डिजिटल पत्रकारिताको एउटा विशेषता के हो भने यसले प्रत्यक्ष समय (रियल टाइम) मा पाठकको अवस्था हेर्न सकिने सुविधा दिन्छ । डिजिटल मिडियामा उमेर, शैक्षिक योग्यतादेखि भूगोलसमेत समेट्दै ग्राहकको व्यक्तिगत विवरणसहितका तथ्यांक उपलब्ध हुन्छन् र कस्ता सामग्रीमा मानिसको रुचि छ तथा कस्तामा छैन भन्ने जानकारी पनि पाउन सकिन्छ । अनलाइन साइटमा ‘धेरैले पढेको’ वा ‘लोकप्रिय’ सूचीले पाठकको रुचि पहिल्याउने सघाउँछ । थोरैले पढेका सामग्री पनि लोकप्रियताको सूचीमा चढ्न थाल्यो भने त्यसले अनलाइनका भिजिटर हराउँदै छन् भन्ने संकेत गर्छ । यस्तो परिस्थिति आउँदा कसरी पत्रकारितालाई अगाडि बढाउने भन्ने चिन्ता बढ्छ । दर्शक–स्रोता एकातिर सामग्री अर्कातिर हुँदा प्रश्न त उठ्छ नै ।
यो प्रश्न समकालीन पत्रकारितामाथिको गम्भीर चिन्तन पनि हो । यस सन्दर्भमा नेपालको रेडियो विश्वमै उदाहरणीय रहेको प्राध्यापक पी खरेलका धारणा मननयोग्य छन् । उनको धारणा के छ भने बेलायतलेसमेत निजी क्षेत्रलाई रेडियोमा दिन नसकेको स्वतन्त्रता नेपालमा उपलब्ध छ । प्रसारणका दृष्टिकोणले रेडियोमा नेपालको उदारता उदाहरणीय नै हो । तर यतिखेर रेडियोमा समाचार सुनिरहेको वा बजिरहेको भेटिन गाह्रो पर्दै गएको छ । मोबाइल फोनमा एफएम रेडियो समेटिएर उत्पादन हुन थालेपछि बाँकी ‘वेभ’ खोजेर सुन्नेहरू घट्न थाले । इन्टरनेटको व्यापकता बढेपछि रेडियो सेटको अस्तित्व ओरालो यात्रामा छ । के रेडियो पत्रकारिता समाप्त भएको हो त ? प्रश्न मुखर बनेको छ ।
तर, यथार्थ के हो भने श्रव्य पत्रकारिता समाप्त भएको होइन बरु त्यसले माध्यम फेरेको हो । कसरी भने रेडियोका श्रोतालाई अहिले इन्टरनेटमा आधारित पडकाष्टले आकर्षित गरेको छ । प्रयोगकर्ता सक्रिय हुनसक्ने श्रव्य माध्यमका रूपमा पडकाष्ट एप आएपछि एनलग वा डिजिटलमै आधारित रेडियो सेटले बजार गुमाउँदै गएका हुन् । रेडियोजस्तै टेलिभिजनका दर्शक मोबाइल एपमै सन्तुष्ट भइरहेका छन् । अखबारका पाना अनलाइनका अक्षरमा समेटिएका छन् । अनलाइनका सामग्री बहुविकल्पसहितका सामाजिक सञ्जालमा आइरहेका छन् । पाठकले माध्यम फेरिसक्दा समाचार कक्षले आफूलाई यथास्थितिमै राख्यो भने यात्रा ओरालोकै हुने हो । त्यसैले पाठक भएका ठाउँमा पत्रकारिता पुग्न आवश्यक छ ।
पाठक सोसल मिडियामा छन् वा भविष्यमा अरू कुनै माध्यमतिर पुग्छन् भने त्यस्तो अवस्थामा पत्रकारिताले माध्यम फेर्नुको विकल्प हुँदैन । तत्कालका लागि समाचारमा आधारित माध्यमले सोसल मिडियालाई पछ्याउनुको विकल्प छैन । बलियो ब्राण्ड सोसल मिडियाबाट सञ्चारित हुन्छ भने त्यसले व्यक्तिगतरूपमा सामग्री उत्पादन गर्नेले भन्दा बढी विश्वसनीयता हासिल गर्छ नै । पत्रकारिताको ‘धर्म’लाई यथावत् राखेर पाठक जुन माध्यममा छन् त्यहीँ पुग्ने प्रयास समाचार कक्षले गर्नुपर्छ । स्थापित सञ्चार गृहहरूले सोसल मिडियामा जाने र सामग्री उत्पादन गर्ने हो भने त्यसले ‘कोर्स करेक्सन’ गर्न समय लाग्दैन । समकालीन परिस्थितिले यस्तै संकेत गरेको छ । साथै डिजिटल मिडियाका सन्दर्भमा अर्को प्रश्न पनि उठ्न सक्छ– सामग्री राम्रो बनाउँदा पाठक बढ्छन् कि बढ्दैनन् ? माध्यम फेर्ने वा विषयवस्तुमाथि लगानी बढाउने ?
विषयवस्तुमाथि लगानी बढाउँदा ‘पढ्नैपर्ने वा हेर्नैपर्ने’ सामग्री तयार पार्न सकिन्छ । तर यसरी तयार पारिएका सामग्रीलाई परम्परागत माध्यममा मात्रै सीमित नभई नयाँ माध्यममार्फत प्रवर्धन नगर्ने हो भने पाठकले थाहै नपाउने अवस्था आइसकेको छ । त्यसैले पनि डिजिटल पत्रकारिताका उत्पादन र वितरण दुवैमा प्रवर्धनका नवीनतम प्रयोग गरिन आवश्यक छ । धेरैभन्दा धेरै सामग्री उत्पादन गर्ने होडबाजीले न गुणस्तरीय उत्पादन प्रवर्धन गर्छ न पाठकलाई नै अड्याइराख्न सक्छ । त्यसैले समयानुकूल सामग्री उत्पादन र त्यसको पहुँचलाई सक्दो विस्तार गर्न सबै खाले उपाय अवलम्बन गर्नु उपयुक्त हुन्छ ।
अन्तिम अभिष्ट पैसा
मिडियाको राजनीतिक अर्थशास्त्रका सबै दृष्टिकोणले मिडिया उद्योग विश्लेषणका महत्त्वपूर्ण विषयवस्तु मानिन्छ । यसभित्र समेटिएको बजारको संरचना, स्वामित्वको ढाँचा, मुख्य लगानीकर्ताको रणनीति, कम्पनीको विकास लक्ष्य र अन्य यस्ता पक्षहरू यसमा समेटिन्छन् । यसले मिडिया उद्योगको संरचना, त्यसको सञ्चालन र समाजमा पार्ने प्रभाव बुझ्न यिनै विषयको अध्ययन अनिवार्य बनाउँछ । इन्टरनेटले सञ्चार साम्राज्य कायम गर्न सुरु गर्दा नै रोवर्ट डब्लू म्याक चेस्नीले नयाँ युगप्रति कटाक्ष गर्दै लेखेका थिए, ‘अहिलेको युगलाई सूचनाको युग भनिन्छ जसमा अर्थतन्त्र र संस्कृतिसँग सञ्चार गहिरो गरी जोडिएको छ । यहाँ केही विशाल मिडिया कम्पनीको उदय भएको छ जो १५ वर्षअघिका सबैभन्दा ठूला मिडिया कम्पनीभन्दा दश गुणा ठूला भइसकेका छन् । र, तिनको विश्वव्यापी साम्राज्य बनेको छ । तिनले समाचार र मनोरञ्जनसँग सम्बन्धित उत्पादनबाट ठूलो सम्पत्ति कमाएका छन् ।’ एक दुई पुस्ताअघि त यस्तो परिवर्तन अकल्पनीय नै थियो ।
डिजिटल युगमा मिडियाको राजनीतिक अर्थशास्त्र बुझ्न लगानीकर्ता, डेटा प्रविधि, विज्ञापन, विश्वव्यापीकरण, एल्गोरिदम, श्रम, नियमन र सामाजिक प्रभावलाई विश्लेषण गर्नुपर्छ । अहिले डिजिटल मिडियाको स्वामित्व केही ठूला कर्पोरेटमा केन्द्रित छ भन्ने म्याक चेस्नीको भनाइ गम्भीर छ । त्यस्ता केन्द्रले डेटा संकलन र विज्ञापनको माध्यमबाट मिडियाका सामग्री र प्रवाह नियन्त्रणमा राख्छन् । विश्वव्यापीकरणले स्थानीय मिडियाको औचित्य कमजोर बनाइदिएको छ भने एल्गोरिदमले प्रयोगकर्तामाथि सोझै नियन्त्रण कायम गरेको छ, थाहै नदिई उसकै सामग्रीका आधारमा उसैलाई घेराबन्दी गरिएको छ । मिथ्या सूचना र प्रोपागान्डा फैलाउने माध्यमका रूपमा दुरुपयोग पनि भइरहेको छ । एआईको आगमनपछि समाचार कक्षमा रहेका धेरैले रोजगारीका अवसरबाट वञ्चित पनि हुन परेको छ । अन्य मुलुकमा जस्तै नेपालमा पनि निजी क्षेत्रका समाचार माध्यम आर्थिक दबाबका सामु घुँडा टेकिरहेको देखिएको छ । निजी क्षेत्रको विज्ञापनले बजार निर्देशित गरिरहेको छ । सरकारी लगानीका माध्यमलाई हेर्ने हो भने पनि दृश्य उस्तै देखिन्छ; फरक के भने तिनलाई घुँडा टेकाउने काम सत्तामा रहेकाले गराइरहेका हुन्छन् । सरकारमा दल परिवर्तन भएसँगै सरकारी माध्यमका समाचारले उल्टो गति लिन थाल्छ । एकै दिनमा सम्पादकीय नीति उथलपुथल हुन्छ ।
निजी क्षेत्रलाई हेर्ने हो भने पत्रकारिता आफैंमा व्यापारको हिस्सा भइसकेको छ । अमेरिकी निर्वाचनमा लिगेसी मिडिया (परम्परागत माध्यम)ले खुलेर राजनीतिक पक्षधरता देखाउँछन् । सन् २००३ मा होस् या सन् २००८ मा नै किन नहोस्, कार उत्पादक टोयटा कम्पनी संकटमा पुग्दा संसारमा सबैभन्दा धेरै वितरण हुने जापानी अखबारले त्यस विषयमा समाचार नै दिएन । अर्कातिर अमेरिकी मिडियाले भने खोजी–खोजी समाचार दिए । आफ्नो मुलुकको व्यापारमा प्रभाव विस्तार गर्ने अभिष्टका साथ यसो गरिएको थियो । तीतो यथार्थ यही हो कि कर्पोरेट स्वार्थले कुनै पनि माध्यम भन्दैन– नयाँ न पुरानो ।
विरासत फर्काउने अपेक्षा
मूलधार मिडिया पहिले आफैंबीच प्रतिस्पर्धा गर्थे तर अब छापा, टिभी र रेडियो पनि इन्टरनेटमार्फत उपभोक्ताको खोजीमा पुगेका छन् । ‘पाठक र विज्ञापनका लागि छापाको प्रतिस्पर्धा अब फेसबुकसँग छ । टिभीले आम्दानीका लागि टिकटकसँग भिड्नुपर्छ’ भन्ने कुन्द दीक्षितको तर्क मननयोग्य छ । ‘डेटलाइन पृथ्वी’ का लेखक दीक्षितको यो टिप्पणीले परम्परागत माध्यमको आर्थिक स्वास्थ्य प्रतिकूल रहेको दखाउँछ । तर लिगेसी मिडिया (परम्परागत मिडिया) प्रतिको जनविश्वास नि ?
सन् २०२५ को सुरुवातमा सेयरकास्ट इनिसियटिभको सर्वेक्षणले केही आशा जगाएको छ । आमसञ्चारका माध्यमले विश्वास र साख गुमाइरहेको चर्चा भइरहँदा सो सर्वेक्षणले भने नागरिकको विश्वास अन्य नयाँ माध्यमभन्दा परम्परागत सञ्चार माध्यमप्रति अधिक रहेको देखाएको थियो । रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन प्रतिको पाठकको विश्वास जाँच्न सोधिएको प्रश्नमा ५७.५ प्रतिशतले विश्वास बढेको बताएका थिए । १२.५ प्रतिशतले भने रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन प्रतिको पाठकको विश्वास घटेको बताएका थिए ।
मेयर र हिञ्चम्यानले भनेझैं सक्रिय राजनीतिक पब्लिक स्पेयर (सार्वजनिक मञ्च) बिना लोकतन्त्र सम्भव छैन, जसले हरेक व्यक्तिलाई निर्धक्करूपमा निर्णय गर्न र काम गर्न सक्षम बनाउँछ । नागरिकहरू भेला भएर साझा चासोका विषयमा छलफल र बहस गर्दै जनमत निर्माणमा सहयोगी वातावरण बनाउने राजनीतिक पर्यावरण लोकतन्त्रका लागि अपरिहार्य नै छ, जसले लोकतन्त्रका आकांक्षा परिपूर्ति गर्न आम सहभागिता तथा राजनीतिक प्रवाहमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसको लागि एउटा मञ्च उपलब्ध गराउने सोसल मिडियामाथि नेपालमा पर्याप्त अनुसन्धान भएकै छैन । केही सीमित अनुसन्धानले यसको तीव्र विस्तार देखाएको छ । यसखाले विस्तारले समाजको लोकतान्त्रिकीकरणमा मात्र नगरी कतिपय विषयमा निषेधात्मक वातावरणको मलजल गरिरहेको पाइन्छ ।
सार्वजनिक सुनुवाइका रूपमा सोसल मिडियाको उपस्थिति जति महत्त्वपूर्ण छ, यसबाट हुनसक्ने मिथ्या प्रचार र प्रोपागान्डाको खतरा पनि उत्तिकै छ । सोसल मिडियाको डेटा सार्वजनिक पहुँचमा उपलब्ध हुने हो भने त्यसले पनि परिस्थिति मूल्यांकन गर्न सघाउँछ । घृणायुक्त अभिव्यक्ति नियन्त्रण गर्न; मिथ्या सूचना र डिजिटल चलखेलजस्ता गतिविधिबारे समाजमा साक्षरता बढाउन यस्ता डेटाको उपयोग हुनसक्छ । जसले लोकतन्त्रको सबलीकरणमा समेत योगदान दिन्छ । सोसल मिडियाले लोकतन्त्रलाई पारदर्शी बनाउन भूमिका खेल्न सक्छ । मूलधारका मिडियालाई यसले झकझक्याउन सक्छ । सञ्जालमा आएका सामग्रीको फ्याक्ट चेकिङ ‘लिगेसी मिडिया’ (परम्परागत माध्यम) ले गर्ने र लिगेसी मिडियाका सामग्रीको सार्वजनिक सुनुवाइ सोसल मिडियामा हुने हो भने त्यसले लोकतन्त्रलाई सघाउँछ । सोसल मिडियाबाट फैलिन सक्ने मिथ्या सामग्रीमा मूलधारका माध्यमले निगरानी गर्ने हो भने त्यसले सन्तुलन कायम गराउँछ । यस सन्दर्भमा सोसल मिडियाबाट हुने राजनीतिक विज्ञापनलाई भने नजरअन्दाज गर्न हुँदैन, किनभने एकातिर यस्ता मिडियाले लोकतन्त्रलाई उन्नत बनाउन सघाएको हुन्छ भने अर्कोतिर ध्रुवीकरणतिर पनि लैजाने जोखिम रहन्छ । राजनीतिक र सामाजिक ध्रुवीकरणले सामाजिक सद् भाव बिथोलिन बेर लाग्दैन ।
लेखक आमसञ्चार तथा पत्रकारिता विभाग, त्रिविका उपप्राध्यापक हुन्।