चितवन – किसानको साथीको उपमा पाएको वन्यजन्तु सालकको संरक्षणमा हालसम्मका उपलब्धीमाथि विमर्श गर्दै आगामी दिनका कार्यक्रम तय गर्ने हेतुले साझा धारणा निर्माण गर्न सालक सम्मेलन गरिने भएको छ । माघ २६ गते चितवनको माढीमा हुने तय भएको सम्मेलनमा सालक अनुसन्धानकर्मी, अभियन्ता, संरक्षणकर्मीको सहभागिता रहनेछ । सम्मेलनले सालक संरक्षणका साझा प्रतिबद्धता जाहेर गर्दै श्वेतपत्र जारी गर्ने अपेक्षा गरिएको छ ।
वन्यजन्तु भन्नासाथ राष्ट्रिय निकुञ्जसँग मात्र सम्बन्धित ठानिन्छ । यद्यपि डिभिजन वन कार्यालयहरूले ठूलो क्षेत्र ओगोट्छ, जहाँ ठूलो संख्यामा साना प्राणीहरू रहेका हुन्छन् । साना वन्यजन्तुको संरक्षणमा डिभिजन वन कार्यालयहरू अग्रसर हुँदा संरक्षण सबल हुने भएकाले डिभिजन वन कार्यालयको प्रभावकारी समन्वयमा मार्गप्रशस्त हुने अपेक्षाले सम्मेलन गर्न लागिएको चितवन डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य बताउँछन् । ‘सालकलाई राष्ट्रिय निकुञ्ज संरक्षण ऐनले महत्त्वपूर्ण माने पनि महत्त्वको दृष्टिले खास ध्यान नपुगेको प्राणी हो सालक,’ आचार्य भन्छन्, ‘सालकको महत्त्वस्थापित गराउँदै साझा रणनीति र कार्यक्रम तथा समन्वयका लागि सम्मेलन फलदायी हुनेछ ।’
संसारमा सबैभन्दा बढी प्राणीको गैरकानूनी व्यापार हुने प्राणीमा सालक चौथो नम्बरमा छ । यस्तो अवस्थामा डिभिजन वन कार्यालयले उच्च प्राथमिकता दिने हो भने संरक्षणको क्षेत्रमा असाध्यै राम्रो आयाम स्थापित हुने नेपाल प्रकृति संरक्षण कोषका सदस्यसचिव तथा संरक्षणकर्मी डा. नेरस सुवेदी बताउँछन् ।
नेपालका ६१ जिल्लामा पाइने सालक बागमती प्रदेशको १३ वटै जिल्लामा पाइन्छ । बागमती प्रदेशले सालकलाई ‘प्रदेशको गौरव प्राणी’ घोषणा गरोस् भन्ने संरक्षण अभियन्ताहरूको मागलाई प्रदेश वन मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ । स्थानीय समुदायलाई संलग्न नगराई संरक्षण प्रभावकारी हुन नसक्ने हुँदा संरक्षण शिक्षालाई व्यापक बनाउन यस्ता सम्मेलन फलदायी हुने धारणा सालक संरक्षणमा लागेकी तुलसीलक्ष्मी सुवाल बताउँछिन् । ‘सालकले न मान्छे न त अन्य कुनै प्राणीलाई नै हानी गर्छ । न यसले हाम्रा भौतिक सम्पत्तिमा नै हानी पुर्याउँछ,’ सुवाल भन्छिन्, ‘तर अझै पनि पुरानो अन्धविश्वासको जरा राम्ररी नउखेलिएका कारण संरक्षणमा चुनौती विद्यमान् रहेको अवस्थामा यस्ता सम्मेलनले संरक्षण शिक्षा प्रभावकारी बनाउने आशा गर्न सकिन्छ ।’
एउटा वयस्क सालकले एक वर्षमा ७० लाख कमिला र धमिरा खान्छ । त्यसैगरी सालकले आफ्नो वासस्थान बनाउन प्वाल बनाउँदा माटो उर्वर हुन्छ । यसले बनाएको प्वाल सर्पलगायत अन्य सरीसृप प्राणीले पनि वासस्थानका रूपमा उपयोग गर्छन् । सालकलाई जोगाउँदा कतैबाट केही पनि नोक्सान छैन, बरु फाइदै–फाइदा मात्र छ । ‘यसले कमिला र धमिरा नखाइदिने हो भने तिनको नियन्त्रण गर्न मानवीय हस्तक्षेप गर्नुपर्ने हुन्थ्यो,’ सुवाल बताउँछिन् ।