काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार दलहरूले पनि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन् ।
यसअघि निर्वाचन आयोगले माघ २ गते सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसकेको छ । आयोगले उम्मेदवारी दर्ता गर्दा आवश्यक कागजातसहित आउन अपिलसमेत गरेको छ ।
निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम तपसिल बमोजिमका कागजात पेस गर्नुपर्ने व्यवस्था गरेको छ:
१. उम्मेदवारको नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि ।
२. स्थानीय तहको मतदाता नामावलीमा आफ्नो नाम भएको निस्सा ।
३. सरकारी तलब सुविधा पाउने जागिर भए छाडेको प्रमाणपत्र ।
४. उम्मेदवार हुनेले आफ्नो निर्वाचन प्रतिनिधि तोकी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम ।
५. प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचीमा नाम समावेश भएका एक/एक प्रस्तावक र समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयन पत्र ।
६. दलका उम्मेदवार भए मनोनयन दर्ता गराउन औपचारिक पत्र । एकल चुनाव चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र ।
७. १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर । तर महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ (विपन्नका हकमा सम्बद्ध स्थानीय तहको पत्र) ।
८. उम्मेदवार हुनेले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिमको स्वघोषणा पत्र ।
९. आफ्नो सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सबै विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण ।
१०. प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची–१० बमोजिम भरिएको वैयक्तिक विवरण फाराम ।
११. आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्र्याैट भएको व्यहोराको निस्सा ।
१२. लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानी साथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फछ्र्यौट गरेको निस्सा ।
१३. निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–३ बमोजिमको प्रतिबद्धता पत्र ।