नेभिगेशन
दृष्टिकोण

नेतृत्वको परीक्षामा गगन थापा

चुनौतीलाई अवसरमा बदल्न सके कांग्रेस मात्र होइन, नेपाली लोकतन्त्र नै सुदृढ हुनेछ । अब भाषण होइन, परिणाम देखाउने समय हो। यदि उपलब्धि देखिएन भने, पुरानो नेतृत्व मात्र होइन युवामाथि युवाको विश्वास नै गुम्ने जोखिम छ । हाम्रो पुस्ताको प्रतिनिधिका रूपमा गगन थापाबाट ठूलो अपेक्षा गरिएको छ । प्रश्न एउटै छ– इतिहासले दिएको यो अवसरलाई के उनले साहस, समावेशिता र परिणाममुखी नेतृत्वमार्फत सार्थक बनाउन सक्लान् ?

के गगन थापा ‘बोल्ने नेता’बाट ‘काम गर्ने नेता’मा रूपान्तरित हुन सक्लान् ? कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी बहसमा प्रवेश गर्न चाहन्नँ । किनभने यो विषय कानूनी प्रक्रियाबाट अघि बढीसकेको छ र असन्तुष्ट पक्षले यसलाई न्यायालयसम्म पुर्‍याइसकेका छन् । तर पनि निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरिसकेका गगन थापाको काँधमा भने अहिले ठूलो जिम्मेवारी आइपरेको छ । यो सामान्य अवस्थाको जिम्मेवारी भने होइन । यदि उनले आसन्न निर्वाचनमा पार्टीलाई सफलता दिलाउन सकेनन् भने, उनको लोकप्रियताको ग्राफ तीव्ररूपमा ओरालो लाग्ने लगभग निश्चित छ । अब उनका भाषण र व्यवहारबीचको सामञ्जस्यताले कांग्रेस र लोकतन्त्रप्रतिको जनविश्वास कति मजबुत बन्छ भन्ने तथ्यमा प्रत्यक्ष प्रभाव पार्नेछ । साथै, युवाशक्तिप्रतिको भरोसा र पुस्तान्तरणप्रतिको विश्वासको परिणाम कस्तो आउने हो भन्ने कुरा पनि धेरै हदसम्म गगन थापाको नेतृत्व र कार्यशैलीमै निर्भर रहनेछ ।

नेपाली कांग्रेसको नेतृत्व सम्हाल्नु कुनै सामान्य राजनीतिक जिम्मेवारी होइन । यो पदसँग केवल वर्तमान राजनीति मात्र होइन, सात दशकभन्दा लामो इतिहास, लोकतान्त्रिक संघर्ष, वैचारिक उत्तराधिकार र लाखौं कार्यकर्ता तथा समर्थकको अपेक्षा गाँसिएको हुन्छ । त्यसैले जब गगन थापा नेपाली कांग्रेसको सभापतिको भूमिकामा पुगेका छन्, यो घटनालाई केवल व्यक्तिको राजनीतिक सफलता भनेर सीमित गर्नु गलत हुनेछ । यो वास्तवमा नेपाली कांग्रेसभित्रको पुस्तान्तरण, नेतृत्व संस्कारको रूपान्तरण र समग्र नेपाली राजनीतिका लागि एउटा निर्णायक मोड हो । आजको केन्द्रीय प्रश्न यही हो कि के गगन थापा नेपाली कांग्रेसलाई सत्तामुखी राजनीतिबाट निकालेर पुनः जनमुखी, नीतिमुखी र परिणाममुखी दलका रूपमा रूपान्तरण गर्न सक्षम छन् ?

गगन थापाको उदयलाई धेरैले ‘नयाँ पुस्ताको जित’का रूपमा व्याख्या गरेका छन् । तर यहाँ गम्भीर प्रश्न उठ्छ कि के यो केवल उमेर र अनुहारको परिवर्तन हो, कि नेतृत्वको चरित्र, सोच र कार्यशैली नै बदल्ने ऐतिहासिक अवसर ? नेपाली कांग्रेस लामो समयदेखि गुटबन्दी, शक्ति सन्तुलन, आन्तरिक द्वन्द्व र निर्णयहीनताबाट ग्रस्त रहँदै आएको छ । धेरै अवसरहरू कांग्रेसकै नेतृत्व कमजोरीका कारण गुमेका उदाहरण इतिहासमा प्रशस्त छन् । अब सभापतिको कुर्सीमा पुगेपछि गगन थापाले पुरानै अभ्यासलाई निरन्तरता दिने कि संगठनलाई नयाँ ढाँचामा पुनर्संरचना गर्ने भन्ने प्रश्न अत्यन्त निर्णायक छ । समाजमा स्पष्ट छ, आज कांग्रेसलाई भावनात्मक भाषण होइन, स्पष्ट दृष्टि, संस्थागत सुधार र मापनयोग्य परिणाम चाहिएको छ ।

महामन्त्रीकालको कमजोरीको पाठ

गगन थापाको राजनीतिक यात्रामा महामन्त्रीकाल एउटा महत्त्वपूर्ण अध्याय हो । यो समय उनी पार्टी संगठनभित्र निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न थिए । तर यस अवधिमा सबै कुरा अपेक्षाअनुसार अघि बढ्यो भन्ने पुष्टि हुँदैन । क्रियाशील सदस्यता नवीकरण, संगठन विस्तार, जिल्ला तहमा समन्वय र आन्तरिक व्यवस्थापनमा कमजोरी देखिएको आरोप उनीमाथि लागेको छ । यद्यपि नेतृत्वको परिपक्वता कमजोरी नदेखिनुमा होइन, कमजोरीलाई स्वीकार गरेर सुधार गर्न सक्नुमा हुन्छ । अब सभापति बनेपछि उठ्ने प्रश्न हो, के ती कमजोरीहरूबाट उनले पाठ सिक्नेछन् ? के अब पार्टीभित्र स्पष्ट कार्ययोजना, समयसीमा र जवाफदेहितासहित सुधारको प्रक्रिया सुरु गराउलान् ? यदि महामन्त्री हुँदा देखिएका समस्याहरू सभापति भएपछि पनि दोहोरिए भने, गगन थापामाथि गरिएको विश्वास चाँडै निराशामा बदलिने छ ।

टिकट वितरण युवामैत्री कि संरचनागत परिवर्तन ?

नेपाली कांग्रेसमा ‘युवा नेतृत्व’को बहस दशकौंदेखि चलिरहेको छ । तर व्यवहारमा हेर्दा निर्वाचनका बेला टिकट वितरणमा पुरानै अनुहार, पुरानै समीकरण र पुरानै शक्ति सन्तुलन दोहोरिने प्रवृत्ति कायमै देखिन्छ । आसन्न निर्वाचन गगन थापाका लागि सबैभन्दा ठूलो परीक्षा हुन सक्छ । के उनी युवालाई केवल भाषणमा होइन, व्यवहारमै प्राथमिकता दिन सक्छन् ? के योग्यता, निष्ठा, कार्यक्षमता र जनसम्पर्कका आधारमा उम्मेदवार छनोट हुन्छ कि फेरि गुट, दबाब र सन्तुलनका नाममा पुरानै अभ्यास दोहोरिन्छ ? यदि गगन थापाले यो चक्र तोड्न सके भने, त्यसको प्रभाव केवल कांग्रेसभित्र सीमित रहने छैन । यसले नेपाली राजनीतिमा नै सकारात्मक सन्देश दिनेछ ।

देउवा समूहसँग द्वन्द्वको बाटो अपनाउँछन् कि वास्तविक समायोजनको रणनीति ? नेपाली कांग्रेसमा देउवा समूहलाई नजरअन्दाज गर्न सकिँदैन । यो समूह संगठनात्मक संरचनामा मात्र होइन, भावनात्मक र मनोवैज्ञानिकरूपमा पनि बलियो छ । यस समूहसँग टकरावमा जानु कांग्रेसका लागि दीर्घकालीनरूपमा घातक हुन सक्छ । यहाँ गगन थापाको राजनीतिक चातुर्यको परीक्षा हुनेछ । के उनी देउवा समूहलाई प्रतिस्पर्धीका रूपमा मात्र हेर्छन्, कि पार्टी हितका लागि सहयात्री बनाउने प्रयास गर्छन्? व्यक्तिगत वर्चस्वभन्दा माथि उठेर संस्थागत हितलाई प्राथमिकता मा राखेर देउवा समूहको अनुभव, संगठन र प्रभावलाई कांग्रेस सुदृढीकरणमा प्रयोग गर्न सक्नु नै परिपक्व नेतृत्वको संकेत हो ।

नेतृत्वमा पुगेपछि सबैभन्दा कठिन कुरा निष्पक्ष रहनु हो । आफ्ना समर्थक, आलोचक, गुट र उपगुट सबैलाई समान दृष्टिले हेर्न सक्नु व्यवहारमा अत्यन्त चुनौतीपूर्ण हुन्छ । तर गगन थापासँग जनताले यही अपेक्षा गरेका छन् । पूर्वाग्रह रहित, पारदर्शी र न्यायोचित नेतृत्व । प्रश्न उठ्छ के उनी आफ्नै नजिकका साथीहरूलाई पनि आलोचनाको दायरामा ल्याउन सक्छन्? के निर्णय गर्दा सम्बन्ध होइन, मापदण्ड हाबी हुन्छ? यदि यसको उत्तर व्यवहारमा ‘हो’ सावित भयो भने, त्यो नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक मोड हुनेछ । पुस्तान्तरणको बहस नेपाली राजनीतिमा सधैं संवेदनशील रहँदै आएको छ । नयाँ पुस्ताले नेतृत्व लिनु अपरिहार्य छ, तर त्यसको अर्थ पुराना नेताहरूको योगदान अस्वीकार गर्नु होइन । गगन थापाका लागि चुनौती यही सन्तुलन हो,वरिष्ठ नेताहरूको सम्मान, अनुभव र योगदानलाई सुरक्षित राख्दै नयाँ पुस्तालाई निर्णायक भूमिकामा ल्याउने । यदि यो सन्तुलन बिग्रियो भने, पार्टीभित्र असन्तोष र विभाजन गहिरिन सक्छ । तर यदि सही ढंगले व्यवस्थापन भयो भने, कांग्रेसले अनुभव र ऊर्जा दुवैलाई एकसाथ उपयोग गर्ने अवसर पाउनेछ ।

बोल्ने नेताबाट काम गर्ने नेता बन्ने दायित्व

गगन थापा प्रभावशाली वक्ता हुन् भन्नेमा कुनै विवाद छैन । संसद्, सडक र सार्वजनिक मञ्चमा उनका भाषणहरूले पटक पटक युवापुस्तामा ऊर्जा र आशा जगाएका छन् । तर अब उनी त्यो निर्णायक चरणमा पुगेका छन् जहाँ भाषणको प्रभाव होइन, परिणामको प्रमाण खोजिन्छ । पार्टी संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको संस्थागत अभ्यास, स्पष्ट नीति निर्माण, सरकारमा प्रभावकारी हस्तक्षेप र जनतासँग खस्किएको विश्वास पुनःस्थापना ,यी सबै क्षेत्रमा ठोस उपलब्धि देखिनु अनिवार्य छ । अब प्रश्न केवल क्षमताको होइन, इच्छाशक्ति र कार्यान्वयनको हो । यदि निर्णयहरू समयमै कार्यान्वयन भएनन् भने, लोकप्रियता आफैं क्षीण हुन सक्छ । त्यसैले आजको मूल प्रश्न सरल तर गहिरो छ,के गगन थापा ‘बोल्ने नेता’ बाट ‘काम गरेर देखाउने नेता’ मा रूपान्तरण हुन सक्छन्, कि उनी पनि भाषणमै सीमित हुने नेताहरूको सूचीमा थपिने छन् ?

निर्वाचन: अग्निपरीक्षा

निर्वाचन जित्नु बाह्य प्रतिस्पर्धा मात्र होइन, आन्तरिक व्यवस्थापन पनि हो । टिकट नपाएका आकांक्षी, असन्तुष्ट समूह र गुटीय मतभेदलाई व्यवस्थापन नगरी चुनाव जित्न कठिन हुन्छ । यहाँ गगन थापाको नेतृत्व कौशलको वास्तविक परीक्षा हुनेछ के उनी आफ्नै पार्टीभित्र एकता कायम गर्न सक्लान् ? यदि पार्टी विभाजित रह्यो भने, लोकप्रियता मात्रले निर्वाचन जित्न सक्दैनन् । नेतृत्वमा पुगेपछि आरोप र विवाद आउनु स्वाभाविक हो । गगन थापामाथि पनि संगठन चलाउन नसकेको, निर्णय प्रक्रियामा अस्पष्टता देखाएका जस्ता आरोपहरू लागेका नै छन् । प्रश्न आरोप लाग्नु होइन, अब त्यसको सामना कसरी गर्छन् भन्ने हो । पारदर्शिता, जवाफदेहिता र स्पष्टताका साथ अघि बढ्न सके भने, ती आरोप आफैं कमजोर हुँदै जानेछन् ।

गगन थापाका लागि यो क्षण केवल व्यक्तिगत उपलब्धिको विषय होइन, नेपाली कांग्रेसको भविष्य पुनःनिर्माण गर्ने ऐतिहासिक अवसर हो । महामन्त्री हुँदा उनले सीमित अधिकार र परिस्थितिमा काम गर्नुपरेको थियो, तर अहिले सभापतिको भूमिकामा उनीसँग निर्णय गर्ने, कार्यान्वयन गर्ने र दिशा दिने कहीँ ठूलो अवसर र जिम्मेवारी छ । यही कारण अब बहानाको ठाउँ छैन । यदि उनले चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सके भने, कांग्रेस मात्र होइन, नेपाली लोकतन्त्र नै बलियो हुनेछ । तर अब केवल बोल्ने होइन, गरेर देखाउने समय हो । यदि परिणाम देखिएन भने, युवाले केवल पुरानो नेतृत्व मात्र होइन, युवाले युवामाथि नै भरोसा गर्न छाड्ने गम्भीर जोखिम रहने छ । हाम्रो पुस्ताको प्रतिनिधिका रूपमा उनीबाट ठूलो अपेक्षा गरेका छौं । अब बाँकी प्रश्न एउटै छ के गगन थापाले इतिहासले दिएको यो अवसरलाई साहस, समावेशिता र परिणाममुखी नेतृत्वमार्फत सदुपयोग गर्न सक्लान् ? उत्तर समय र कर्मले दिनेछ । तर अपेक्षा, आशा र शुभकामना भने स्पष्ट छन् । गगन थापा, अब भाषण होइन, इतिहास लेख्नेबेला हो ।

लेखक पूर्वाधारको क्षेत्रमा कार्यरत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्