किताबमार्फत मानसिक स्वास्थ्य सुधार्ने अभ्यास अर्थात् बिब्लियोथेरापी पछिल्ला वर्षमा संसारभर लोकप्रिय बन्दै गएको छ । यो थेरापीमा आख्यान, गैरआख्यान र सेल्फहेल्प पुस्तकलाई मानिसको मानसिक अवस्था, जीवनको परिस्थिति र भावनात्मक आवश्यकताअनुसार सिफारिस गरिन्छ । यो विधा रुचाउनेहरूका अनुसार, यसले भावनाहरू बुझ्न, कठिन निर्णयहरू सामना गर्न र एक्लोपन घटाउन मद्दत गर्न सक्छ । तर विशेषज्ञहरू भने बिब्लियोथेरापीलाई कुनै सार्वभौमिक उपचारका रुपमा मान्न तयार छैनन् । यसको प्रभाव व्यक्ति, किताब र पढ्ने तरिकामा भर पर्छ र कतिपय अवस्थामा हानिकारक पनि हुन सक्छ ।
सन् २०१७ को गर्मीमा एलिजाबेथ रसेल निकै कठिन अवस्थामा थिइन् । उनका दुई किशोर छोराछोरीसँग सम्बन्ध बिग्रियो । त्यही बेला उनको सम्बन्धविच्छेद पनि भयो र यही कारणले उनी डिप्रेसनको शिकार बन्न पुगिन् ।
अमेरिकाको कनेक्टिकटमा प्राथमिक विद्यालयकी शिक्षिका तथा लाइब्रेरियन सरेलले भनिन्, ‘यो साँच्चै तनावपूर्ण समय थियो । यही बेला इन्टरनेटमा ‘क्रिएटिभ बिब्लियोथेरापी’बारे पढेँ । यसले मानसिक स्वास्थ्य सुधार हुने कुरा थाहा पाएपछि म यसतर्फ आकर्षित भएँ ।’
बेलायतको ससेक्सस्थित बिब्लियोथेरापिस्ट एला बर्थौड लेखिका पनि हुन् । उनले ‘द नोभेल क्योर’को सहलेखन गरेकी छन् । उनी बिब्लियोथेरापीको क्षेत्रमा चर्चित नाम हुन् । जब एलिजाबेथ रसेलको समस्याबारे थाहा पाइन्, एलाले उनलाई सम्बन्धविच्छेद र कठिन मानसिक अवस्था झेलिरहेका पात्र भएका पुस्तकहरूको सूची पठाइन् । तीमध्ये नैन्सी पर्लको ‘जर्ज एन्ड लिजी’ पनि एक थियो ।
एलिजाबेथ भन्छिन्, ‘जर्ज एन्ड लिजी किताब पढेर म स्तब्ध भएँ । काल्पनिक पात्रहरूको अनुभवले आफ्नै अवस्थालाई बुझ्न, विश्लेषण गर्न र आफू एक्लो छैन भन्ने महसूस गर्न निकै सघायो । यसले मभित्र केही खोलिदियो जुन निको हुन आवश्यक थियो ।’
यस्तै अनुभवका कारण बिब्लियोथेरापीलाई मानसिक स्वास्थ्य सुधार्ने, कठिन जीवनका निर्णयहरू पत्ता लगाउने र केही मानसिक अवस्थाहरूमा सहयोगी माध्यमका रूपमा हेरिन थालिएको छ । सेल्फहेल्प साहित्यका फलदायी परिणाम आउँछन् भन्ने पहिलेदेखि नै स्थापित छ । कथामा आधारित बिब्लियोथेरापीका पक्षधरहरू वास्तविक जीवनसँग मेल खाने कथामा डुब्नु, भावनात्मक विश्लेषण गर्नु, समस्यासँग सामना गर्ने रणनीति विकास र क्षणिक राहतका लागि उपयोगी हुन सक्छ ।
सन् २०१६ मा द ल्यान्सेटमा प्रकाशित पेपरअनुसार, महान् साहित्यमा डुब्नुले ‘समस्याग्रस्त मनलाई राहत दिन्छ । यसले भग्न मनलाई पुन:स्थापित गर्छ भने पुनरुत्साहित गर्न सघाउ पुर्याउँछ । यसैगरी तनाव तथा चिन्ता कम गर्न पनि भूमिका खेल्न सक्छ । मानसिक स्वास्थ्य सेवाको अभाव रहेका देशहरूमा यो विचार झन् आकर्षक देखिन्छ ।
तर विशेषज्ञहरू भने बिब्लियोथेरापीले सबै मानसिक समस्याहरू समाधान गर्न किताब सफल हुन्छन् भन्ने कुरामा उति विश्वस्त भने छैनन् । कथा शक्तिशाली भए पनि ‘कुनै पनि कथा सबैका लागि लाभदायक हुन्छ’ भन्ने निष्कर्ष गलत हुन सक्छ । लन्डन इन्टरडिसिप्लिनरी स्कूलका कम्प्युटेसनल कग्निटिभ साइन्टिस्ट जेम्स कार्नी भन्छन्, ‘किताबहरू सबै कुरा ठीक पार्ने पूजनीय वस्तु हुन् भन्ने धारणा छ । केही व्यक्तित्व र अवस्थाका लागि यो सत्य हुन सक्छ तर यही नै सार्वभौमिक औषधि हो भन्ने विचार सरासर गलत हो ।’
इतिहासकारहरूले बिब्लियोथेरापीको जरा प्रथम विश्वयुद्धसम्म जोड्छन् । त्यो बेला युद्धमा रहेका सैनिकहरूको पीडा र आघात कम गर्न किताब पढ्न उक्साइन्थ्यो । यसको आधुनिक रूप भने सन् १९९० को दशकतिर पुनः स्थापित भयो । अहिले त बर्थौडजस्ता थेरापिस्टहरूले सशुल्क किताबहरू सिफारिस गर्ने गरेका छन् । उनीहरूले बिरामीलाई कथा पढ्न सिफारिस गर्छन् । बेलायती स्वास्थ्य विभागका चिकित्सक एन्ड्रयू स्कुमन भन्छन्, ‘कथा बिब्लियोथेरापी अन्य थेरापीसँग संयोजनमा प्रभावकारी हुन सक्छ, तर यही विकल्प हो भन्ने कुरामा म सहमत छैन । यसको एउटा फाइदा चाहिँ मानिसले आफ्नो समय र भावनात्मक तयारीअनुसार पढ्न सक्छन् ।’
सन् २०१३ देखि बेलायतको गैर–नाफामुखी द रिडिङ एजेन्सीले ‘रिडिङ वेल’ कार्यक्रममार्फत डिप्रेसन, डिमेन्सियाजस्ता अवस्थाका लागि विशेषज्ञद्वारा छनोट गरिएका किताबहरूको सूची उपलब्ध गराउँदै आएको छ । संस्थाकी स्वास्थ्य तथा कल्याण प्रमुख जेमा जोली भन्छिन्, ‘हाम्रो उद्देश्य मानिसहरूलाई साँच्चै उपयोगी किताबतर्फ निर्देशित गर्नु हो ।’ यो कार्यक्रममार्फत ३९ लाखभन्दा बढी किताबहरू सिफारिश गरिउका छन् । केही अवस्थामा सेल्फहेल्प किताबहरू क्लिनिकल दिशानिर्देशमै समावेश छन् । सिफारिश गर्दा सबैका लागि यो उत्तिकै प्रभावकारी हुँदैनन् भन्ने चेतावनी पनि दिने गरिएको छ ।
पढाइ र मानसिक स्वास्थ्यबीचको सम्बन्ध जटिल छ । अनुसन्धानले देखाउँछ—नियमित रूपमा आनन्दका लागि पढ्ने मानिसहरू कम तनावग्रस्त, कम एक्लो र बढी सामाजिक हुन्छन् । तर बेलायतको ससेक्स विश्वविद्यालयकी मनोवैज्ञानिक वैज्ञानिक जुलिया पोएरियो सोध्छिन्, ‘के कथा पढ्नुले मानसिक स्वास्थ्य सुधार्छ, वा राम्रो मनोस्वास्थ्य भएका मानिसहरू कथा पढ्ने स्वभावका हुन्छन् त ?’
सेल्फहेल्प किताबका फाइदाहरू तुलनात्मक रुपमा प्रस्ट हुन्छन् तर फिक्सन–कथा)का प्रभावहरू भने मिश्रित हुन्छन् । अध्ययनहरूले सहानुभूति, आत्मविश्वास र सामाजिक व्यवहारमा सुधार देखाएका छन् । बालबालिकामा आक्रामक व्यवहार घट्ने प्रमाण पनि छ । तर विशिष्ट मानसिक रोगको उपचारमा ठोस प्रमाण कमजोर छन् ।
अक्सफोर्ड विश्वविद्यालयकी साहित्यिक वैज्ञानिक एमिली ट्रोसियान्को भन्छिन्, ‘आफ्नै अनुभवसँग मिल्ने पात्र पढ्दा क्याथार्सिस हुनसक्छ भन्ने धारणा आकर्षक भए पनि यसको प्रमाण निकै कम छ । उल्टो, केही अवस्थामा कथाले हानि पनि पुर्याउन सक्छ ।’ सन् २०१८ को अध्ययनमा ट्रोसियान्कोले खाने विकार भएका करिब ९०० जनालाई सर्वेक्षण गर्दा, खाने विकार भएका पात्रसम्बन्धी कथाले पाठकको समस्या बल्झाएको देखियो । ‘यदि तपाईंलाई खान्कीसम्बन्धी विकार छ भने त्यस्ता सामग्रीको प्रभाव नकारात्मक भएको महसूस हुन सक्छ,’ उनी भन्छिन् ।
ट्रोसियान्कोका अनुसार यस्ता किताबहरूले प्रतिस्पर्धा र शरीर–केन्द्रित सोच जस्ता नकारात्मक भावनाहरू ट्रिगर गर्न सक्छन् । यही कारण रिडिङ वेलले केही अवस्थाका लागि काल्पनिक सामग्री हटाएर व्यावहारिकता केन्द्रित किताब मात्र सिफारिस गर्छ । जोलीको स्वीकारोक्ति छ, ‘यो एउटा साइज फिट्स अल होइन । यो केही मानिसहरूका लागि काम गर्ने अतिरिक्त उपकरण हो ।’
कार्नीले लतसम्बन्धी कथाले पनि ट्रिगर गर्न सक्ने चेतावनी दिन्छन् । स्कुमन भन्छन्, ‘उनी साइकोटिक रोग वा आत्महत्यासम्बन्धी विचार भएका बिरामीलाई कथा सिफारिस गर्दैनन्, किनकि त्यो अनुपयुक्त र हानिकारक हुन सक्छ ।’
यद्यपि सबै निष्कर्ष नकारात्मक छैनन् । केही साना अध्ययनहरूले डिप्रेसनमा कविता र कथाको सामूहिक अध्ययनले सकारात्मक प्रभाव पनि देखाएका छन् । कार्नीको विचारमा, अनिश्चितताबाट उत्पन्न चिन्तामा पूर्वानुमानयोग्य संरचना भएका कथाहरू (जस्तै सर्लक होम्स शैली) उपयोगी हुन सक्छन् । दीर्घकालीन दुखाइ भएका मानिसहरूमा सामूहिक उच्च–स्वरमा पढाइले समुदायबोध र जीवन गुणस्तर सुधार गरेको छ ।
महत्वपूर्ण पक्ष चाहिँ किताबसँग हामी कसरी संलग्न हुन्छौं, त्यसमा भर पर्छ । पोएरियोको अध्ययनले देखाएको छ, ‘भावनात्मक रूपमा गहिरो संलग्न भएका पाठकहरूले मात्र दीर्घकालीन मनोचिकित्सामा सुधार अनुभव गर्छन् ।’ कार्नी थप्छन्, ‘पढिसकेपछि प्रतिबिम्ब र समूह छलफलले प्रभाव बढाउँछ । कथाले कठिन सामाजिक परिदृश्य अभ्यास गर्ने सुरक्षित ठाउँ दिन्छ ।’
आफैं प्रयास गर्न चाहनेहरूका लागि विशेषज्ञहरूले सार्वजनिक पुस्तकालय, पढाइ समूह र विभिन्न विधा प्रयोग गर्न सुझाव दिन्छन् । पोएरियो भन्छिन्, ‘पढाइले काम नगरे संगीत वा दृश्य कलाजस्ता अन्य माध्यमलाई पनि जोड्न सकिन्छ । स्कुमनको सल्लाह स्पष्ट छ, ‘यदि पढाइले तपाईंलाई फाइदा दिइरहेको छ भने पढ्ने क्रमलाई जारी राख्नुहोस्; अनुपयोगी लागे कुनै पनि बेला किताब फ्याँकेर अन्य काममा जानुहोस् ।’
एलिजाबेथ रसलका लागि बिब्लियोथेरापीले एक्लोपन घटायो र मानसिक स्वास्थ्य सुधारको बाटो खोल्यो । उनी भन्छिन्, ‘सबैभन्दा ठूलो कुरा—तपाईं एक्लो हुनुहुन्न भन्ने महसूस हुनु हो ।’ यही सन्देशमा लेखको सार निहित छः किताब सहयोगी हुन सक्छन्, तर सावधानी, उपयुक्त छनोट र सन्दर्भजस्ता कुराको महत्व पनि उत्तिकै हुन्छ ।