नेभिगेशन
दृष्टिकोण

पढ्ने बानीमा चिन्ताजनक गिरावट

प्रिय पाठक, तपाईं एउटा घट्दो समूहको सदस्य हुनुहुन्छ । विश्वभरि कम मानिसहरूले मनोरञ्जनका लागि छापा वा डिजिटल उपकरणहरूमा पुस्तक, अखबार वा पत्रिकाहरू पढिरहेका छन् । यसै साता पठन संस्कृतिको गिरावटका बारेमा चिन्ता बढे को छ । किनभने एउटा विस्तृत अमेरिकी अध्ययनले औसत दिनमा मात्र १६ प्रतिशत मानिसहरूले कुनै पनि फुर्सदको समय पढ्नमा बिताए। दुई दशक अघि भने यो २८ प्रतिशत थियो ।

फ्लोरिडा विश्वविद्यालय र युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरूले २ लाख ५६ हजार अमेरिकीहरूको दिनचर्याको विश्लेषण गरे । उनीहरूको दिनचर्या विश्लेषणबाट जे नतिजा आयो, त्यसले सर्वसाधारणको पठन संस्कृतिको चिन्ता गर्नु स्वाभाविक पनि थियो । तिनीहरूले अमेरिका र अन्यत्रका प्रमाणबाट के पुष्टि हुन्छ भने सर्वसाधारणबीच सामाजिक सञ्जालमा असीमित स्क्रोलिङ वा टिकटक, इन्स्टाग्राम र अन्यत्र छोटो भिडियोहरू हेर्न जस्ता गतिविधिका कारण पढ्ने बानी छोड्दै छन् ।

स्नायुविज्ञानीहरू र सामाजिक मनोवैज्ञानिकहरूले मानसिक स्वास्थ्य र कल्याणबाट शैक्षिक र सांस्कृतिक समृद्धिसम्म, नियमित रूपमा किताब वा अखबारमा डुब्नुका धेरै फाइदाहरू उल्लेख गर्छन् । अडियोबुकहरू सुन्ने क्रम पनि पछिल्लो समय निकै तीव्र गतिमा बढिरहेको छ र यसले पनि कागजी किताब वा ई–बुकलाई ट्याब्लेटमा पढेजस्तै फाइदा दिने गर्छ ।

अमेरिकीहरूमा पछिल्लो समय पढ्ने समयलाई घटाउँदै जान थालेका छन् । यसले पाठक र गैर–पाठकहरूबीच ध्रुवीकरण बढ् दो रुपमा छ भन्ने देखाएको छ । पछिल्लो समय अमेरिकीहरूबीच कहिल्यै पुस्तकहरू नपढ्ने र पढ्ने वा आंशिक रुपमा पढ्ने मानिसहरूको अनुपात तीव्र गतिमा बढिरहेको छ । तर जो नियमित रूपमा पढ्छन् तिनीहरूले अहिले २० वर्ष अघिको भन्दा बढी फुर्सदको समय पठन क्रियाकलापमा बिताइरहेका छन् । अमेरिकीहरूको पठन संस्कृतिका कारणले प्रकाशन उद्योग अझै किन राम्रो अवस्थामा छ भन्ने बुझ्न मद्दत गर्दछ ।

बेलायतमा प्रकाशक संघले गत वर्ष उपभोक्ता बजारका लागि एक उत्साहनजनक रिपोर्ट जारी गर्‍यो । जसमा राजस्व र बिक्री भएका पुस्तकहरूमा ५ प्रतिशतको वृद्धि देखिएको थियो । देशको सबैभन्दा ठूलो पुस्तक खुद्रा व्यापारी वाटरस्टोन्सले आफ्नो लगभग तीन सय स्टोरहरूको श्रृंखलाहरू नयाँ–नयाँ ठाउँमा थपिरहेको छ ।

त्यसैले सबैभन्दा ठूलो नीतिगत चुनौती भनेको पठनमा रुचि नहुनेहरूमा पढ्ने रुचि जगाउनु हो । पठन संस्कृति बढाउने एउटै स्पष्ट बेला भनेको बाल्यकाल नै हो । बालबालिकाहरूलाई पढ्नका लागि अभिभावकहरूले थप प्रोत्साहन दिनुपर्छ । तर पछिल्लो समय गरिएको एउटा अमेरिकी अध्ययनले भने अचेल बालबालिकालाई पढ्ने कुरामा प्रोत्साहित गर्ने  क्रम निकै खुकुलिँदै जान थालेको छ ।

त्यसपछि प्राथमिक विद्यालयहरूले पनि पठन संस्कृति बढाउन निकै काम गर्न सक्छन् । कथाको मज्जाको पक्षलाई जोड दिँदै, पढ्न र लेख्न सिक्न कार्यात्मक महत्व बुझाउन सक्छन् । यो त्योबेला मात्र सम्भव हुन्छ, जब विद्यालयमा पुस्तकालय हुन्छ । बेलायतको एक चौथाई प्राथमिक विद्यालयहरूमा, विशेष गरी कमजोर क्षेत्रहरूमा, जहाँ पुस्तकालयको सबैभन्दा बढी आवश्यक छ, त्यहाँ पुस्तकालय नै छैनन् । चान्सलर रेचल रीभ्सले आर्थिक वर्ष शुरु हुने बेलामा सबै प्राथमिक विद्यालयहरूमा सन् २०२९ सम्ममा पुस्तकालय बनाउने प्रतिबद्धता व्यक्त गरिन् । जुन निकै स्वागतयोग्य पक्ष हो ।

आकर्षक र सक्रिय सार्वजनिक पुस्तकालयहरू पनि आवश्यक छन् । ती पुस्तकालयमा सबै उमेरका मानिसहरूमा पढ्न जाने वातावरण बनाउनु जरुरी छ । जो पुस्तक किन्न सक्तैनन् वा किन्न चाहँदैनन्, तिनका लागि पुस्तकालय आकर्षक थलो बनाउनु जरुरी छ । यस मामिलामा देखिएका संकेतहरू कमै आशाप्रद छन्, किनभने स्थानीय निकायले पुस्तकालयहरूलाई दिनुपर्ने सहयोग रकम दिन छाडेका छन् र यही कारण स्थानीय पुस्तकालय सञ्चालनमा कठिनाइ भोगिरहेका छन् । उदेकलाग्दो पक्ष चाहिँ, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सहयोग रोकिदिएका छन् । यसले पुस्तकालयले अझ कठिन समय बेहोर्ने  पक्का छ ।

पठन संस्कृति निर्माणका केही बाधाहरू अपेक्षाकृत सजिलै हटाउन सकिन्छ । केही महिनाअघि डेनमार्कले गज्जबको उदाहरण प्रस्तुत गरेको छ । डेनमार्कका संस्कृति मन्त्री जेकब एन्गेल स्मिटले देशमा पठन संस्कृतिमा संकट बढेको भन्दै किताबहरूमा लगाइने भ्याटमा २५ प्रतिशतले शुल्क हटाउने घोषणा गर्‍यो ।

यस्ता क्रियाकलापले पठन संस्कृति बढाउन सक्छ । साथै सरकारको उदारता, दानवीर संस्थाहरू तथा प्रकाशकहरूको पहलले पठन संस्कृति बढाउन सक्छ । पढ्ने बानीको व्यापक पुनरुत्थानले दीर्घकालीन गिरावटको लागि जिम्मेवार सामाजिक र सांस्कृतिक प्रवृत्तिमा परिवर्तनको माग गर्दछ । केही आशावादीहरूले यो हुँदै गरेको संकेत देख्छन्, जहाँ युवाहरूले सामाजिक सञ्जालको व्यापक हस्तक्षेप र यसको फुर्सदको समयको विखण्डनको विरुद्धमा प्रतिक्रिया दिँदैछन् । यद्यपि यो प्रारम्भिक चरणमा उदाहरणात्मक प्रमाण मात्र हो, नयाँ पाठकहरू, जस्तै विद्यमान पाठकहरू, शब्दहरूको समृद्ध संसारबाट मात्र लाभान्वित हुन सक्छन् ।

(फाइनान्सियल टाइम्सको सम्पादकीय)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्