नेभिगेशन
दृष्टिकोण

अनुहार नयाँ, चुनौती ठूलाे

माओले भनेका थिए, युवाहरू यो देश तिमीहरूको हो, यो देश हाम्रो पनि हो । तर, अन्तिममा यो देश तिमीहरूको नै हो । माओको यो भनाइले युवाहरू सधैं वर्तमान भइरहन्छन् भन्ने बुझाउँछ । आजको वर्तमान युग परिवर्तनको वेगले भरिएको छ । प्रत्येक मानिसमा नवीन परिवर्तनको हुटहुटी छ । समाज, राजनीति, अर्थतन्त्र र प्रविधिले संसारमा प्रत्येक दिन नयाँ रूप धारण गरिरहेको छ । हामीले त्यो पनि त्यो रूपलाई बुझ्नुपर्दछ । समयको वेगलाई नबुझी पुरानै ढंग र ढर्राबाट काम गर्‍यो भने परिवर्तन सम्भव हुँदैन ।

नेपालकै कुरा गर्दा पनि यतिबेला देशले ठूलो राजनीतिक परिवर्तन खोजिरहेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई पनि त्यही परिवर्तनको हुटहुटीका रूपमा लिन सकिन्छ । नेपालमा युवाहरूले राजनीतिक परिवर्तन खोजिरहेका छन् । आजको परिवर्तनशील परिस्थितिमा नेतृत्वको फेरिँदो स्वरूप स्वीकार्न युवाहरू लालायित छन् । त्यो स्वरूप बदल्न सक्ने साहस युवाबाट मात्रै सम्भव छ । त्यसमा पनि नेपाली जनताले नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर तथा रास्वपा वरिष्ठ नेता बालेन शाहभित्र परिवर्तनको झिल्को खोजिरहेका छन् ।

नेपाली कांग्रेसमा भएको विशेष महाधिवेशनको विद्रोह पनि जेनजी आन्दोलनपछि सिर्जित अवस्था हो । कांग्रेसमा पनि गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत नेताहरूले समयको वेगसँगै आफूलाई प्रवाहित गर्न खोजेको देखिन्छ । कांग्रेसका पुराना नेता सभापति शेरबहादुर देउवा कित्तामा उभिँदा युवा नेताहरूले विशेष महाधिवेशन गरेर नेतृत्व लिएका छन् । यसले युवामा हुने ऊर्जा, उत्साह, नवसोच र क्रियाशीलताको मिश्रणलाई प्रमाणित गरिदिएको छ । युवाको यस्तै ऊर्जाबाट निस्कने नेतृत्वले नै राष्ट्रलाई सकारात्मक दिशातर्फ लैजान सक्दछ । त्यसैले वर्तमानमा युवा नेतृत्व नेपालका लागि अपरिहार्य बन्न पुगेको छ ।

युवा नेता हुन उमेरले जवान भएर मात्र पुग्दैन, बहुगुणी पनि हुनुपर्दछ । युवा नेतामा समस्या देख्ने दृष्टि, समाधान खोज्ने क्षमता र समाजलाई अगाडि बढाउन सक्ने इच्छाशक्ति हुनुपर्दछ । सकारात्मक सोचले पोख्त हुनुपर्छ । नैतिकताको कसी, ज्ञानको भण्डार, अनुशासन र जिम्मेवारी बोध भएको युवा नेताले मात्रै देश र जनभावनाअनुसार काम गर्न सक्छ । सफल युवा नेता हुन जोश र सोचको सन्तुलत मिलाउन सक्नुपर्दछ । तथ्य, विश्लेषण र जनभावनाको संयोजनलाई नियाल्दै समयसापेक्ष निर्णय गर्न सक्ने क्षमता भएको युवा नेतृत्व वर्तमान समयको माग हो ।

बालेनकै चर्चा गर्दा काठमाडौं महानगरपालिकामा उनको सक्रियता सराहनीय छ । उनको सक्रियताले युवापुस्ता उनीप्रति आशावादी बन्न थालेको हो । उनको लोकप्रियता युवामा रहेको परिवर्तनको अभिष्टसँग जोडिएको छ । रविले रास्वपा गठन गर्दादेखि नै उनीमा पनि नागरिकले परिवर्तनको सपना देख्न थालेका छन् ।

पछिल्ला केही दशक नेपाली राजनीतिमा स्थिरता, सुशासन र पारदर्शिताको अभाव खड्किएको छ । यसले जनतामा निराशा सिर्जना गरिदिएको छ । शिक्षा, रोजगारी, विकास, पूर्वाधार निर्माण, सामाजिक उत्तरदायीत्व, स्थिरता र सामाजिक सेवासहितका मुद्दामा युवा सन्तुष्ट हुन सकिरहेका छैनन् । रोजगारीका लागि विदेशिनेको लाम त्रिभुवन विमानस्थलमा दिनहुँ लामै हुनेगर्छ । यही निराशा चिर्न नेपाली जनताले वैकल्पिक नेतृत्वको खोजी गरिरहेका छन् । र, त्यो विकल्पका रूपमा उनीहरूले रवि, बालेन, गगन, विश्वप्रकाश, योगेश भट्टराईजस्ता युवा नेताहरूमा देखिरहेका छन् ।

पुराना दलको राजनीतिक सोच र युवाहरूको सोचबीचको खाडल निकै ठूलो रहेको छ । त्यो पुर्न युवा नेतृत्व नै आवश्यक हुन्छ । पुराना नेताहरूबीचको आपसी आरोपप्रत्यारोप, कार्यान्वयनको ढिलासुस्ती, नातावाद र भ्रष्टाचारजस्ता समस्याप्रति पनि युवाहरूमा ठूलो आक्रोश छ । यस्तो स्थितिमा युवापुस्ताले नवीन ऊर्जा, आधुनिक सोच र व्यावहारिक नेतृत्वको खोजी गर्नुलाई स्वाभाविकरूपमा लिनुपर्दछ । पछिल्ला राजनीतिक घटनाक्रमलाई परम्परागत राजनीतिक ढाँचा भत्काउने आशाका रूपमा हेरिएको छ । राजनीतिमा उदाइरहेका नयाँ अनुहारमा सुन्दर भविष्यको आकृति खोज्न थालिएको छ । तर, त्यो आकृतिलाई पुष्टि गर्न नयाँ अनुहारले थुप्रै चुनौतीको सामना भने गर्नुपर्ने छ । सबैभन्दा पहिले त उनीहरूले आशाको स्थायित्व जगाउन आफूलाई प्रमाणित गर्नुपर्ने छ ।

युवा नेताको भूमिका बहुआयामिक हुन्छ भन्नेमा उनीहरू सचेत हुनुपर्दछ । आफूलाई प्रमाणित गर्न युवा नेताहरूले परम्परागत सोच, कुसंस्कार, भेदभाव र असमानताविरुद्ध युवा नेताहरूले अग्रमोर्चामा उभिएर काम गर्नुपर्छ । यस्तो गर्नसके युवा नेताहरू आधुनिक नीतिनिर्माणका वाहक बन्न सक्छन् । प्रविधि, डिजिटल अर्थतन्त्र, उद्यमशीलता, वातावरण संरक्षण, शिक्षा सुधार, स्वास्थ्य पहुँचजस्ता विषयमा उनीहरूले नवीन र व्यावहारिक काम गरेर आफूलाई पुष्टि गर्न सक्नुपर्दछ । युवा नेता जनतासँग भाग्ने वा दूरी बनाउने होइन नजिक हुन सक्नुपर्छ ।

सामाजिक सञ्जाल, भौतिक सम्पर्क, छलफल, स्वयंसेवा तथा सामुदायिक अभियानमार्फत उनीहरूले आफूलाई जनतासँग जोड्नुपर्छ । जनताको आवाज छिटो सुन्ने र बुझ्ने क्षमताको विकास गर्दै समस्या समाधानका लागि एक्सन प्लानमा जानुपर्छ । नेतृत्व भनेको पद वा शक्ति मात्र होइन, व्यवहार र मूल्यको संयोजन हो भन्ने सन्देश युवा नेताले दिन सक्नुपर्छ । त्यसका लागि उनीहरूले दृढ संकल्प, निरन्तर अध्ययन, जनसम्पर्क र नैतिकतामा अडिग भई अघि बढ्न छाड्नुहुँदैन । समाजलाई नयाँ दिशामा अग्रसर गराउने शक्ति युवा नेतृत्वमै निहित छ । तर, उनीहरू पनि भ्रष्टाचार, नातावाद, कृपावाद तथा गुटबन्दीमा रमाए भने धेरै लामो भविष्य रहने छैन । जनता नयाँको नयाँ विकल्पबारे सोच्न बाध्य हुने छन् । त्यसतर्फ पनि नवीन सोच भएका युवाहरू सचेत हुनुपर्छ ।

(लेखक सेती प्रादेशिक अस्पतालका पूर्वव्यवस्थापन समिति सदस्य तथा युवा नेता हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्