जगन्नाथ दुलाल
काठमाडौं, माघ ३
निर्वाचन आयोगले काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन वैधानिक ठहर गरेको छ । निर्वाचन आयोगले शुक्रबार कांग्रेस विवादमा निर्णय दिँदै विशेष महाधिवेशनलाई मान्यता दिएको हो । पुस २७–३० गते भएको विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
थापासहितका पदाधिकारीले आयोग पुगेर विहीबार नै नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न र चुनावका लागि सभापति थापाको हस्ताक्षर राख्ने निर्णय जानकारी गराएका थिए ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । आयोगको शुक्रबार बसेको बैठकले उक्त निर्णय लिनका लागि राजनीतिक दलसम्बन्धी ऐन, संविधान र नेपाली कांग्रेसको विधानमा टेकेको छ । मुख्य रुपमा आयोगले अद्यावधिको निर्णय टुंग्याउन तीन वटा आधार लिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
शुक्रबार शेरबहादुर देउवा पक्षले आयोग पुगेर विशेष महाधिवेशन अवैधानिक भन्दै देउवा नेतृत्वको केन्द्रीय समिति नै आधिकारिक भएको दाबी गरेका थिए । देउवा पक्ष आयोगबाट बाहिरिएलगत्तै थापासहित विशेष महाधिवेशनपक्षधर आयोग पुगेका थिए ।
वैधानिकता पाएपछि सभापति थापाले पार्टीलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘विशेष महाधिवेशनले वर्षौँदेखिको गुटगत राजनीति र औपचारिक समूहहरूलाई विधिवत् रूपमै अन्त्य गरिदिएको छ,’ थापाले भने, ‘म विशेष अधिवेशनमा सहभागी नहुनुभएका साथीहरूलाई पनि आह्वान गर्छु— अधिवेशनको चरण सकियो, अब म सबैको सभापति हुँ । मैले सबैलाई समान व्यवहार गर्नेछु र न्यायपूर्ण ढङ्गले काम गर्नेछु ।’
नेपाली कांग्रेसको विधानको धारा १७ को उपधारा २ मा केन्द्रीय समितिले चाहेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेमा विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यात्मक व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानेर विशेष महाधिवेशन पक्षधरले महाधिवेशन गरेका थिए । तर, देउवा पक्षले केन्द्रीय समितिले मात्रै विशेष महाधिवेशन आह्वान गर्न सक्ने भन्दै विशेष महाधिवेशन वैध नभएको दाबी गर्दै आएको थियो । देउवा पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरेको थियो ।
शुक्रबार दिनभर निर्वाचन आयोग अगाडि वादविवाद भएको थियो । पार्टीको आधिकारिकताको विषयलाई लिएर दुई पक्ष नाराबाजीमा उत्रिएका थिए ।
गगनलाई भावि प्रधानमन्त्रीका रूपमा अघि सार्छाैं : उपसभापति शर्मा
पार्टीले आधिकारिकता पाएपछि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगन थापालाई भावि प्रधानमन्त्रीका रूपमा अघि सारेर आगामी चुनावमा जाने घोषणा गरेको छन् । शर्माले अबका दिनमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरू बीचको दरार र दुरी नराखी पार्टीलाई अगाडि बढाउने पनि बताए । ‘जो बदलिन्छन्, उनीहरूले बदल्न सक्छन् । हामीले पनि अब बदल्ने संकल्प लिनुपर्छ,’ शर्माले भने, ‘विशेष महाधिवेशनमा जसले हस्ताक्षर गरे पनि वा नगरे पनि हामीबीच अब त्यो दरार र दुरी रहनु हुँदैन ।’
महामन्त्री गुरूराज घिमिरेले आयोगले अब पार्टीमा सबैलाई समेटेर अघि बढ्ने बताए । उनले विशेष महाधिवेशनको विपक्षमा रहेकाहरूलाई पनि सहमतिका आउनका लागि आग्रह गरेका छन् ।
कानूनी र राजनीतिक लडाइँ लड्छौं : देउवा पक्ष
निर्वाचन आयोगले विशेष महाधिवशेन पक्षलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरु राजनीतिक र कानूनी दुवै लडाइँमा जाने प्रतिक्रिया दिएका छन् । निर्वाचन आयोगले विशेष महाधिवशेनबाट सभापति चुनिएका थापा पक्षलाई मान्यता दिएपछि राति नै खड्कासहित नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, किशोरसिंह राठौर सहितका नेताहरू आयोग पुगेका थिए ।
निर्वाचन आयोग परिसरमा पत्रकारसँग कुरा गर्दै उनले सर्वोच्च अदालत निर्वाचन आयोगविरुद्ध जाने संकेत गरेका हुन् । ‘निर्वाचन आयोगको षड्यन्त्रपूर्ण निर्णय आएको छ, यो आयोगको स्थापित नजीर विपरीत छ,’ उनले भने, ‘यो अमान्य छ । संस्थापन पक्ष आयोगको निर्णय खारेज गर्छ । राजनीतिक, वैधानिक र राजनीतिक लडाइँ लड्छौं । सेटिङ भएको भनिएको छ । एक पक्षले दावी गरेको निर्णय आएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति यथावत् छ । निर्वाचन आयोगले आधिकारिक सभापति र केन्द्रीय समितिलाई एक पटक नबोलाई, निर्वाचन आयोगको निर्णय गर्ने प्रक्रियाको खिलापमा छ । पार्टी विधान र नियमावली विपरीत छ ।’
यसैबीच कार्यवाहक सभापतिका रूपमा खड्काले शनिबार बिहान ८ बजे केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरुको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार सूचना जारी गरेका छन् । यो बैठकबाट देउवा पक्षले आफ्नो धारणा तय गर्ने बताइएको छ ।
अब के हुन्छ ?
नेपाली कांग्रेसको गगन पक्षले आधिकारिकता पाएसँगै अब माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार चयन गर्न बाटो खुलेको छ । फागुन २१ को निर्वाचनको लागि प्रत्यक्षतर्फ उमेदवारी दर्ता माघ ६ गते हुँदैछ । थापा पक्षले शुक्रबार नै १६५ क्षेत्रमा उमेदवार छान्ने तयारी शुरू गरिसकेको छ । आयोगबाट मान्यता पाएपछि अब थापाको हस्ताक्षरमा पठाइने उम्मेद्वारहरु आधिकारिक हुनेछन् ।
तर, अब देउवा पक्ष के गर्छ ? चासोको विषय छ । यो पक्षले थापालाई सभापति मानेर सहमतिको बाटोमा आए कांग्रेस विवादको समाधान हुनसक्ने सम्भावना बाँकी नै छ । तर, देउवा पक्षले आयोगको निर्णय मान्य नहुने भन्दै सडक र अदालतमा जाने बताइसकेकाले सहमति सहज भने देखिँदैन । देउवा पक्ष अदालत गए त्यसको फैसला आउन समय लाग्ने पक्का छ । निर्वाचन कार्यतालिका आइसकेकाले नयाँ दल दर्ता गर्ने अवस्था छैन । यस्तो अवस्थामा माघ ६ को डेटलाइन तलमाथि नभए देउवा पक्षसँग स्वतन्त्र उम्मेद्वारका रूपमा मात्रै चुनावमा जाने विकल्प बाँकी रहनेछ ।