नेभिगेशन
मनोरञ्जन

हराउँदै विरहका गीत

थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीमा गाउँ–गाउँमा मघौटा नृत्य प्रस्तुत गरिन्छ । त्यो बेला गुञ्जिनुपर्ने दिदी–बहिनीका विरह पोखिएका गीत भने विस्तारै हराउँदै जान थालेको यस पटकको माघीमा महसुस गरियो ।

परम्परागत रूपमा गाउँको नेतृत्व छनोट, विकास निर्माण र सामाजिक न्यायका विषय टुंग्याउन आयोजना गरिने देवानी बैठक सकिएपछि गाउँका घरमूली, युवा–युवती र बूढापाका एकै ठाउँमा भेला भई मघौटा नृत्य आयोजना गर्ने चलन छ । मघौटा गीतमा थारु समाजको मौखिक इतिहास र दिदी बहिनीको विरह लुकेको हुन्छ ।

‘मघौटा नृत्यमा विशेष गरी विवाहित दिदी– बहिनीका विरह गीतलाई मौलिक तरिकाले प्रस्तुत गर्ने गरिन्थ्यो,’ शुक्लाफाँटा नगरपालिका १० झलारीका थारु गीत तथा साहित्यका जानकार कालुराम डगौराले भने, ‘पहिलो प्राथमिकतामा ती विरहका गीतहरूनै हुन्थ्ये, माघीमा गाइने यी गीतमा माइती जान नपाएको पीडा, दाजुभाइको प्रतीक्षा र बुबाको आश मिसिएको हुन्थ्यो ।’

उनी भन्छन्, ‘मघौटा गीत थारु महिलाको मनको भाषा हो, माइतीप्रतिको माया, पीडा र प्रतीक्षा गीत बनेर छचल्किन्छ तर हाल माया प्रेमका गीतहरूलाई बढी प्राथमिकता दिइँदा पुराना विरही गीतहरू हराउँदै गएका छन् ।’ थारु समुदायका बूढापाकाहरूका अनुसार, माघीका बेला माईती जान व्यग्रप्रतीक्षामा रहेका दिदीबहिनीहरू माइतीबाट बोलाउने सन्देश नआएपछिको कुरा मघौटाको गीतमा मार्मिक ढंगले यसरी प्रस्तुत गर्ने गरिन्थ्यो ।

वितनै महिना पाखा, वितनै वर्ष दिन,

तब्बु नाही आबै नहि रे सन्देश सखिये हो ।

(कति महिना, कति वर्ष बिते, तर न कोही लिन आयो, न त कुनै सन्देश नै आयो)

मघौटा गीतसँग जोडिएको सगरा पोखरीको कथा थारु संस्कृतिको भावनात्मक पक्ष हो । माघीको बिहान छोरी माइतीको पोखरीमा नुहाउन जाँदा पानीघाटमा खसेको सिन्दुर देखेपछि माइतीले छोरी आएको थाहा पाउने र माघीको निम्ता दिने कुरालाई पनि गीतका माध्यमबाट व्यक्त गरिन्छ ।

बाबाके सगरा गैनु मुरिया लहाइ रे हाँ,

सिन्दुरा छुटल पानी घाट सखिये हो ।

कति बेला उज्यालो होला, माइती लिन आउलान् भनेर बाटो हेरिरहेकी छोरीको आँखाको पीडा अर्को गीतमा यसरी छल्किन्छ ।

वतिया हेरटी मोर नैना पिरानी रे हो,

तब्बु नाही आबै दादु मोरे लेहे सखिये हो ।

छिमेकीका दिदी–बहिनीलाई दाजुभाइ लिन आएपछि आफूलाई दाजुभाइ लिन नआएको, एक्लै रहेको पीडालाई गीतमार्फत यसरी व्यक्त गरिन्छ ।

परोसी घरके सखिये के दादु ले हे आवै रे हाँ,

चल जैही सखिया विचारी, रैजैम अकेली  सखिये हो ।

यी गीतहरू मनोरञ्जनभन्दा बढी विवाहित महिलाको सामाजिक अवस्था, एक्लोपन र माइतीप्रतिको आशको सामूहिक अभिव्यक्ति रहेको थारु संस्कृतिका जानकार गहनु चौधरी बताउँछन् ।

पछिल्लो समय मघौटा नृत्यमा माया–पिरती र प्रेमप्रधान आधुनिक गीतहरूको प्रभाव बढ्दै जाँदा दिदी– बहिनीका विरह गीतहरू क्रमशः ओझेलमा पार्दै गएकोमा उनले चिन्ता प्रकट गरे । ‘माया–पिरतीका गीत गाउनु गलत होइन,’ चौधरी भन्छन्, ‘तर विरहका गीत हराए भने मघौटाको आत्मा हराउँछ, ती हराउँदै गएका गीतहरूलाई जोगाउनु पनि त्यतिकै आवश्यक छ ।’

आधुनिक संगीतको प्रभाव, युवापुस्ताको रुचिमा आएको परिवर्तन र मौलिक गीतको अभिलेखीकरण नहुनु यसका प्रमुख कारण रहेको उनले उल्लेख गरे । उनका अनुसार मघौटा नृत्य र गीत थारु समुदायको सांस्कृतिक पहिचानसँगै महिला आवाजको सशक्त माध्यम पनि हो । ‘माघीमा माइती आउने आश, बुबाले लठ्ठी टेकेर भए पनि छोरी लिन आउने परम्परा र सामूहिक गीत–नृत्यले मघौटालाई सामाजिक महत्वलाई बढावा दिन्छ,’ उनले भने, ‘मघौटा गीत जोगाउन पुस्तान्तरण, अभिलेखीकरण र स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको छ ।’

विद्यालयस्तरमा थारु गीत–नृत्य समावेश गर्ने, सांस्कृतिक महोत्सव आयोजना गर्ने र मघौटा गीतको लिखित तथा अडियो, भिडियो अभिलेख तयार गर्नु अपरिहार्य रहेको उनको भनाइ छ । ‘माघीमा गुञ्जिने मघौटा नृत्य र दिदी–बहिनीका विरह गीत थारु समुदायको गौरव हुन्,’ अर्का थारु संस्कृतिका जानकार रामप्रसाद चौधरी भन्छन्, ‘यी गीत जोगिए मात्र थारु समाजको मौखिक इतिहास, महिला अनुभूति र सांस्कृतिक पहिचान सुरक्षित रहन सक्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्