नेभिगेशन
प्रदेश

बेलडाँडी गापाका ४५ कर्मचारीको करार रद्द

कञ्चनपुर – कञ्चनपुरको स्थानीय तहले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटाउने निर्णय गरेको छ ।

बेलडाँडी गाउँपालिकाको कार्यपालिका बैठकले अस्थायी कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । विगत छ वर्षदेखि अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीको नियुक्ति खारेज गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

सरकारको पत्र अनुसार माघ १ देखि उनीहरूको करार सम्झौता नवीकरण नगर्ने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकले जनाए । माघ १ गते बिहीबारदेखि अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय भएको उनले बताए ।

गाउँपालिकाको मंगलबार बसेको १२ औं कार्यपालिका बैठकले अस्थायी कर्मचारीको नवीकरण नगर्ने निर्णय गरेपछि ४५ भन्दा बढी अस्थायी कर्मचारी घर फर्किने भएका छन् । हालसम्म पाउनुपर्ने सबै सेवा सुविधा उपलब्ध गराएर उनीहरूको करार सम्झौता रद्द गरिएको गाउँपालिकाका अध्यक्ष हरिश रानाले बताए । ‘पालिकामा दरबन्दीभन्दा बाहिरका १५ जना र प्रक्रिया नपुगेर भर्ना भएका ३२ जना जति अस्थायी कर्मचारीको म्याद थप नगर्ने निर्णय गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत विकले भने ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत असोज ७ गतेको पत्राचारबमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी, करार र ज्यालादारीमा कर्मचारी राख्न नपाउने भनेर निर्णय भएबमोजिम गाउँपालिकाको निर्णय अनुसार, स्वीकृत दरबन्दीबाहेक अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीको माघ १ देखि करार ज्यालादारीको सम्झौता रद्द गरिएको गाउँपालिकाले जनाएको छ । अस्थायी कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय भएसँगै प्रशासनिक पदमा भने लोक सेवाबाटै पदपूर्ति गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्