काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरू आफ्ना लागि सुरक्षित स्थान खोज्दै निर्वाचनमा होमिएका छन् । फागुन २१ को निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुने भएपछि उनीहरू सोमबार आफ्नो क्षेत्रमा पुगेका छन् । केही शीर्ष नेताले पुरानै क्षेत्रमा उम्मेदवारी दिने तयारी गर्दा केहीले भने नयाँ क्षेत्र खोजेका छन् ।
राजनीतिक दलहरूले सोमबार रातीसम्म धेरै स्थानमा उम्मेदवार टुंगाइसकेका छन् । मंगलबार मनोनयन दर्ताको समय विहान १० बजेभन्दा अघिसम्म नाम टुंग्याइसक्ने उनीहरूको तयारी छ ।
शीर्ष नेताहरूले भने आफ्नो क्षेत्र सुरक्षित गरिसकेका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वबाट उम्मेदवार हुने भएका छन् । मनोनयन दर्ताका लागि उनी सोमबार नै रुकुमपूर्व पुगेका छन् । हरेक निर्वाचनमा क्षेत्र बदल्दै आएका उनले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन् ।
‘जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ । म एक्लै आएको होइन, यहाँका विपक्षी दलहरूले समेत विकासका लागि मलाई रुकुमपूर्व आउन अनुरोध गर्नुभयो,’ उनले भनेका छन् । प्रचण्डले कार्यकर्ताको मायाले आएको बताए पनि खासमा उनी चुनाव जित्ने क्षेत्र खोज्दै जाँदा रुकुमपूर्व जाने अवस्थामा पुगेका हुन् ।
०७९ को चुनावमा बाबुराम भट्टराईले सहजीकरण गरिदिँदा दाहाल गोरखा–२ बाट विजयी भएका थिए । तर, यसपटक भट्टराईसँग सम्बन्ध बिग्रिएपछि उनले गोरखाको विकल्प खोजेका हुन् । प्रचण्ड हरेक निर्वाचनमा नयाँ नयाँ क्षेत्र खोज्ने एक्ला शीर्ष नेता हुन् । उनले यसअघि काठमाडौं–१०, सिरहा र गोरखाबाट चुनाव लडेका छन् । काठमाडौं–१० मा एक पटक पराजित भए पनि अरु क्षेत्रमा उनी निर्वाचित भएका थिए ।
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ भए पनि उनले यसपालि सर्लाही–३ बाट चुनाव लड्न लागेका हुन् । श्रेष्ठ २०७४ को चुनावमा गोरखा–२ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । ०७९ मा उनले उक्त क्षेत्र प्रचण्डका लागि छाडेका थिए । नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट चुनाव लड्ने भएका छन् । उनले ०७९ को चुनावमा यही क्षेत्रमा जितेका थिए । अछाम–१ मा नेकपाले पूर्वउपप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री भीम रावललाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार बन्ने भएका छन् । उक्त क्षेत्रमा ओलीले लगातार चुनाव जित्दै आएका छन् । आफ्नो गढ मानिने क्षेत्रमा मनोनयन दर्ताका लागि ओली सोमबार झापा पुगिसकेका छन् ।
झापा–५ मा यसपटक चुनावी प्रतिस्पर्धा रोचक हुने ठानिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ओलीलाई चुनौती दिने भएका छन् । पार्टी कार्यक्रममा सोमबार धनुषामा सभा गरेका शाहले जनकपुरमै पार्टी अध्यक्ष रवि लामिछानेबाट झापा–५ को टिकट लिइसकेका छन् ।
एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ र महासचिव शंकर पोखरेल दाङ–२ बाट उमेदवार बन्ने भएका छन् । पूर्ववरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल काठमाडौं–५ मा उमेदवार बन्ने भएका छन् । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि सोही क्षेत्रमा उम्मेदवार बन्ने भएका छन् । ०७९ मा ताप्लेजुङबाट निर्वाचित एमाले सचिव योगेश भट्टराईले यसपटक भने टिकट पाएनन् । उनले टिकट वितरणमा पार्टी अध्यक्षको तरिकाप्रति आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसमा भने उम्मेदवारको छनोटमा ढिलाइ भएको छ । सभापति गगन थापा काठमाडौं–४ बाट तीन पटक निर्वाचित भइसकेका छन् । फागुन २१ को चुनाव पनि उनी सोही क्षेत्रमा लड्ने बताइएको छ । तर, सोमबार अबेर रातीसम्म उनको क्षेत्रमा के हुने भन्ने पार्टीमा टुंगो भइसकेको छैन ।
उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुषाल भने फागुन २१ को चुनावमा उम्मेदवार नबन्ने भएका छन् । शर्मा ०७९ मा झापा–१ बाट निर्वाचित भएका थिए । उनी नउठ्ने भएपछि पार्टीको क्षेत्रीय समितिले सिफारिसका नाम फेरेको छ ।
कांग्रेसका पूर्वउपसभापति विजय गच्छदारले सुनसरी–३ र नेता ज्ञानेन्द्र कार्कीले पनि सुनसरी–४ बाट टिकट पाएका छन् । कञ्चनपुर–२ बाट एनपी साउद र नुवाकोट–१ बाट पार्टीका पूर्वप्रवक्ता प्रकाशशरण महत उम्मेदवार हुने भएका छन् ।
कांग्रेसको संसदीय बोर्ड बैठकले पाँच जना सहमहामन्त्रीलाई टिकट दिएको छ । सहमहामन्त्री फरमुल्लाह मन्सुरले बारा–३, मुक्ताकुमारी यादव धनुषा–१, कर्ण बुढा डोल्पा, उदय शमशेर राणा ललितपुर–१ र प्रकाश रसाइली स्नेहीले बझाङबाट चुनाव लड्ने भएका छन् । सहमहामन्त्री योगेन्द्र चौधरी दाङ–१ बाट उम्मेदवार हुनेछन् भने डिला संग्रौला पन्तको उम्मेदवारी टुंगो लाग्न बाँकी छ ।
पूर्वसभापति शेरबहादुर देउवाले अन्तिम पटक डडेलधुराबाट चुनाव लड्ने इच्छा राखेको बताइए पनि सोमबार अबेरसम्म नाम नटुंगिएको कांग्रेसका एक पदाधिकारीले बताए ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव उठ्ने भएका छन् । यसअघि अब चुनाव नलड्ने घोषणा गरेका उनी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार हुन लागेका हुन् । भट्टराई २०६४ र २०७४ सालमा उक्त क्षेत्रबाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचन भने उनी गोरखा–१ बाट विजयी भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन–२ बाट चुनाव लड्ने भएका छन् भने उपसभापति डोलप्रसाद अर्याल काठमाडौं–९ र स्वर्णीम वाग्ले तनहुँ–१ बाट लड्ने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा–३ बाट उम्मेदवार हुने भएका छन् । लिङ्देन यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । राप्रपा नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा उम्मेदवार हुनेछन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार हुने भएका छन् । २०७९ मा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग पराजित उनी २०८० वैशाखमा रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाइएपछि उनको क्षेत्र बारा–२ मा भएको उपनिर्वाचनमा विजयी भएका थिए । यसपटक उनले सप्तरी–२ मा राउतसँग प्रतिष्पर्धा गर्नुभन्दा सुरक्षित क्षेत्र खोजेका हुन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट चुनाव लड्ने भएका छन् ।