नेभिगेशन
राजनीति

राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभातर्फ नेताहरू

पालैपालो बयान लिँदै जाँदा आयोगले स्थानहद फुकुवा गर्दै गएको हो, आयोगले ओलीको बयान लिएसँगै बन्देज फुकुवा गरेको छ

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन राष्ट्रिय सभाका तीन सदस्यले पदबाट राजीनामा दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेताद्वय वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेले आइतबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका हुन् ।

संसद् प्रवक्ता एकराम गिरीका अनुसार उनीहरूको कार्यकाल आगामी फागुन २० गते सकिँदै थियो । पार्टी निर्णयअनुसार गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपाने तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा छन् । राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएपछि न्यौपानेले सामाजिक सञ्जालमार्फत राष्ट्रिय सभामा आफ्नो योगदानप्रति सन्तुष्टि व्यक्त गर्दै बिदा लिएको उल्लेख गरेकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो सरकारमा न्यौपाने मन्त्री पनि भएकी थिइन ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाबीच अदल– बदल गर्दै उम्मेदवार बन्ने प्रवृत्ति नयाँ भने होइन । कांग्रेसका कृष्ण सिटौला प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि राष्ट्रिय सभामा पुगेका नेता हुन् । पार्टीले उनलाई सम्मानित ठाउँ दिन राष्ट्रिय सभामा ल्याएको हो । हाल उनी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता छन् । यस्तै लोसपाका ८३ वर्षीय महन्थ ठाकुर पनि प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभातर्फ लागेका छन् । उनको दल निर्वाचनको संघारमा जसपा नेपालसँग एकीकृत भएको छ ।

संविधान र कानुनले राष्ट्रिय सभा वा प्रतिनिधिसभामा उम्मेदवार बन्न रोक नलगाए पनि यसले संवैधानिक नैतिकताको प्रश्न उठाउने गरेको छ । वामदेव गौतम पराजित भएपछि राष्ट्रिय सभा सदस्य र मन्त्री बनेको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । तत्कालीन संवैधानिक इजलासमा बहुमतले रोक नलगाउने फैसला गरे पनि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले पराजित व्यक्तिलाई मनोनयन गर्नु संवैधानिक नैतिकताको उल्लंघन हुने फरक मत राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्