नेपालले हरेक वर्ष माघ २ मा १९९० सालको विनाशकारी भूकम्पलाई स्मरण गर्दै भूकम्प सुरक्षा दिवस मनाउँछ । सरकारी निकाय, स्थानीय तह, सुरक्षाकर्मी, विद्यालय, स्वयंसेवी संस्था, सबैले र्याली, अभिमुखीकरण, प्रदर्शनी, तथा सार्वजनिक सचेतना कार्यक्रम आयोजना गर्छन् । नीतिगतरूपमा पनि नेपाल पछिल्लो दशकमा धेरै अघि बढेको छ; २०७४ को विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले राष्ट्रिय परिषद्, कार्यकारी समितिजस्ता संस्थागत संरचना निर्माण गर्यो, जसले संघ, प्रदेश र स्थानीय तहका जिम्मेवारी स्पष्ट गर्यो । संविधानले जीवन र आवासको अधिकार सुनिश्चित गरेको छ ।
तर यति धेरै संरचना, कार्यक्रम र प्रतिबद्धताहरू हुँदाहुँदै पनि एउटा ठूलो प्रश्न बारम्बार उठ्छ, किन उद्देश्य र प्रतिबद्धता उत्साहपूर्ण देखिन्छ तर वास्तविक तयारी अत्यन्तै कमजोर रहन्छ ? किन हरेक वर्ष माघ २ मा उत्सवमय वातावरण बन्छ, तर घर–परिवारमा इमरजेन्सी कीट हुँदैन ? किन विद्यालय र स्थानीय बस्तीमा ड्रिल र अन्य अभ्यास सक्रियरूपमा गरिँदैन ? किन भवन कोडका कुरा गरिन्छ तर सुरक्षित निर्माण व्यापकरूपमा लागू हुँदैन ?
यस प्रश्नको उत्तर प्रायः ‘संसाधनको कमी’ वा ‘सरकारी कमजोरी’ मा मात्र होइन–मानव व्यवहारकै गहिराइमा पुगेर बुझ्नुपर्छ ।
मानव व्यवहारसम्बन्धी प्रसिद्ध योजनाबद्ध व्यवहारको सिद्धान्तले भन्छ– कुनै पनि व्यवहार (जस्तै भूकम्प तयारी) को आधार तीन तत्त्व बाट हुन्छः मनोवृति, सामाजिक मान्यता र आफैंले गर्न सक्छु भन्ने विश्वास । यीमध्ये एउटा मात्र कमजोर भयो भने अभिप्राय कमजोर हुन्छ, र अभिप्राय कमजोर भयो भने व्यवहारमा प्रकट हुँदैन । नेपालमा भूकम्प तयारीका हरेक पहल यी तीनै बिन्दुहरूमा ठोक्किने गरेका छन् ।
एकातिर, धेरै नेपालीले ‘तयारी गर्नु राम्रो हो’ भन्ने बुझाइ राख्छन्, तर यो बुझाइ व्यवहारमा अनुवाद हुने गरी बलियो मनोवृति मा परिवर्तन हुन सकेको छैन । सुरक्षित निर्माण वा पारिवारिक तयारीको दीर्घकालीन फाइदा तत्काल महसुस नहुने भएकाले मानिसहरू आफ्नै दैनिकी र आवश्यकतामै व्यस्त रहन्छन् । अर्कातिर, अरू व्यक्ति, परिवार र छरछिमेकले पनि त कुनै तयारी या नियमको पालना गरेको छैन नि भन्ने खालको सोचाइले गर्दा तयारी गर्नुपर्छ वा नियम मान्नुपर्छ भन्ने सामाजिक मान्यतालाई कमजोर बनाउँछ । यस्तो सामाजिक मान्यताको आभावका कारण त्यसलाई व्यवहारमा उतार्दैन । त्यसमाथि, संसाधन, सीप र प्रक्रियागत अवरोधका कारण धेरैले ‘विपद् तयारी गरेर के पो होला र प्रकृतिको अगाडि मेरो के लाग्छ होला ?’ भन्ने खालका भाव बनाउँछन् । नेपालमा भएका अन्तर्राष्ट्रिय तथा स्थानीय अध्ययनहरूले पनि यही देखाउँछन्, तयारी गर्ने निर्णय व्यवहारभन्दा धेरै मनोसामाजिक कारकहरूमा अडिएको हुन्छ, र सामाजिक मान्यता तथा नियन्त्रणको अनुभूति बलियो नहुँदा तयारी प्रकट हुँदैन ।
यद्यपि, आशा हराएको छैन । नेपालमा डीडीआरएमको कानूनी र संस्थागत संरचना विश्वमै प्रगतिशील मानिन्छ । तर संस्थागत संरचना मात्र पर्याप्त हुँदैन; व्यवहार परिवर्तनबिना विपद्–तयार समाज बन्न सक्दैन । त्यसका लागि तीन तहमा परिवर्तन आवश्यक छ; मनोवृति मा सुधार, सामाजिक मान्यता निर्माण, र सीप–स्रोत उपलब्धता ।
मनोवृति सुधारका लागि सुरक्षित निर्माणका सफल उदाहरण, सस्तो, सुलभ समाधान, र आर्थिक फाइदाका तथ्यहरू नागरिकसम्म पुग्न आवश्यक छ । सामाजिक मान्यता निर्माणका लागि वडास्तरमा मासिक तयारी अभियन, विद्यालय– समुदाय सहकार्य, र सार्वजनिक रूपमा तयारी रजिस्टर राख्ने जस्ता कार्यक्रम प्रभावकारी बन्न सक्छन् । अनि हामी गर्न सक्छौं भन्ने अनुभूति बढाउन स्थानीय तहले ‘एकद्वार सेवा’मार्फत कीट सूची, सस्तो रेट्रोफिटिङ विकल्प र नियमित ड्रिल/प्रशिक्षण सहजरूपमा उपलब्ध गराउनुपर्छ ।
नागरिकस्तरमा पनि धेरै कुरा आजै सुरु गर्न सकिन्छ । जस्तै, घर–परिवारमा ‘ड्रप–कभर– होल्ड’ अभ्यास र त्यसको उपयुक्तता, इमरजेन्सी कीट तयारी, विपद्का बेलामा भेट्ने–स्थान योजना, फर्निचर/ग्यास एंकरिङ, छर–छिमेकीको सञ्जाल निर्माण आदि । यी सबै उपाय सरल, कम खर्चमा र सजिलै सुरु गर्न सकिन्छ । तर अत्यन्त महत्त्वपूर्ण कुरा– यी उपाय वर्षमा एकपटक होइन, नियमित अभ्यास बन्नुपर्छ ।
हामी धेरै कुरा चाँडै नै बिर्सने खालका भएर होला सायद विपद्का सारा कुरा बिर्सेर हाम्रो समाज केही महिना भित्रै फेरि लयमा आउँछ । एक हिसाबले यो राम्रो हो तर भविष्य र तयारीका हिसाबले यो हाम्रो ठूलो शत्रु हो । हरेक भूकम्पपछि केही महिना तयारी, सर्तकता र छलफल बढ्छ तर पुनः बिर्सन्छौं । माघ २ को भूकम्प सुरक्षा दिवसलाई केवल समारोहको दिन होइन, तयारीको संस्कृतिमा रूपान्तरण सुरु गर्ने दिन बनाउने हो भने अभिमत, मान्यता र नियन्त्रण यी तीनैलाई मजबुत बनाउनुपर्छ । हातमा संरचना छ, कानून छ, प्राधिकरण छ, स्थानीय समिति छ । अब प्रश्न मात्र एउटा छ– हाम्रो व्यवहार परिवर्तन गर्ने साहस छ कि छैन ?
लेखक आईसीएमएस समर्पण एकेडेमीका प्राचार्य हुन् ।