नेभिगेशन
प्रदेश

बाँकेका बालबालिकामा कडा कुपोषण

बाँके । बाँके जिल्लाका पाँच स्थानीय तहमा पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको पोषण लेखाजोखा अभियानबाट २०२ बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको छ ।

राप्तीसोनारी, डुडुवा, जानकी, खजुरा र बैजनाथ गाउँपालिकामा हाल सञ्चालनमा रहेको अभियान अन्तर्गत २० हजार ४२ ९ बालबालिकाको पोषण परीक्षण गरिएको छ । परीक्षणका क्रममा एक हजार २२९ बालबालिका कुपोषित भेटिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका तथ्यांक अधिकृत मानवबहादुर वलीका अनुसार सबैभन्दा बढी कुपोषण डुडुवा गाउँपालिकामा देखिएको छ । उनले भने, ‘डुडुवा गाउँपालिकामा तीन हजार ९०८ बालबालिकाको पोषण लेखाजोखा गर्दा ४८५ बालबालिका कुपोषित भेटिएका छन् ।’

अन्य पालिकातर्फ खजुरा गाउँपालिकामातीन हजार २७४, जानकी गाउँपालिकामा चार हजार १३८, बैजनाथ गाउँपालिकामा एक हजार ३३९ तथा राप्तीसोनारी गाउँपालिकामा चार हजार ७१० बालबालिकाको पोषण लेखाजोखा सम्पन्न भइसकेको छ । स्वास्थ्य कार्यालय बाँके र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा केयर नेपाल, आइडिई नेपाल र बी ग्रुपद्वारा सञ्चालित पोषण परियोजना अन्तर्गत यो अभियान अघि बढाइएको हो । परियोजनामार्फत कुपोषित बालबालिकालाई पोषिलो खाद्य सामग्रीको प्याकेज उपलब्ध गराउने, पोषण बगैँचा स्थापना गर्ने तथा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

बी ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारका अनुसार समुदायस्तरमै पोषण सुधारका विविध गतिविधि सञ्चालन भइरहेका छन् । उनले भने, ‘आमा समूहको नियमित बैठक, साथ विधिको अभ्यास, पोसिलो खानेकुराको उपभोग तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी व्यवहार सुधारमा विशेष जोड दिइएको छ ।’

अभियानको मुख्य उद्देश्य पाँच वर्षमुनिका बालबालिका र सुनौलो हजार दिनका आमाको पोषण अवस्था पहिचान गर्नु रहेको छ । यसका लागि स्वास्थ्यकर्मीलाई दुईदिने स्ट्यान्डर्डाइजेसन तालिम प्रदान गरी २०८२ मङ्सिरदेखि जेड स्क्वायर विधिबाट समुदायस्तरमा पोषण मूल्यांकन गरिँदै आएको छ । अभियानले बाँके जिल्लामा कुपोषण न्यूनीकरण गर्दै दिगो पोषण वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्