नेभिगेशन
खेलकुद

रोबोटले खेल्न थाले फुटबल

बेइजिङको बाहिरी क्षेत्रमा रहेको एउटा इनडोर फुटबल मैदानमा युवा चिनियाँ उद्यमी चेङ हाओ बसिरहेका छन् तर यो मैदान मानिसका लागि होइन । यो मैदानमा हाओको लगानी रहेको स्टार्ट–अप बुस्टर रोबोटिक्सका इञ्जिनियरहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी मान्छेजस्तै देखिने रोबोटहरूलाई फुटबल खेल्न प्रशिक्षण दिइरहेका छन् । त्यहाँ रोबोटहरूले ड्रिब्लिङ, पास, सट र रोक्ने काम सिकाइन्छ ।

चीनले पछिल्लो एक दशकदेखि अघि बढाइरहेको मानवरूपी (ह्युमानोइड) रोबोट प्रविधि बनाउन ३७ वर्षीय बेइजिङ निवासी चेङ हाओ निकै अगाडि देखिएका छन् ।

उनले सन् २०२३ मा कम्पनी स्थापना गरेका हुन् । टेस्लाको पहिलो मानवरूपी रोबोट अप्टिमस र त्यतिबेला क्रान्तिकारी मानिएको च्याटजिपिटी फोरबाट प्रेरित भई उनले विश्वकै सबैभन्दा उन्नत फुटबल खेल्ने मानवरूपी रोबोट विकास गर्ने लक्ष्य राखेका छन् ।

‘संसारभर सयौं रोबोट फुटबल टोली छन्,’ उनले भने, ‘हामी यो बजारमा पहिलो बन्न चाहन्छौं, त्यसपछि अन्य बजारतर्फ जानेछौं ।’

सन् २०१५ देखि चीनको रोबोट उद्योग तीव्र गतिमा अघि बढेको छ । चिनियाँ सरकारले पनि रोबोटिक्सलाई चिनियाँ उद्योग रूपान्तरणका लागि तय गरिएका १० प्रमुख क्षेत्रमा समेटेको छ । यसले सस्तो श्रममा आधारित कारखानाको छविबाट बाहिर निस्कन भूमिका खेल्ने सरकारको विश्वास छ । यतिबेला चीनमा १५० भन्दा बढी मानवरूपी रोबोट कम्पनी छन् र यो संख्या निरन्तर बढिरहेको सरकारी अधिकारीहरूले बताएका छन् । चेङको जस्तै धेरै रोबोट स्टार्ट–अपका लागि खेलकुद परीक्षणस्थल बनेको छ । यो क्षेत्रमा प्रविधि प्रदर्शन गर्न र वास्तविक जीवनमा प्रयोगका सम्भावना खोज्न सकिन्छ ।

यसै कारण सन् २०२५ मा चीनभर रोबोट खेलकुद प्रतियोगिताहरूको बाढी आयो । वसन्त पर्वका बेलामा दर्जनौं रोबोटहरूले मञ्चमा सँगै नाचे, मानवरूपी रोबोटहरूले पहिलो पटक हाफ–म्याराथन दौडे र बेइजिङले संसारकै पहिलो मानवरूपी रोबोट खेलकुदको आयोजना गर्‍यो । यी ह्युमनोइडले फुटबल, बक्सिङ, मार्शल आर्ट्सलगायतका खेलहरूमा प्रतिस्पर्धा गरे ।

अहिले रोबोट खेलकुद खेलमा मात्र सीमित नरहेर खेलकुद उन्मादमा परिणत भइसकेको छ । यो खेल उन्मादमा संसारभरका ह्युमनोइडहरू भाग लिन थालेका छन् । अमेरिका र चिनियाँ निर्मित ह्युमनोइड प्रतिस्पर्धाको मुख्य मुलुक बनेका छन् । चीन अर्बौं डलरको सम्भावित बजार उपयोग गर्न मात्र होइन, तीव्ररूपमा बुढो हुँदै गएको श्रमशक्तिका कारण ह्युमनोइड उत्पादन गर्न आतुर छ ।

फुटबल किन

सीएनएनले चेङलाई कम्पनीको प्रयोगशालामा भेट्दा इञ्जिनियरहरू रोबोटलाई सूक्ष्मरूपमा मिलाइरहेका थिए । एउटा रोबोट छतबाट डोरीमा झुण्ड्याइएको थियो, जसलाई इञ्जिनियरले रिमोट कन्ट्रोलमार्फत उफ्रिन र अवतरण गर्न लगाएर सन्तुलन परीक्षण गरिरहेका थिए । अर्का इञ्जिनियरले मिनी इनडोर फुटबल मैदान वरिपरि रोबोट हिँडाउँदै यसको पार्टपुर्जाहरू नजिकबाट जाँच गरिरहेका थिए ।

बुस्टर रोबोटिक्सको टोली अन्तर्राष्ट्रिय प्रतियोगिता रोबोकपको तयारीमा थियो । यो प्रतियोगितामा रोबोटहरूले खेल खेल्न एआई प्रयोग गर्ने क्षमता परीक्षण हुनेछ ।

फुटबललाई वैज्ञानिकहरूले लामो समयदेखि रोबोट परीक्षणका लागि मापदण्ड कार्यका रूपमा लिँदै आएका छन् । यसको सुरुआत १९९० को दशकमा भएको थियो । जापानको नागोयामा पहिलो रोबोकप जन्मिएको थियो । अचेल यो वार्षिक कार्यक्रम बनेको छ ।

टेक्सास विश्वविद्यालय, अस्टिनका कम्प्युटर विज्ञान प्राध्यापक तथा रोबोकपका पूर्वअध्यक्ष पिटर स्टोनका अनुसार रोबोट फुटबलमा गति, दृष्टि, स्थान पहिचान, सहकार्य रणनीति र प्रतिस्पर्धात्मक तर्कजस्ता ‘मौलिक क्षमताहरू’ आवश्यक पर्छन् । ‘रोबोकपको प्रेरणादायी लक्ष्य भनेको वास्तविक मैदानमा उत्कृष्ट मानव फुटबल टोलीलाई हराउन सक्ने रोबोट टोली बनाउनु हो,’ स्टोनले भने, ‘यो चन्द्रमामा मानिस पठाउने चुनौतीजस्तै हो । यो काम विज्ञान र इञ्जिनियरिङको प्रगतिबिना सम्भव छैन ।’

चेङको काम फुटबल र रोबोटप्रतिको प्रेमबाट सुरु भएको हो । बाल्यकालदेखि फुटबल हेर्दै हुर्किएका उनी हाईस्कूलमै रोबोटप्रेमी बने । स्नातक अध्ययनमै उनले रोबोटलाई फुटबल खेलाउन तालिम दिने विषय पढेका थिए । अचेल भने उनी त्यो भन्दा पनि पर दृष्टि लगाउँदैछन् । ‘हामी फुटबल खेल्ने रोबोटलाई परीक्षणका रूपमा हेर्छौं,’ उनले भने, ‘यही प्रविधि भविष्यमा कारखाना र घरमा प्रयोग हुनेछ ।’

रोबोट खेलकुदले ध्यान र लगानी तान्न पनि मद्दत गर्छ । जुन महिनामा बुस्टर रोबोटिक्सले आयोजना गरेको प्रदर्शनी रोबोट फुटबल लिगलाई चिनियाँ सरकारी टेलिभिजनले लाइभ प्रसारण गर्‍यो । ई–स्पोट्र्सदेखि मदिरा कम्पनी र बाल शारीरिक तालिम केन्द्रसम्मका ब्रान्डहरूले यसलाई प्रायोजन गरेका थिए । १५ डलरका दरले ७०० भन्दा बढी टिकट बिक्री भए ।

गएको जुलाईको अन्त्यसम्म कम्पनीले ब्राजिलमा २०२५ रोबोकप जितेको दुई दिनमै १ करोड ४० लाख डलरभन्दा बढीको लगानी (सिरिज ए+) घोषणा गर्‍यो । ‘रोबोट फुटबल एउटा शो हो,’ चेङले भने, ‘लस भेगासको शोझैं, यसले धेरै पैसा कमाउन सक्छ, अनि हामी भविष्यका वास्तविक प्रयोगका लागि एल्गोरिदम विकास गर्न उत्कृष्ट प्रतिभा भर्ना गर्न सक्छौं ।’

राष्ट्रिय पहल

विद्युतीय सवारीसाधनजस्तै अन्य उच्च प्रविधि उद्योगमा जस्तै, चिनियाँ सरकारले रोबोट उद्योग उछाल्न महŒवपूर्ण भूमिका खेलेको छ । चिनियाँ स्वचालन संघका उपमहासचिव ली शिले दशकौंदेखि घरेलु रोबोट खेलकुद आयोजना गर्दै आएका छन् । ‘बेइजिङ, सांघाई र विशेषगरी सेन्जेनमा सरकारको संलग्नता, लगानी र व्यापक सञ्चार कभरेजले रोबोट खेलकुदको प्रभाव अत्यधिक बढाएको छ,’ उनले भने । सन् २०२१ मा सरकारले रोबोट उद्योगका लागि पाँचवर्षे योजना सार्वजनिक गर्दै अनुदान, कर छुट र सहुलियत ऋणजस्ता प्रोत्साहन घोषणा गर्‍यो ।

यही कारण गत अगस्टमा बेइजिङ नगर सरकार, सीसीटीभी र विश्व रोबोट सहकार्य संगठनले मिलेर विश्व मानवरूपी रोबोट खेलकुद सुरु गरे तर सरकारी सहयोगबिनै यो खेलकुदलाई कसरी टिकाउने भन्ने चिन्तन चलिरहेको छ । ‘अहिले हामी सरकारी सहयोमा निर्भर छौं,’ लीले भने, ‘कालान्तरमा यी खेलकुद आत्मनिर्भर बन्नुपर्छ ।’

अब के त ?

खेलकुद रोबोटहरूले मानव खेलाडीलाई हराउन अझै धेरै काम बाँकी छ । बेइजिङ खेलकुदमा केही रोबोट मानव अपरेटरसँग ठोक्किए, केही अनपेक्षित रूपमा मोडिए, बक्सिङ रोबोटहरूले प्रहार छुटाए, फुटबल मैदानमा बारम्बार लडे तर अनुसन्धानकर्ताहरूका लागि यही प्रक्रिया हो । त्रुटि देखिनु सुधारको आधार हो ।

सन् २०२५ मार्चमा सरकारले पहिलो पटक आफ्नो वार्षिक कार्य प्रतिवेदनमा ‘बौद्धिक रोबोट’ समेट्यो । विश्वव्यापी रूपमा पनि यही प्रवृत्ति छ । मोर्गन स्ट्यान्लीको अध्ययनअनुसार उद्योग अब प्रदर्शनभन्दा वास्तविक प्रयोगतर्फ केन्द्रित हुँदैछ । चेङ र उनको स्टार्ट–अप पनि पछि पर्न चाहँदैनन् । तीन महिनामै कम्पनीले सर्वसाधारण प्रयोगका लागि बाल–आकारको रोबोट सार्वजनिक गर्‍यो ।

‘अब रोबोट केवल काम गर्ने औजार मात्र होइनन्,’ चेङले भने, ‘यी आफ्नै विशेष सीप भएका ‘बौद्धिक एजेन्ट’ हुन् । मानवरूपी रोबोटलाई व्यक्तिगत कम्प्युटरजस्तै सरल, भरपर्दो र व्यावहारिक बनाऔं ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्