नेभिगेशन
विश्व

अन्तरिक्ष शक्ति बन्ने बाटोमा चीन

जब चीनका निजी अन्तरिक्ष कम्पनीहरूले गति लिनेछन्, यसले आर्थिक लाभ मात्र होइन, सैन्य लाभ पनि ल्याउन सक्छ । सञ्चार सेवादेखि लिएर नचाहिने उपग्रहहरू हटाउनेसम्मका प्रविधिहरूको सैन्य प्रयोग हुन सक्छ ।

बेइजिङ । करिब एक दशकअघि सी जिनपिङले चीनलाई ‘अन्तरिक्ष शक्ति’ बनाउने सपना देखेको बताएका थिए । त्यसयता, चीनले मंगल ग्रहमा रोभर उतारेको छ र पृथ्वीको परिक्रमा गरिरहेका दुईवटा सञ्चालित अन्तरिक्ष स्टेशनहरूमध्ये एउटा निर्माण गरेको छ । अब चीनको निजी अन्तरिक्ष उद्योगले अझ ठूलो प्रभाव पार्ने लक्ष्य राखेको छ ।

चिनियाँ कम्पनीहरूले आफ्नो इतिहासमा पहिलो पटक रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गर्न सक्छन् । भनाइको अर्थ, अन्तरिक्षमा पुगेको रकेट पृथ्वीमा झरिसकेपछि पनि त्यसलाई पुनः उडाउन मिल्ने विधि चिनियाँ निजी कम्पनीहरूले पत्ता लगाइसकेका छन् । यस्ता पुनः उडाउन मिल्ने रकेटले प्रक्षेपण लागत घटाउनका महत्त्वपूर्ण भूमिका खेल्छन् । यसले अवसरहरूको नयाँ ढोका खोल्नेछ । यसैबीच, नयाँ निजी प्रक्षेपण स्थलहरू बनाइँदैछन् । नयाँ उपग्रह कारखानाहरूले उत्पादन बढाउनेछन् र नयाँ सरकारी विभागले यस उद्योगमा थप सरकारी स्रोतहरू लगानी गर्नेछ ।

चीनका अन्तरिक्ष कम्पनीहरू अझै पनि विदेशी प्रतिद्वन्द्वीहरूभन्दा पछि छन् । चिनियाँ क्षेत्रका छ सय कम्पनीहरूमध्ये कुनै पनि कम्पनी अमेरिकाको स्पेस एक्सजस्तो विशाल छैन । केही उद्यमीहरू त्यो उचाइमा पुग्ने आशामा अघि भने बढिरेहेकै छन् । तीमध्ये ल्याण्डस्पेसका संस्थापक पूर्व लगानीकर्ता झाङ चाङवु र स्पेस पायोनियरका संस्थापक इञ्जिनियर काङ योङलाई प्रमुख छन् । सन् २०२५ मा चीनले करिब एक सय वटा कक्षीय प्रक्षेपणहरू गरिसकेको छ तर तीमध्ये निजी कम्पनीहरूको हिस्सा १६ वटा मात्र थियो । उता अमेरिकाले १८० प्रक्षेपणहरू गरेको थियो, तीमध्ये स्पेस एक्सले १६० भन्दा बढी सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

ताराहरूमा नजर

विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्र विगत दशकमा तीन सय अर्ब डलरबाट बढेर करिब छ सय अर्ब डलर पुगेको छ र २०३५ सम्ममा फेरि तीन गुणा हुने अनुमान छ । यसमा पनि अमेरिकाकै वर्चस्व छ । यद्यपि, चीनको व्यावसायिक अन्तरिक्ष उद्योगसँग अन्य उच्च–प्रविधि क्षेत्रहरूजस्तै फाइदाहरू छन् । चीनसँग धेरै इञ्जिनियरहरू छन्, महत्त्वाकांक्षी उद्यमीहरू छन् र यसलाई रणनीतिक आवश्यकता ठान्ने सहयोगी सरकार पनि छ । त्यसैले, चीनले अमेरिकासँग कहिले बराबरी गर्ला भन्ने कुरा मात्र समयको पर्खाइ मात्र हो ।

ठूला महत्वाकांक्षाहरूका बाबजुद, चीनका लगभग सबै प्रक्षेपणहरू अझै पनि सरकारी स्वामित्वको ‘चीन एयरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेसन’ (सीएएससी) द्वारा निर्मित ‘लङ मार्च’ शृंखलाका रकेटहरूमा निर्भर छन् । यी भरपर्दा रकेटहरू हुन्, तर सीएएससीको अधिकांश क्षमता चीनको नागरिक र सैन्य अन्तरिक्ष कार्यक्रमहरूको आवश्यकता पूरा गर्नमै खर्च हुन्छ । सरकारी निकाय भएकाले यसले जोखिम मोल्न चाहँदैन र लागत घटाउने प्रोत्साहन पनि कम छ । चिनियाँ अन्तरिक्ष केन्द्रबाट एक किलो सामान ‘तल्लो पृथ्वी कक्ष’ (लोअर अर्थ अर्बिट – एलइओ) मा पुर्‍याउन ग्राहकले औसत ६० हजार युआन (करिब ८ हजार ६ सय डलर) तिर्नुपर्छ ।

यसको तुलनामा, स्पेस एक्सको स्ट् याण्डर्ड रकेट फाल्कन ९ ले सोही सामान करिब एक तिहाइ मूल्यमा पुर्‍याउन सक्छ । यो ठूलो छ र यसको बुस्टर प्रयोगपछि पुनः प्राप्त गर्न, इन्धन भर्न र फेरि उडाउन सकिन्छ । स्पेस एक्सले सन् २०१७ मै यस्ता रकेटहरूमा कुशलता हासिल गरिसकेको छ र अहिले स्टारशिप नामक विशाल नयाँ सवारीको परीक्षण गरिरहेको छ ।

परिवर्तनको लहर

अहिले भने चीनको अन्तरिक्ष उडानको परिस्थिति बदलिँदैछ । डिसेम्बरमा सीएएससी र ल्याण्डस्पेस दुवैले पुनः प्रयोग गर्न मिल्ने (रियुजेबल) रकेटहरू (क्रमशः लङ–मार्च १२ए र जुके–३) परीक्षण प्रक्षेपण गरिएका छन् । दुवै अवस्थामा बुस्टर खण्ड पुनः प्राप्त गर्नुअघि विस्फोट भयो तर दोस्रो खण्ड सफलतापूर्वक कक्षमा पुग्यो । सन् २०२६ मा स्पेस पायोनियरले आफ्नो पुनः प्रयोगयोग्य ‘तियानलोङ–३’ को परीक्षण गर्ने अपेक्षा गरिएको छ । बेइजिङस्थित आर्कटेक कम्पनीका प्रमुख प्रविधि अधिकृत जियाङ लुये भन्छन्, ‘रकेट बनाउनु अझै पनि धेरै जटिल काम हो ।’

सस्तो र पुनः प्रयोगयोग्य रकेटहरूले चीनको अन्तरिक्ष क्षमतालाई ठूलो मात्रामा बढाउने छन् । चिनियाँ फर्महरूले लोअर अर्थ अर्बिट (एलईओ) मा उपग्रहहरूको ठूलो सञ्जाल (कन्स्टेलेसनहरू) छिटो निर्माण गर्न सक्नेछन् । विश्वव्यापी इन्टरनेट कभरेजका लागि यस्ता ‘मेगा–कन्सटेलेसन’ आवश्यक हुन्छन् । चीनका दुईवटा योजनाहरू पाइपलाइनमा छन्ः १३ हजार उपग्रहहरू भएको ‘गुओवाङ’ र १५ हजार उपग्रहरू भएको थाउजेण्ड सेल्स’ । हाल दुवै कम्पनीसँग करिब १००–१०० उपग्रह मात्र छन् । उता मस्कको स्टारलिंकसँग नौ हजारभन्दा बढी छन् ।

यी सबै उपग्रह सेवाहरूका लागि उपभोक्ताहरू खोज्नु चुनौतीपूर्ण हुन सक्छ । स्टारलिंकका विश्वभर ८० लाख ग्राहक छन् । तीमध्ये एक तिहाइ अमेरिकामै छन् । तर चीनका लागि यो जटिल छ । देशका अधिकांश भागमा पहिले नै सस्तो र छिटो गतिको इन्टरनेट छ । पश्चिमा देशहरू चिनियाँ प्लेटफर्मबाट इन्टरनेट लिन डराउँछन् भने विकासोन्मुख देशका ग्राहकहरूका लागि यो सेवा महँगो हुन सक्छ ।

भविष्यको बाटो

चुनौतीका बाबजुद, माग भने बढिरहेका संकेतहरू देखिएका छन् । डिसेम्बरमा युरोपेली विमान निर्माता एयरबसले उडानका क्रममा इन्टरनेट उपलब्ध गराउन चीनको ‘थाउजेण्ड सेल्स’सँग सम्झौता गरेको छ । अटो क्षेत्रको दिग्गज गिली कम्पनीले आफ्ना कारहरूलाई दिशानिर्देश गर्न मद्दत पुर्‍याउन उपग्रहहरू प्रक्षेपण गर्दैछ । हुवावे र साओमीजस्ता प्रविधि कम्पनीहरूले आफ्ना स्मार्टफोनमा स्याटेलाइट कल सुविधा समावेश गर्न थालेका छन् ।

चीनले आफ्ना फर्महरू अन्तरिक्ष पर्यटन र अन्तरिक्षमा आधारित बायो– म्यानुफ्याक्चरिङजस्ता क्षेत्रमा पनि प्रवेश गरून् भन्ने चाहन्छ । चिनियाँ सरकारले निजी व्यवसायहरूलाई सरकारी योजनाहरूमा अझ प्रभावकारीरूपमा एकीकृत गर्न चाहेको छ । नोभेम्बरमा चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले व्यावसायिक अन्तरिक्ष हेर्न नयाँ विभाग स्थापना गरिसकेको छ । जब चीनका निजी अन्तरिक्ष कम्पनीहरूले गति लिनेछन्, यसले आर्थिक लाभ मात्र होइन, सैन्य लाभ पनि ल्याउन सक्छ । सञ्चार सेवादेखि लिएर नचाहिने उपग्रहहरू हटाउनेसम्मका प्रविधिहरूको सैन्य प्रयोग हुन सक्छ । वासिङ्टनस्थित थिंक–ट्यांक ’कार्नेगी इन्डोमेन्ट फर इन्टरनेशनल पीस’ का स्टिभन फेल्डस्टेनका अनुसार, कुनै दिन चिनियाँ स्याटेलाइट इन्टरनेट प्रदायकले चीनको सशस्त्र बललाई ताइवानमाथि आक्रमणको समन्वय गर्न समेत मद्दत पुर्‍याउन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्