काठमाडौं । चुनाव नजिकिँदै जाँदा निर्वाचन आयोगको व्यस्तता जति बढेको छ त्यो भन्दा अर्को छ राजनीतिक दलहरूको सक्रियता । फागुन २१ गतेका लागि घोषित निर्वाचनमा यसपटक मुख्य राजनीतिक दलहरू भावी प्रधानमन्त्री नै अघि सारेर मत माग्न जाने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टी प्रधानमन्त्रीको घोषणा गरेरै चुनावी अभियानमा जुटेका छन् । संसदीय प्रणालीमा सामान्यतया प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने चलन देखिँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अभ्यासमा भने उम्मेदवार घोषणा गर्ने गरिन्छ । तर, यसपटक नेपालमा धेरै पार्टीले आफ्नो बहुमत आए कसलाई प्रधानमन्त्री बनाउने घोषणा गरेका छन् ।
चुनावी मैदानमा यसटक गगन थापा, बालेन्द्र शाह, केपी शर्मा ओली, पुष्पकमल दाहाल र हर्क साम्पाङ चर्चामा छन् । नतिजासम्म चर्चामै नरहेकाले मौका नपाउला भन्न सकिँदैन । तर, यतिबेला क्षेत्रगतरुपमा उम्मेदवारको टुंगोको रस्सकस्सी छ ।
यसअघिको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले यसपटक भावी प्रधानमन्त्रीका रुपमा सभापति गगन थापालाई अघि सारेर चुनावी मैदानमा होमिने भएको छ । विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई भावी प्रधानमन्त्रीका रुपमा कांग्रेसले अघि सार्ने भएको छ । उपसभापति विश्वप्रकाश शर्माले अब कांग्रेसले पुरानो शैली बदलेर निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तोकेर जनतामा जाने बताए । ‘पार्टीभित्र र आम जनताको भावना गगन थापालाई नेतृत्वमा देख्ने छ । महासमितिबाट पारित दस्ताबेज र आम कार्यकर्ताको चाहना बमोजिम हामी गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेर चुनावमा जान्छौँ । यसले देशलाई स्पष्ट राजनीतिक मार्गचित्र दिनेछ,’ शर्माले भने ।
उसो त काठमाडौं क्षेत्र नं ४ बाट तीनपटक निर्वाचित भइसकेका थापा आगामी चुनावमा पनि सोही क्षेत्रबाट उम्मेदवार बन्नेछन् । उनले आफ्नो पुरानो क्षेत्र नछाड्ने बताइसकेका छन् । तर, उनी निकट स्रोतका अनुसार परिस्थिति हेरेर अरु कुनै क्षेत्र थापाले रोज्न सक्ने सम्भावना भने बाँकी नै छ । थापाले सांसद हुँदा नै प्रधानमन्त्रीका लागि तयारी गरेका थिए । उनको सचिवालयले ‘मिसन प्रधानमन्त्री’ को तयारी गर्दै आएको थियो ।
कांग्रेसमा संसदीय दलको नेता नै अवसर आउँदा प्रधानमन्त्री हुने प्रचलन छ । त्यसैले थापा ०७९ को निर्वाचनपछि पार्टीभित्र तत्कालिन सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थिए । तर, उनी दलको नेतामा पराजित भएपछि उनको प्रधानमन्त्री सपना अघि बढ्न सकेको थिएन । अहिले थापालाई पार्टीले प्रधानमन्त्रीका रुपमा अघि सार्ने अवस्था बनेको छ ।
उसो त, कांग्रेसका लागि भावी प्रधानमन्त्रीको घोषणा पहिलोपटक भने होइन । ०५६ सालको निर्वाचनमा पनि कांग्रेसले तत्कालीन समयका बेदागी नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको थियो । भट्टराई पर्साबाट निर्वाचित भएर प्रधानमन्त्री बने पनि पछि पार्टीभित्रैबाट षडयन्त्र गरी उनलाई हटाइएको थियो ।
त्यस्तै, अर्को पार्टी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको सचिवालयले झापा–५ बाट ओलीलाई उम्मेदवार तय गर्दै भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । ओलीले यसअघि पनि सोही क्षेत्रबाट फराकिलो मतान्तरले चुनाव जितेका थिए । एमाले सचिव महेश बस्नेतले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय पार्टीले गरेको बताए । ‘नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्नेछ । एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा लैजान्छ,’ उनले भने ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह(बालेन) लाई अघि सार्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र जित्दै मेयर बनेका शाह पुस दोस्रो साता रास्वपामा प्रवेश गर्दा नै यस्तो सहमति भएको हो । प्रतिनिधि सभा निर्वाचनका लागि तयारी गरेका शाहले आइतबार मेयर पदबाट राजीनामा दिए, अनि रास्वपाको पार्टी कार्यालय पुगेर घण्टी बजाए । सा“झ उनी जनकपुर पुगिसकेका छन् । केपी ओलीलाई उनकै क्षेत्र झापा–५ मा चुनौती दिने शाहको तयारी छ । रास्वपामा त्यस्तो तयारी पूर्वघोषित नै थियो ।
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीकै क्षेत्रमा उनलाई पराजित गर्ने र प्रधानमन्त्री बन्ने महत्वाकांक्षी घोषणासहित बालेन पार्टी राजनीतिमा सक्रिय भएका हुन् ।
कतिपयले एमाले अध्यक्ष ओलीसँगको प्रतिस्पर्धा सहज नहुने दाबी गरिरहँदा रास्वपा नेताहरू भने बालेनको पक्षमा माहोल बन्ने विश्वासमा छन् । ०७९ को चुनावमा रास्वपाले झापा ५ मा ११ हजार ७५९ मत ल्याएको थियो । ओलीले ५२ हजार ३ सय १९ मत ल्याएका थिए । शाहको टिमले दमकमा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ । युवा र असन्तुष्ट मतलाई एकीकृत गर्ने र शहरी मतदाता आकर्षित गर्दै चुनावमा जित निकाल्ने रणनीतिमा रास्वपा लागेको छ ।
त्यस्तै, श्रम संस्कृति पार्टीले अध्यक्ष हर्क साम्पाङलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी खोलेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निकै अघिदेखि तयारी गरेका हुन् । यसका लागि उनले आइतबार मेयर पदबाट राजीनामा दिएका छन् । पार्टी स्थापनापछि विशेषगरी पूर्वी नेपालमा सभाहरू गरिसकेका उनले काठमाडौंसहित देशका अन्य केही स्थानमा पनि कार्यक्रम गरिसकेका छन् । साम्पाङ स्वयंले फागुन २१ को चुनावपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरिररहेका छन् ।
‘प्रधानमन्त्रीका लागि एउटा पार्टीको सभापति र अध्यक्ष हुनुपर्छ । आफैं प्रधानमन्त्री बन्नका लागि नै वास्तवमा पार्टी खोल्नुपर्छ र चुनावी अभियानमा दौडिनुपर्छ । ऊसँग भिजन हुनुपर्छ,’ उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टी मैले किन खोलेको त ? अरूलाई प्रधानमन्त्री बनाउनलाई त होइन । अरूसँग गठबन्धन गरौंला, एक साता सँगै बसेर मन नमिले छुट्टै बसौंला भन्नका लागि त होइन । त्यसैले अब ‘म प्रधानमन्त्री बन्नैपर्छ’ भनेर हिँडेको छु। जनताले मलाई प्रधानमन्त्री बनाउनैपर्छ भनेर भन्नुको कारण पनि त्यही हो । म प्रधानमन्त्री बने भनें यो देशमा कामै काम मात्रै हुन्छ ।’
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि भावी प्रधानमन्त्रीकै रुपमा आफूलाई प्रस्तुत गरिररहेका छन् । डेढ दर्जनभन्दा बढी बाम घटकहरू जोडेर नयाँ पार्टी बनाएपछि उनी उत्साही देखिन्छन् । दाहाल माओवादी आन्दोलनको केन्द्रका रुपमा रहेको रुकुमपूर्वबाट चुनाव लड्ने तयारीमा छन् । उनको पार्टीका एक नेताका अनुसार चितवनमा छोरी रेणुलाई उठाउने तयारी रहेकाले प्रचण्डले पूर्वी रुकुम रोजेका हुन् । जेनजी विद्रोहपछि तुलनात्मक रुपमा अन्य दललाई पछि पार्नेगरी प्रचण्डले सभा र पार्टीका भेलाहरू गरेका छन् । एमालेका असन्तुष्टलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् । थुप्रै बाम घटक भेला पार्दा ‘माओवादी’ नाम नै फेर्न पनि पछि परेका छैनन् । प्रधानमन्त्रीका रुपमा दाबी गर्नेमध्ये कांग्रेसका थापा, एमालेका ओली र रास्वपाका बालेनलाई बलियो दाबेदारका रुपमा हेरिएको छ । ओली र बालेन एउटै चुनाव क्षेत्रमा लड्ने करिब–करिब पक्का देखिएको छ । साँच्चै उनीहरू झापा–५ मै प्रतिस्पर्धामा उत्रिए भने चुनावको नतिजा आएसँगै बालेन वा ओलीमध्ये एक जना शुरुमै प्रधानमन्त्रीको दौडबाट बाहिरिनेछन् । साम्पाङको जनाधार कोशी प्रदेशमा मात्र देखिएकाले उनलाई प्रधानमन्त्रीको बलियो दाबेदारका रुपमा हेरिएको छैन ।
राजनीतिक विश्लेषक डम्बर खतिवडा भावी प्रधानमन्त्रीको चर्चाले क्षेत्रगत उम्मेदवारको चर्चा र महत्व नदेखिएको टिप्पणी गर्छन् । संसदीय व्यवस्थामा संसद्को बहुमतबाट प्रधानमन्त्री चयन हुने व्यवस्था हुने भन्दै प्रधानमन्त्री नै घोषणा गर्ने हो भने यो व्यवस्था कसरी संसदीय भयो भन्ने उनको प्रश्न छ । ‘ओली, गगन, प्रचण्ड, बालेन, कुलमान, हर्क ‘भावी प्रधानमन्त्री’ को लस्कर छ । निर्वाचन क्षेत्र गत उम्मेदवारको न चर्चा छ न महत्व । यो प्रणाली कसरी संसदीय रह्यो अब ?,’ उनले भनेका छन्, ‘संसदीय व्यवस्था नै व्यवहारतः परिवर्तित भइसक्यो, सिधै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा किन नजाने ? डुप्लिकेट र डमी अभ्यास गर्नु भन्दा सक्कली नै उचित हैन र ?’
भावी प्रधानमन्त्री घोषणा गरेर जाँदा पार्टीको पक्षमा मत बढाउन सकिने आकलन दलहरूको छ । उनीहरूको यो आकलनले काम गर्छ वा प्रत्युत्पादक साबित हुन्छ ? चासोका साथ हेरिएको छ ।