नेभिगेशन
विश्व

आन्दोलनमा हजारौं मारिएको इरानको स्वीकारोक्ति

खामेनीले ट्रम्पलाई ‘अपराधी’ भनेपछि ट्रम्पले खामेनीलाई ‘बिरामी व्यक्ति’ भन्दै इरानमा नयाँ नेतृत्वको आह्वान गरका छन् ।

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले देशमा दुई हप्ताभन्दा बढी समय चलेको अशान्तिका क्रममा हजारौँ इरानी मारिएको शनिबार स्वीकारेका छन्। यस्तो हुनुमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोषी रहेको बताएका छन् । उनका अनुसार ट्रम्पले आन्दोलनकारीहरूलाई अमेरिकी ‘सैन्य सहयोग’को आश्वासन दिँदै ‘खुल्लमखुल्ला उक्साएका’ थिए ।

राष्ट्रका नाममा गरिएको सम्बोधनमा खामेनीले ट्रम्पलाई ‘अपराधी’ करार गर्दै डिसेम्बरको अन्त्यतिर सुरु भएको सरकारविरोधी आन्दोलनका क्रममा भएको ‘जनधनको क्षति र मृत्यु दुवैका लागि जिम्मेवार’ ठहर गरे ।

८६ वर्षीय खामेनीले आन्दोलन दबाउन इरानका सुरक्षा निकायले अपनाएका कठोर उपायबारे भने कुनै उल्लेख गरेनन् तर प्रत्यक्षदर्शी तथा मानवअधिकार समूहले सरकारी सुरक्षाकर्मीहरूले आन्दोलनकारीमाथि गोली चलाएको बताएका छन् । अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी’ (राना) का अनुसार आन्दोलनका क्रममा तीन हजारभन्दा बढी सर्वसाधारण मारिएका छन् । सीएनएनले भने सो आँकडाको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

पछिल्ला दिनहरूमा तेहरानबाट निहत्था मानिसहरूको ठूलो भीड सडकमा निस्कँदा सरकारी सुरक्षाकर्मीले घरका छतबाट गोली चलाइरहेका थिए र सडकमाथि सैनिक ड्रोन उडिरहेका थिए ।

‘उनीहरू लेजरले निशाना लगाएर मानिसहरूको अनुहारमै गोली हानिरहेका थिए,’ सुरक्षाका कारण नाम नखुलाउने सर्तमा एक प्रत्यक्षदर्शीले भने, ‘उनीहरूले नरसंहार गरे... हाम्रा सबैभन्दा सुन्दर, सबैभन्दा साहसी हाम्रा बालबालिकालाई समेत छाडेनन् ।’

शनिबारको टेलिभिजन सम्बोधनमा खामेनीले अशान्तिमा संलग्न ‘दङ्गाकारी’ दुई वर्गमा पर्ने बताए—अमेरिका र इजरायलले आर्थिक सहयोग गरेका तालिम प्राप्त समूह र तिनबाट प्रभावित युवा । पछिल्लालाई उनले ‘मुख्य योजनाकारहरूले चलाएका अनुभवहीन व्यक्ति’ भनेका छन् । ती युवाहरूले विद्युत् उद्योगका संरचना, मस्जिद, शैक्षिक संस्था, बैंक, स्वास्थ्य संस्था र किराना पसलहरूमा तोडफोड गरेका थिए ।

इरानी सरकारले यो आन्दोलनमा सरिक हुनेलाई ‘विदेशी’ एजेन्ट भन्ने गरेको छ । ‘जनतालाई क्षति पुर्‍याएर उनीहरूले हजारौँ मानिस मारे,’ खामेनीले भने, ‘केहीलाई अमानवीय र पूर्ण रूपमा क्रूर बल प्रयोग गरेर मारियो... यी कामको षड्यन्त्र पहिल्यै तयार गरिएको थियो ।’

आन्दोलन दबाउनका लागि इरानी सरकारका स्वयंसेवीहरू पछि सडकमा उत्रिएका थिए । यसअघि इरानी विदेशमन्त्री अब्बास अराघचीले ‘हजारौँ’ मृत्यु भएको भन्ने दाबी अस्वीकार गर्दै फक्स न्यूजका ब्रेट बेयरलाई मृतक संख्या सयौँमा रहेको र त्यसबाहेकका दाबी ‘भ्रामक सूचना अभियान’को हिस्सा भएको बताएका थिए ।

शनिबारको सम्बोधनमा भने खामेनीले ‘अमेरिकालाई जवाफदेही बनाइनुपर्छ’ भन्दै अशान्तिका क्रममा ट्रम्पले आन्दोलनकारीलाई प्रदर्शन जारी राख्न र देशका संस्थाहरू ‘कब्जा गर्न’ प्रोत्साहित गर्दै ‘सहयोग आउँदैछ’ भनी आश्वासन दिएकोमा कडा शब्दमा निन्दा गरेका थिए ।

‘हामी अमेरिकी राष्ट्रपतिलाई आन्दोलनका क्रममा भएका मृत्यु र क्षतिको मात्र होइन, इरानी राष्ट्रविरुद्ध गरिएको बदनामीका सन्दर्भमा पनि दोषी करार गर्छौं,’ खामेनीले आफ्नो वेबसाइटमा प्रकाशित भाषण अंशको अनुवादमा लेखिएको छ । उता अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिँदै इरानमा नयाँ नेतृत्वको आह्वान गरे र खामेनीलाई ‘बिरामी व्यक्ति’ भन्दै ‘देश ठीकसँग चलाउन र मानिस मार्न बन्द गर्न’ आग्रह गरे । शनिबार बिहान पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले खामेनी ‘देशका नेता भएकै हैसियतमा देशको पूर्ण विनाश र पहिले कहिल्यै नदेखिएको स्तरको हिंसाका दोषी’ भएको बताए ।

‘देशलाई चलायमान राख्न नेतृत्वले युएसएमा मैले गरेझैँ देश ठीकसँग चलाउनमा ध्यान दिनुपर्छ, नियन्त्रण कायम राख्न हजारौँ मानिस मार्नमा होइन,’ ट्रम्पले भने । खामेनीले भाषणमा इरानको आर्थिक अवस्था ‘वास्तवमै कठिन’ भएको स्वीकार गर्दै ‘इस्लामिक प्रणाली र प्रिय इरानको रक्षा’का लागि एकताबद्ध हुन आह्वान गरे । उनले आवश्यक वस्तु, पशुखाद्य तथा अन्य अत्यावश्यक सामग्री आपूर्तिमा सरकारी निकायलाई प्रयास दोब्बर गर्न निर्देशन दिए । सोमबार देशभर भएका सरकारसमर्थक र्‍यालीहरू उद्धृत गर्दै खामेनीले शनिबार आन्दोलन ‘निस्तेज भइसकेको’ दाबी गरे ।

इन्टरनेटको अवस्था

सुरक्षा निकायको हिंसात्मक दमनबीच इरानी सरकारले जनवरी ८ मा इन्टरनेट सेवा बन्द गरेको थियो । तर शनिबार बिहान साइबर सुरक्षा निगरानी संस्था नेटब्लक्सका अनुसार कनेक्टिभिटीमा ‘थोरै वृद्धि’ देखिएको छ ।

‘कुल कनेक्टिभिटी सामान्य स्तरको करिब २ प्रतिशतमै सीमित छ र उल्लेख्य रूपमा फर्किएको संकेत छैन,’ नेटब्लक्सले एक्समा लेखेको छ ।

इरानको अर्ध–सरकारी समाचार एजेन्सी मेहरले शनिबार ‘केही ग्राहक’का लागि इन्टरनेट पुनःस्थापना भएको जनाउँदै ‘आतङ्कवादी अशान्ति’का कारण र ‘देश तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न’ इन्टरनेट बन्द गरिएको दाबी गरेको छ । तेहरानका एक बासिन्दाले सीएनएनलाई शनिबार केही अन्तर्राष्ट्रिय ल्यान्डलाइन कल र स्थानीय एसएमएस सेवा पनि पुनःचल्न थालेको बताए । इन्टरनेट सेवा भने अझै अनियमित रहेको उनले जनाए ।

आन्दोलनकारीहरूको भविष्य

शनिबारको सम्बोधनमा खामेनीले ‘दङ्गा’मा सहभागी भएकाहरूलाई परिणाम भोग्नुपर्ने चेतावनी दिए तर सजाय के हुनेछ भन्ने खुलाएनन् ।

‘हामी देशलाई युद्धतर्फ लैजाँदैनौँ, तर देशभित्रकै अपराधी र अझ महत्वपूर्ण अन्तर्राष्ट्रिय अपराधीलाई छोड्दैनौँ,’ उनले भने, ‘यो विषय हाम्रो आफ्नै तरिका र सही दृष्टिकोणबाट अघि बढाइनेछ ।’

राना एजेन्सीका अनुसार २४ हजारभन्दा बढी आन्दोलनकारी पक्राउ परेका छन् । सीएनएनले यो आँकडा पनि स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । तर तेहरानका अभियोजकले गत साता केही आन्दोलनकारीलाई मृत्युदण्ड हुन सक्ने बताएपछि उनीहरूको भविष्यप्रति चिन्ता बढेको तस्निम समाचार एजेन्सीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्