ललितकुमार यादव
हिमाल, पहाड र तराई हजारौं वर्षदेखि प्रकृति र मानव श्रमको सहअस्तित्त्वबाट विकसित भएको जैविक विविधताको एउटा विशाल र जीवित संग्रहालय हो । नेपालले विश्वको कुल भूभागको करिब ०.१ प्रतिशत भूभाग मात्र ओगटेको छ । विश्वको कुल क्षेत्रफलको करिब ०.०३ प्रतिशत क्षेत्रफल ओगटेको छ । तर, विश्व जैविक विविधताको झण्डै ४ प्रतिशत हिस्सालाई समेटेको छ । नेपालमा विश्वका ३.२ प्रतिशत वनस्पतिजन्य र १.१ प्रतिशत प्राणीजन्य विविधता पाइन्छ । तर नेपालको यही विशिष्टता आज संकटको संघारमा पुगेको छ । अन्यत्रजस्तै हामीकहाँ पनि कृषि जैविक विविधता ह्रास हुने क्रम चुलिएर स्थानीय रैथाने बालीका ५० प्रतिशत जात मासिएको अनुमान छ । उत्पादन वृद्धिको एकांगी गणित र आधुनिकताको अन्ध अनुशरणले नेपालको खेतबारीबाट रैथाने बिउबिजन मात्र नहराई नेपाली माटोको सुगन्ध र मौलिक स्वाद पनि लोप हुँदै गएको छ ।
नेपालमा उपलब्ध कोदो, फापर, जौ, कागुनो, उवा, चिनो, लट्टे, जुनेली, मस्याङ, गहत, खेसरी, सिलाम, झुसे तिल, मार्सी, स्थानीय धान र मकैका जात सबै मौलिक उपहार हुन् । जसले पुस्तौंदेखि नेपाली किसानको जीविकोपार्जनलाई आधार प्रदान गर्दै आएका छन् । यी बाली केवल खाद्यान्नका स्रोत मात्र होइनन्, हाम्रो सांस्कृतिक धरोहर, औषधीय खजाना र राष्ट्रिय खाद्य सुरक्षाको वास्तविक आधारशिला हुन्, जुन स्थानीय माटो, विशिष्ट जलवायु र परम्परागत खेती प्रणालीसँग पूर्णतः अनुकूलित छन् । यी बालीहरूलाई हाइब्रिड वा बाह्य प्रजातिभन्दा भिन्न बनाउने मुख्य तत्त्व यिनको आनुवंशिक शुद्धता र स्थानीयता हुन् । उत्पादन लागत कम हुने यी बाली प्राकृतिकरूपमै रोग प्रतिरोधी हुन्छन् र पोषण तत्त्व उच्च हुन्छ । तर विडम्बना केही दशकयता विकास र बजारको मागको नाममा यी बाली लोप हुने दिशामा छन् ।
रैथाने बालीहरूको खेती आफैंमा एक पारिस्थितिक प्रणाली (इकोसिस्टम) हो । यिनीहरूलाई विशेष र महँगो प्राविधिक प्याकेज चाहिँदैन । तथापि परम्परागत ज्ञानमा आधुनिक वैज्ञानिक विधि मिसाउँदा उत्पादकत्वमा वृद्धि र उत्पादनमा सुधार गर्न सकिन्छ । बिउको चयन पहिलो शर्त हो भने गुणस्तरीय बिउको संरक्षण रैथाने बालीको उत्पादनमा सफलता हासिल गर्दै जाने भ¥याङ हो । किसानहरूले पुस्तौंदेखि आफ्नै खेतबाट उत्कृष्ट बाला छनोट गरी बिउ संकलन गर्ने परम्परा छ । सामुदायिक बिउ बैंकको अवधारणाले गुनस्तरीय बिउ संकलन र संरक्षण प्रक्रियालाई थप व्यवस्थित बनाएको छ । नेपालमा विद्यमान नीति तथा नियमाबलीमा समेत रैथाने बालीहरूको संरक्षण र प्रवर्धनसम्बन्धी व्यवस्था गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)जस्ता संस्थाहरूले अहिले रैथाने जातहरूको आनुवंशिक स्रोत संरक्षण गरिरहेका छन् । यसले भविष्यका लागि आनुवंशिक स्रोत सुरक्षित राख्ने काम गरेको छ । २०६७ सालमा सविुधा सम्पन्न राष्ट्रिय जीन बैंकको स्थापना गरिएसँगै सबै खाले कृषि अनुवांशिक स्रोतहरू सदाका लागि र सबैका लागि प्राप्त हुने गरी सयौं वर्षसम्म संरक्षण गर्न सकिने व्यवस्था मिलाइएको छ ।
कम उर्वर वा सीमान्तकृत जमिनमा उत्कृष्ट उत्पादन दिन सक्ने क्षमता रैथाने बालीमा पाइन्छ । जस्तै कोदो प्रायः असारमा पाखोबारीमा रोपिन्छ, जसमा धेरै जोताइको आवश्यकता पर्दैन । फापरलाई धान काटिसकेपछिको ओसिलो खेतमा वा मकैसँग मिश्रित बालीका रूपमा लगाउन सकिन्छ । रासायनिक मलको साटो गोबर र कम्पोष्टजस्ता जैविक मलको प्रयोगले उत्पादन बढाउने र माटोको गुणस्तरलाई दीर्घकालसम्म बचाइराख्छ । कोदोबाट प्रति हेक्टर औसत २.५ टन दाना र ४ टन पराला (काडा) प्राप्त हुनुले यसको बहुउपयोगिता पुष्टि गर्छ ।
आधुनिक प्रविधिलाई एकीकृत गर्दै परम्परागत खेतीलाई थोपा सिँचाइ, बाली छनोटका लागि माटोको पीएच मान परीक्षण र उचित सूक्ष्म पोषक तत्त्व (मइक्रोन्युट्रिएन्ट) व्यवस्थापनसँग जोड्दा उत्पादकत्व दोब्बर हुन सक्छ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)जस्ता संस्थाहरूले स्याङ्जा र कास्की क्षेत्रमा देखाएको सफल मोडलले प्रमाणित गरेको छ कि रैथाने बालीलाई पिछडिएको परम्परागत खेती होइन, भविष्यको उन्नत खेतीका रूपमा विकास गर्न सकिन्छ । कोदोका केही जातले चिसो र सुक्खा सहन सक्ने क्षमता भएकाले मध्य पहाडी क्षेत्र यस्ता बालीका लागि उपयुक्त हुन्छन् ।
रैथाने खेतीमा लागेका किसानहरूलाई केवल बिउ दिएर मात्र पुग्दैन उनीहरूलाई बजारसँग जोड्न भरपर्दो सरकारी संस्थाको आवश्यकता छ । बिउमा ५० प्रतिशतसम्मको सरकारी अनुदान र अनिवार्य बाली–बीमा नीतिले किसानको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । हाल नेपाल सरकारको पूर्णस्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पालिकामा खरिद÷बिक्री केन्द्र स्थापना गरेको छ । पालिकास्तरमै स्थापित ती खरिद÷बिक्री केन्द्रहरू किसानको उत्पादन खरिद गरेर बजारसम्म पु¥याउने र तीनै किसानलाई आवश्यक अन्य खाद्यान्न गाउँघरमै उपलब्ध गराउने दोहोरो भूमिका निर्वाह गरेको छ । कम्पनीले माठमाडौं, सुर्खेत र पोखराका सहरमा कार्णालीको सिमि, फापर, मार्सि, कागुनो र चिनोजस्ता रैथाने बालीको स्वाद चखाएको छ भने दुर्गमका कृषकलाई तराईको चामल, चिनी, दाल र तेलजस्ता खाद्यान्न सहुलियतमा उपलब्ध गराएको छ । रैथाने बालीका मुख्य चार महत्त्व छन्ः
पोषण र स्वास्थ्यको भण्डारः रैथाने बाली प्रोटिन, फाइबर र खनिज तत्त्वले भरिपूर्ण हुन्छन् । पौष्टिक तत्त्वको दृष्टिकोणले कोदो निकै महत्त्वपूर्ण छ । कोदोमा धान र गहुँभन्दा १० गुणा बढी क्याल्सियम पाइन्छ । यसमा प्रशस्त मात्रामा आइरन र फस्फोरससमेत पाइने भएकाले गर्भवती महिला, मधुमेह, युरिकएसिड, उच्च रक्तचाप, दम, रुघाखोकी, पेट दख्ने, कब्जियत, झाडापखाला आदि रोगका लागि लाभदायक रहेको विभिन्न अनुन्धानले पुष्टि गरेको छ । फापरमा नायसिन र टोक्राफिनोल भन्ने पदार्थ पाइने हुँदा मधुमेहको बिरामीलाई फाइदा गर्छ । शरीरमा रक्तसञ्चार बढाउन र कोलेष्ट्रोल घटाउन मद्दत गर्दछ । यसमा भिटामिन बीसमेत पाइन्छ । उवा र लट्टेजस्ता बाली क्यान्सरप्रतिरोधी मानिन्छ । प्रति १०० ग्राम चिनोमा काबोहाइड्रेड ७३.९ प्रतिशत, प्रोटिन ९.७६ प्रतिशत, रेशा ११.९ प्रतिशत, जिल्लो पदार्थ ६.२ प्रतिशत, क्याल्सियम ५५ मिलिग्राम, फस्फोरस १९.४ मिलिग्राम र फलाम ५५ मिलिग्राम पाइन्छ । कोभिड–१९ र नाकाबन्दीको समयमा आपूर्ति शृंखला अवरुद्ध हुँदा यिनै रैथाने बालीहरूले ग्रामीण तथा दुर्गम क्षेत्रमा खाद्य सुरक्षाको ग्यारेन्टी गरेको थियो ।
आर्थिक स्वावलम्बन र रोजगारीः नेपालमा करिब ३ लाख हेक्टरमा कोदो खेती गरिन्छ । वार्षिक ठूलो परिमाणमा यसको कारोबार हुन्छ । यदि कोदोको मोमो, बिस्कुट, चिप्स, पाउरोटी, केक र ढिँढो, कागुनोको खीर र केक, चिनोको खीर र उपमा, फापरको चिउरा र पाउरोटी र लट्टेको लड्डु र दुनोट जस्ता उत्पादनलाई पर्यटनसँग जोड्न सकिँदा मूल्य अभिवृद्धिका साथै रोजगारी सिर्जना गर्न सकिन्छ ।
वातावरणीय सन्तुलन र जलवायु अनुकूलनः जलवायु परिवर्तनका कारण अनियमित वर्षा र बढ्दो तापक्रमले हाइब्रिड बाली असफल भइरहँदा रैथाने बाली सुरक्षा कवचका रूपमा उभिन सक्छन् । यिनीहरूलाई हाइब्रिडको तुलनामा निकै कम पानी र रासायनिक मल चाहिन्छ । यसले कार्बन उत्सर्जन घटाउन र जैविक विविधता जोगाउनसमेत मद्दत गर्छ ।
सांस्कृतिक र आध्यात्मिक मूल्यः नेपाली संस्कृतिमा रैथाने बालीको स्थान अटल छ । जनैपूर्णिमाको क्वाँटी होस् वा छठको ठेकुवा होस् । माघे संक्रान्तिको तिलको लड्डु होस् वा तिहारको सेलरोटी होस् । अथवा कुल पूजाको अघ्र्य होस्, हाम्रा हरेक संस्कारमा रैथाने अन्न अनिवार्य चाहिन्छ । यी बाली लोप हुनु भनेको हाम्रो सभ्यताको एउटा पाटो मेटिनु पनि हो ।
तर रैथाने बाली संरक्षणमा तगारा पनि उत्तिकै छन् । बहुराष्ट्रिय कम्पनीका चम्किला बिउ र धेरै फल्ने भ्रमले रैथाने बिउ तथा बाली विस्थापित हुँदै गएको छ । आधुनिक भण्डारगृहको अभावमा फापर र चिनोजस्ता बाली ओसले गर्दा चाँडै बिग्रिने समस्या छ । साथै, ब्राण्डिङ अभावमा किसानले उचित मूल्य पाउन सकेका छैनन् । रैथाने बाली चुटानी, कुटानी÷पिसानी गर्न बढी श्रम लाग्ने भएकाले युवापुस्ता यसतर्फ आकर्षित हुन सकेका छैनन् । परम्परागत ज्ञान हस्तान्तरण हुन नसक्नु अर्को दुःखद पक्ष हो । सरकारी बजेटको ठूलो हिस्सा अझै पनि आयातीत रासायनिक मल र हाइब्रिड बिउमा खर्च हुने गरेको छ । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले थोरै आनुवंशिक स्रोतको मात्र संरक्षण गर्न सक्नुले हाम्रो सरकारी प्राथमिकता कता छ भन्ने देखाउँछ ।
अबको प्रत्येक गाउँपालिकामा कम्तीमा एउटा सामुदायिक बिउ बैंकको स्थापना गरिनुपर्छ । किसान मेला र बिउ साटासाट कार्यक्रमलाई उत्सवका रूपमा मनाइनुपर्छ । सरकारले रैथाने बालीलाई न्यूनतम समर्थन मूल्यको दायरामा ल्याउनुपर्छ । सरकारी रासन, विद्यालयको दिवा खाजा र अस्पतालको पौष्टिक अहारमा अनिवार्य रूपमा रैथाने परिकार समावेश गर्ने नीति कडाइका साथ लागू गरिनुपर्छ । नेपाल कृषि अनुसन्धान परिषद्ले रैथाने जातहरूको उत्पादकत्व बढाउने अनुसन्धानलाई तीव्रता दिनुपर्छ ।
पालिका, प्रदेश र संघको सहकार्यमा खाद्य कम्पनीको सक्रिय भूमिका र सञ्जाल विस्तारको आवश्यकता अझै टड्कारो छ । विशेष गरी ब्राण्डिङ गरेर रैथाने उत्पादनको बजारीकरण गरी कृषकलाई उत्पादन लागत अनुसारको उच्च मूल्य दिनसक्नु र गुणस्तरीय बिउको संकलन र संरक्षणमा लाग्नु अपरिहार्य देखिन्छ । कोदोको चिप्स, फापरको बियर र मार्सी चामललाई प्रिमियम ब्राण्डका रूपमा विश्व बजारमा निर्यात गर्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारी गर्न सक्नुपर्छ ।
हामीले दैनिक उपभोग गर्ने आहारको स्रोत कृषि जैविक विविधता नै हो । कृषि जैविक विविधता खाद्य सुरक्षा तथा जीविकोपार्जनका लागि अपरिहार्य छ । जबसम्म आफ्नै माटोको बिउलाई संरक्षण र आफ्नै खेतको स्वादलाई जोगाउन सकिँदैन, तबसम्म समृद्ध नेपालको परिकल्पना अधुरो रहन्छ । किसानको पसिना, सरकारको नीति र समाजको सचेत उपभोक्ता तथा उपभोग संस्कृतिले मात्र यो अमूल्य सम्पदालाई जोगाउन सक्छ ।