स्विट्जरल्याण्ड । युरोपेली संघकी उच्च अधिकारी उर्सुला फोन डर लेयेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डसम्बन्धी नयाँ कर (आयात कर) लागू गर्ने धम्कीलाई ‘दीर्घकालीन मित्र राष्ट्रबीचको भूल’ भएको बताएकी छिन् । उनले यस कदमले ट्रम्पको विश्वसनियतामाथि शंका उब्जेको आरोप पनि लगाइन् ।
उर्सुला फोन डर लेयेनले डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा भने सन् २०२५ मा अमेरिका र युरोपेली संघबीच भएको व्यापार सम्झौताअनुसार थप कर नलगाउने सहमति भएको थियो । ‘राजनीति र व्यापार दुवैमा सम्झौता भनेको सम्झौता हो । मित्रहरूले हात मिलाउँदा त्यसको अर्थ हुनु जरुरी छ,’ उनले भनिन् ।
ट्रम्पले डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्याण्डमाथि अमेरिकाले नियन्त्रण लिनुपर्ने दाबी गर्दै त्यसको विरोध गर्ने आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत आयात कर लागू गर्ने घोषणा गरे । युरोपेली संघले यस कदमलाई मित्र राष्ट्रबीचको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने चेतावनीका रूपमा हेरिरहेको छ । फोन डर लेयेनले थपिन्, ‘यस्तो कदमले अमेरिका र युरोप दुवैका साझा सुरक्षा चुनौतीहरू जस्तै चीन र रसियालाई फाइदा पुर्याउन सक्छ ।” उनले यस विषयमा युरोपेली संघको प्रतिक्रिया ‘एकताबद्ध, दृढ र समानुपातिक’ हुने स्पष्ट पारिन् ।
ट्रम्पको कर धम्कीपछि युरोपभर कूटनीतिक गतिविधि तीव्र बनेको छ । युरोपेली संघले सम्भावित प्रतिकारका रूपमा नयाँ कर लगाउने, व्यापार सम्झौता रोक्ने तथा पहिलोपटक दबाब रोक्ने औपचारिक उपाय प्रयोग गर्ने सम्भावना अध्ययन गरिरहेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले डाभोसपछि पेरिसमा सात ठूला औद्योगिक राष्ट्रको आपतकालीन बैठक बोलाउने प्रस्ताव राखे । फ्रान्सले ग्रीनल्याण्डको सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्नुपर्ने कुरामा जोड दिएको छ । ग्रीनल्याण्डमा हजारौं नागरिकहरूले अमेरिकी नियन्त्रणको विरोधमा प्रदर्शन गरेका छन् । ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले फेसबुकमा लेखेका छन्, ‘हामी दबाबमा आएर हाम्रो अडान परिवर्तन गर्ने छैनौं ।’
यस विवादको असरले विश्व बजारमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । जर्मनी, फ्रान्स र बेलायतका शेयर मूल्य करिब एक प्रतिशतले घटेका छन् भने अमेरिकाका शेयर मूल्य पनि ओरालो लागेको छ । विश्लेषकहरूका अनुसार ग्रीनल्याण्डको विवादले अमेरिका र युरोप दुवैका लागि ‘हार–हारको स्थिति’ निम्त्याउन सक्ने सम्भावना देखिएको छ ।
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोडेका छन् । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरलाई पठाइएको एक पाठ सन्देशमा उनले अब आफू ‘विशुद्ध शान्तिको बारेमा सोच्न बाध्य’ नरहेको बताएका हुन् ।
उक्त सन्देश सार्वजनिक भएपछि नाटो सदस्य डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चेतावनीका कारण वासिङ्टन र युरोपका नजिकका सहयोगीहरूबीचको तनाव थप बढेको देखिएको छ । यसअघि ट्रम्पले नर्वे, डेनमार्क र ग्रिनल्यान्डसहित आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए, जसको ती देशहरूले कडा विरोध गरेका छन् ।
अमेरिकाका परम्परागत सहयोगी राष्ट्रहरूले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पार्दै संवादबाट समाधान खोज्न आग्रह गरेका छन् । युरोपेली संघ (इयु) का विदेश नीति प्रमुख काजा कल्लासले युरोपले द्वन्द्व नचाहेको तर आफ्ना आधारभूत मूल्य र हितको रक्षा गर्ने अडानमा रहने बताएका छन् ।
ह्वाइट हाउसले बल प्रयोग गरेर ग्रिनल्यान्ड नियन्त्रण लिने कुनै निर्णय नभएको जनाएको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले राष्ट्रपतिले केही छोड्ने निर्णय नगरेसम्म अडान नबदलिने टिप्पणी गरे । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि शान्ति वार्ताबाट समाधान सम्भव रहेको बताउँदै सैन्य कारबाही हुने विश्वास नगरेको जनाए ।
यसबीच, हजारौं ग्रिनल्यान्डवासीहरूले सप्ताहन्तमा टापु कब्जा गर्ने कुनै पनि प्रयासविरुद्ध प्रदर्शन गरे । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले करको धम्कीले आफ्नो धारणा नबदलिने स्पष्ट पार्दै ‘हामीमाथि दबाब दिइने छैन’ भनेका छन् । मन्त्री नाजा नथानियलसेनले सहयोगी राष्ट्रहरूको द्रुत प्रतिक्रियाले यो विषय ग्रिनल्यान्ड मात्र नभई अन्तर्राष्ट्रिय सरोकारको विषय भएको देखाएको बताइन् ।
नर्वे सरकारले सार्वजनिक गरेको ट्रम्पको सन्देशमा ‘आठ युद्ध रोकेको बाबजुद नोबेल शान्ति पुरस्कार नदिइएकाले अब शुद्ध शान्तिको दायित्व महसुस नगरेको’ उल्लेख छ । सन्देशमा ‘ग्रिनल्यान्डको पूर्ण नियन्त्रण नभएसम्म विश्व सुरक्षित हुँदैन’ भनिएको छ ।
ह्वाइट हाउसले सन्देशको प्रामाणिकता पुष्टि गर्दै ट्रम्पले अमेरिकी नियन्त्रणले ग्रिनल्यान्डवासीलाई सुरक्षा दिने विश्वास राखेको जनाइएको छ । नर्वेका प्रधानमन्त्री स्टोरले ग्रिनल्यान्ड डेनमार्कको हिस्सा भएको र नर्वेले डेनमार्कको पूर्ण समर्थन गर्ने स्पष्ट पारे । साथै नोबेल शान्ति पुरस्कार नर्वे सरकारले नभई स्वतन्त्र नोबेल समितिले प्रदान गर्ने कुरा ट्रम्पलाई स्पष्ट गरिएको उनले बताए ।
गत वर्ष भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कारप्रति ट्रम्पले चासो देखाएका थिए । यद्यपि सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले नोबेल पुरस्कारको परवाह नगरेको र आफूलाई जीवन बचाउने कुरामा मात्र चासो रहेको बताए ।
ट्रम्पले करलाई कूटनीतिक मोलतोलको माध्यमका रूपमा प्रयोग गर्ने संकेत पनि गरेका छन् । युरोपेली देशहरूले भने ग्रिनल्यान्डमा सीमित सैन्य उपस्थिति आर्कटिक सुरक्षाको मूल्यांकन र रूस तथा चीनसम्बन्धी चिन्ताको प्रतिक्रियामात्र भएको बताएका छन् । नाटोका महासचिव मार्क रुटेले ग्रिनल्यान्ड क्षेत्र सामूहिक सुरक्षाका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।