जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गरेका छन् । रास्वपाद्वारा सोमबार जनकपुरधाममा आयोजित परिर्वतन उद्घोषसभामा उनले आफ्नो पार्टीलाई बहुमतले विजयी गराई मधेस र देशको सेवा गर्ने अवसर दिन अपिल गरेका हुन् ।
आफूहरूलाई प्रतिनिधिसभामा विजयी गराएमा देशले ठूलो उपलब्धि हासिल गर्ने दाबी उनले गरे । आफ्नो पार्टीको सरकार बनेमा नागरिकले आफ्नो अधिकार आफ्नै प्रदेशमा पाउन थप बलियो आधार बन्ने धारणा शाहले राखे । उनले आइतबारमात्रै काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा गरेर रास्वपाको मुख्यालय पुगी घण्टी बजाएका थिए । झापा पुगेर एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निर्वाचन क्षेत्रमा उम्मेदवारीको चुनौती दिने योजना उनको छ ।

सभामा पार्टी अध्यक्ष रवि लामिछानेसँगै सेतो कुर्ता–सुरुवाल र कालो इस्टकोटमा मञ्चमा आएका शाहले सभालाई मैथिलीमा सम्बोधन गर्दै अधिकार माग्नका लागि काठमाडौं जानैपर्ने बाध्यता हट्नुपर्ने बताए ।
‘म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस् । काठमाडौं महानगर प्रमुख हुँदा गरेका राम्रा कामबारे यहाँहरूले थाहा पाउनुभएको नै छ । प्रतिनिधिसभामा हाम्रो पार्टीलाई निर्वाचित गरेमा मधेसमा पनि काम गर्ने छु यो मेरो प्रतिज्ञा हो,’ उनले भने । मधेस प्रदेश राजधानी जनकपुर ऐतिहासिक तथा धार्मिकस्थल भए पनि यहाँको विकास नदेखेर आफू अत्यन्त चिन्तित तथा दुःखी भएको शाहले बताए । ‘यो ऐतिहासिक भूमि हो, तर सरसफाइको अभावमा जनकपुर प्रदूषित हुँदै गएको छ । पर्याप्त विकास नहुँदा पर्यटकलाई कठिन भइरहेको छ,’ उनले भने, ‘म र मेरो पार्टीले जितेमा यहाँको विकासका साथै प्रदेशका जनताले आफ्नो अधिकारका लागि काठमाडौं जाने बाध्यात्मक परिस्थितिलाई हटाउन लाग्ने छु। हाम्रो सरकार बनेमा प्रदेशलाई अझै बलियो, सशक्त तथा प्रभावकारी बनाउन लाग्ने छौं ।’
आफू मधेसकै बासिन्दा भएकाले यहाँको विकासका लागि सम्पूर्ण ध्यान लगाउने प्रतिबद्धता उनले जनाए । उनीअघि सभामा पार्टी सभापति लामछिानेले देशमा विद्यमान समस्या समाधानका लागि आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गरेका थिए । देशको विकास गर्ने संकल्पसहित आफ्नो पार्टी अगाडि बढेको भन्दै लामिछानेले सबैको सहयोग तथा सद्भाव आवश्यक रहेको बताए । आफ्नो पार्टी परिर्वतनको वाहक भएको जिकिर गर्दै उनले त्यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतका साथ विजयी गराउन अपिल गरे ।
‘हामी देश विकासको संकल्पसहित अगाडि आएका छौं । आउँदो निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत ल्याए त्यो पूरा गर्न सहज हुनेछ,’ उनले भने । आफूविरुद्ध विगतका सरकारले धेरै मुद्दा तथा आरोप लगाएको भन्दै देश तथा जनताको मुद्दा बोकेको मानिसलाई अन्य मुद्दासँग मतलब नभएको धारणा उनले राखे ।
देशको हितलाई केन्द्रमा राखेका कारण आफू र बालेन एकठाउँमा आएको उनको भनाइ थियो । सभापति लामिछानेले आफू बालेन साहसँगको सहकार्यले निकै उत्साहित भएको भन्दै सबैलाई साथ दिन अपिल गरे । सभामा पूर्वसांसद अमरेशकुमार सिंह, मधेस प्रदेशसभाका निवर्तमान सदस्य रहवर अन्सारी लगायतलाई रास्वापामा स्वागत गरिएको थियो ।