल्छन् । आक्रोश पोख्छन् । राजनीतिक दलका भुइँ नछुने पुङ न पुच्छरका कुरा गर्छन् । त्यसैमा लड्छन् । लडाउँछन् । जेनजी भनिएकाहरूले पनि त्यही बाटो अँगालेका छन् । तिनले पनि दलार्थीकै बाटो समात्दैछन् । कुरार्थी बन्ने बाटो, हुलार्थी बन्ने बाटो, तर चीनको जस्तो कामार्थी नबन्ने, के हामी चीनका विद्यार्थीको सिको सिक्न सक्छौं ? सन्दर्भ हाम्रो हुन्छ । सुविधा हाम्रो हुन्छ । कामार्थी बन्ने संस्कृति उनीहरूको हुन्छ । के अहिलेका दलार्थीहरू त्यतातिर जान सक्छौं ? सम्बन्धित दलहरूले तिनलाई त्यता लगाउन सक्छौं ? चीनको साम्यवादी दलले लगाएजस्तो । के जेनजीहरूलाई यो बाटोमा लैजान सक्छौं ? के सम्बन्धित दलका जेनजीमा यो सोचको खेती गर्न सक्छौं ? गराउन सक्छौं ?

कसरी जोड्ने शिक्षा र उत्पादन ?

उत्पादन र शिक्षा जोड्न चीनले जर्मनीसँग सिक्यो । अनि स्कूल तथा कलेजलाई उद्योगसँग जोड्यो । उद्योग तथा जनताको अर्डरसँग स्कूल कलेजका शिल्पीलाई तयार पार्‍यो । उनले गरेको अर्डरअनुसार सामान उत्पादन गर्ने काम स्कूल कलेजलाई दियो । विद्यार्थीको खाली समयमा उत्पादकसँग सहकार्य गर्ने प्रबन्ध मिलायो । स्कूल तथा कलेजमै उत्पादन गरे पनि, घरमै उत्पादन गरे पनि । समूहमै उत्पादन गरे पनि, यसरी काम तथा पढाइलाई जोड्यो । विद्यालय तथा कलेजका उत्पादकहरूको कन्सोर्टिया बनायो । सीप तथा प्रविधिमा अनुसन्धान गरायो । त्यसैको बलमा आधुनिकता सुनिश्चित गर्‍यो । परिणामतः विभिन्न क्षेत्रका मानिसहरू एकसाथ उत्पादन कार्यमा लागे । शिक्षालाई पनि यसकै अंग बनाए । हामीकहाँ पनि अन्तरविद्यालय तथा अन्तरकलेज प्रतियोगिता हुन्छन् । अन्तरपालिका प्रतियोगिता पनि हुन्छन् । अन्तर प्रदेश तथा राष्ट्रिय तहमा पनि प्रतियोगिता हुन्छन् । मूलतः खेलमा, नाचमा, भाषणमा । तर, उत्पादनमा यो अभ्यास किन गरेनौं ? कमसेकम साम्यवादीहरूले जितेका पालिकाले यो काम किन गरेनौं ? साम्यवादी झण्डा बोकेका स्कूल तथा कलेजका नेतृत्वले किन यस्ता काम गरेनौं ? गराएनौं ? शिक्षा र उत्पादन जोड्नुपर्छ भनी कुर्लिने राजनीतिक दलका नेता, पालिकापति, विद्यार्थीका दलार्थी संगठन, जेनजीका दलगत तथा अन्तरदलीय समूह, शिक्षक तथा प्राध्यापकले किन यो काम गरेनौं ? यति काम गर्नका लागि हामीले विधा मात्र बदल्न सक्थ्यौं । यसको अर्थ हो चीनका सी जिनपिङले ‘हामी जे बोल्छौं त्यो गर्छाैं’ भनी गरेको कटाक्ष हामीले बुझेनौं, बुझाएनौं । के हामी उनको भनाइमा घोत्लिन सक्छौं त ?

निचोड

यो लेखमा मैले शिक्षा र सीप जोड्ने चीनियाँ कलाको चर्चा गरें । नेपाली संस्कारमा ती कला मिलाउन सकिन्छ पनि भनें । चीनले साधारण तथा प्राविधिक शिक्षाको दुईखुट्टे नीति अपनाएको कुरा गरें । केही स्कूलले नेपालमा पनि यो अभ्यास गरेका छन् भन्ने जानकारी गराएँ । यसरी हेर्दा मेरो अनुभूति रह्यो– न स्वदेशी नमूनाको विस्तार गर्दा रहेछौं, न चीनियाँ अभ्यास पढेर वा देखेर त्यहाँको सिको गर्दा रहेछौं पनि भनें । चीनले नगरेको अर्को पाटो छ । त्यो हो– सीपमा ज्ञान खोज्ने तथा ज्ञानमा सीप खोज्ने तरिका । यो तरिका अपनाउने हो भने हाम्रा परम्परागत सीपमा विषयगत ज्ञान भेटिन्छ । अनुसन्धानको कडी भेटिन्छ । त्यसैको विस्तार गर्ने हो भने शिक्षक त्यहीँ छन्, शोधकर्ता त्यहीँ छन्, शोधविधि त्यहीँ भेटिन्छन् । पैसा त्यहीँ फल्छ । फलाउन पनि सकिन्छ । प्रश्न हो– यस्तो छ भनी ताली मात्रै खाने कि ? निराशा मात्रै बोक्ने र बोकाउने कि ? कुण्ठा बोकेर वैकुण्ठ खोज्ने कुण्ठित भक्तजन बन्ने कि ? काम गर्न थाल्ने ? पहिले साम्यवादी हौं भन्नेहरूले सोचौं । अनि समस्या सुनाएर मत माग्ने सबै राजनीतिक दलले सोचौं । तिनका भातृ तथा शुभेच्छुक संघसंगठनले सोचौं । शिक्षकका, प्राध्यापकका, विद्यार्थीका संघसंगठनले सोचौं । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा अच्यूत वाग्लेले भनेझैं विदेशमा बसेर स्वदेशीलाई गाली गर्ने बानी लागेकाले सोचौं । नेपालमा समस्या देख्ने तर जहाँ समस्या छ त्यहीँ समाधान खोज्न नजान्ने युवाहरूले सोचौं । विदेशबाट लखेटिनुपर्ने स्थिति आउनुभन्दा पहिले नै कसैले नलखेट्ने स्वदेशमै उपाय खोजौं ।

कोइराला शिक्षाविद् हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्