नेभिगेशन
राजनीति

खरेल र गुप्ताले दिए राजीनामा

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका दुई मन्त्रीले सोमबार राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छाडेका हुन् ।

मन्त्री गुप्ताले प्रधानमन्त्री कार्कीलाई जानकारी गराएर राजीनामा इमेल गरेको बताएका छन् । ‘अब म चुनावमा होमिने तयारीमा छु,’ गुप्ताले भने । उनी गत कात्तिक ९ मा कार्की सरकारमा मन्त्री नियुक्त भएका थिए । उनले रास्वपाका तर्फबाट सिरहा–१ क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेका छन् । यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले पनि पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री कार्कीलाई राजनीनामा बुझाउँदै सरकारमा ल्याएर आफूलाई काम गर्ने अवसर दिएकोमा धन्यवाद दिए । कार्कीले उनलाई असोज पहिलो साता मन्त्रिपरिषद्मा ल्याएकी थिइन । राजीनामा गरेपछि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खरेलले सरकारमा रहँदा कलंक लाग्ने काम नगरेको बताएका छन् । ‘मन्त्री हुँदा चार महिनाभित्र ४० भन्दा बढी निर्णय कार्यान्वयन गरेको छु। मैले भ्रष्टाचार गरेको छैन र कुनै कलंक लाग्ने काम गरेको छैन,’ उनले भने । उनले ललितपुर–२ मा उम्मेदवार बन्ने तयारी गरेका छन् । पत्रकार सम्मेलनमा भने आफूले प्रतिनिधित्व गर्ने दलको नाम उनले उल्लेख गरेनन् ।

यसअघि सहरी विकास, भौतिक पूर्वाधार र ऊर्जासहितका तीन मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङले गत पुस २३ मा सरकार छाडेका थिए । मन्त्री पदबाट राजीनामा दिएर बाहिरिएका उनी उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेर चुनावी तयारी तीब्र पारेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्