नेभिगेशन
मनोरञ्जन

हराएकी अभिनेत्रीसँगै पर्दा पछाडिको सत्य

लैला खान कुनै शीर्ष व्यावसायिक नायिका थिइनन् । सन् २००० को दशकको अन्त्यतिर बलिउडमा चिनिन थालेका अनुहार अवश्य थिइन् । २००८ मा प्रदर्शन भएको फिल्म ‘वफाः अ डेड्ली लभ स्टोरी’मा उनले राजेश खन्नासँग अभिनय गर्ने मौका पाएकी थिइन, जसले उनको नाम फिल्मी अखबारका मनोरञ्जन पृष्ठमा देखिन थाल्यो ।

करिअरले उचाइ नलिँदै ग्ल्यामरको संसारमा टिक्ने प्रयासमा गर्दै थिइन । फिल्म, मोडलिङ र सामाजिक घेरामा उनको पहिचान बन्दै थियो । ठीक यही समयमा उनको जीवनले भयावह मोड लियो, जसले बलिउडका भयानक सिनेमा जस्तै अपराध कथामध्ये एक जन्मायो ।

सन् २०११ को फेब्रुअरी । मुम्बईको अँधेरीस्थित घरबाट लैला खान, उनकी आमा सेलिना पटेल, भाइ बैनीहरू जारा, आफरीन, इमरान र रेशमा एकाएक सम्पर्कविहीन भए । सुरुमा यो कुनै ठूलो समाचार बनेन । फिल्म लाइनमा कुनै कलाकार हराउनु, फोन नउठ्नु, केही समय गायब हुनु असामान्य मानिँदैनथ्यो । तर दिनहरू बित्दै जाँदा फोन स्विच अफ रहन थाल्यो, घरमा ताला लागिरह्यो, छिमेकीले कसैलाई नदेखेको लामो समय भइसकेको बताउन थाले । यहीँबाट शंका बाक्लिन थाल्यो । लैला खानकी आमा सेलिना निकै मोडर्न थिइन । आफ्नो फिगरलाई यति निकै मेन्टेन गरेकी थिइन, उनी लैलाकी दिदीबहिनीजस्ती देखिन्थिन् । उनको पहिलो विवाह नादिर पटेलसँग भएको थियो, जसबाट छोरी लैला जन्मेकी थिइन । मुम्बईमा गुजारा सजिलो थिएन । राम्रो आम्दानीका लागि नादिर वैदेशिक रोजगारीमा दक्षिण अफ्रिका गए । उताबाट पैसा पठाउन थाले, लामो समयपछि आउने, छोटो अवधि रोकिने गर्दै नादिरले एक्लै पारेपछि सन् १९८८ मा सेलिना मीरारोड बस्ने आसिफ शेखसँग नजिक भइन् । बिहे गरिन् । जारा, इमरान र आफरीन जन्मिए ।

केही समयपछि आफिससँग पनि सेलिनाको सम्बन्ध बिग्रियो । उनीहरू छुट्टिए । सन् २०१० मा सेलिनाको कश्मीरका परवेज टाकसँग तेस्रो विवाह भयो । पसवेज उमेरमा सेलिनाभन्दा कान्छा थिए । तर, उनले परिवारका सबैलाई अपनाए ।

सन् २०११ फेब्रुअरीमा जब लैलाका परिवार मुम्बईभन्दा १५० किमि टाढाको इगतपुरी फार्महाउस आएको थियो, फिल्म ‘जिन्नात’को छायांकनको काम आधा सकिएको थियो । निर्माता निर्देशक राकेश सावन्तलाई लैलाले आफू फार्महाउसमा सपरिवार केही दिन बिदा मनाएर फर्केपछि सुटिङका लागि उपस्थिति हुनेमा सहमत गराएकी थिइन । केही दिनपछि सावन्तले सुटिङको डेट कन्फर्म गर्न लैलालाई फोन गरे । उताबाट रिसिभ भएन । एक–दुई दिन र साता गर्दै महिना बित्यो, न जवाफ आयो, न उनको सिनेमाकी नायिका नै आइन । आफ्नो लगानी डुब्ने देखेर सावन्त आत्तिए । उनी लैलाको ठेगानामा पुगे । त्यहाँ शेख भेटिए, जसले लैला त्यहाँ नभएको र ठाउँ–ठेगाना थाहा नभएको जवाफ दिए । सावन्त ओशिवारा प्रहरी चौकी पुगे, जाहेरी लेखाउन खोजे । तर, प्रहरीले हराउने व्यक्तिको परिवारका सदस्यले मात्रै जाहेरी दिनसक्ने बताएपछि उनले ‘मेरो फिल्म खेल्ने कन्ट्रयाक्ट गरेर भुक्तानी लिएपछि वेपत्ता भएकाले लैला खानको खोजी गरीपाउँ’ भनेर निवेदन दिए ।

प्रहरीमा परेको उक्त जाहेरीको जानकारी मुम्बईका टेलिभिजन पत्रकार निशाद शम्सी सम्म पुग्यो– ‘एकजना नायिका निर्माताको पैसा लिएर वेपत्ता भइन ।’ उनले उक्त खबरका विषयमा केही खोजी गर्ने विचार गरे । प्रहरी चौकी पुगे, नयाँ जानकारी केही थिएन । उनले पनि सावन्त जसरी जाहेरी दिन खोजे, प्रहरीले पुरानै कुरा दोहोर्‍यायो– ‘तपाईंको आफन्त हो ? आफन्तले जाहेरी दिएमात्रै हामी खोजी गर्न बाध्य हुन्छौं ।’ उनले त्यसपछि आसिफलाई भेटे, ‘तपाइँकी छोरी वेपत्ता छिन्, खोजीका लागि प्रहरीमा जाहेरी दिनुस्’ भने । परिवार छुट्टिएर व्यवहार बेग्लाबेग्लै भइसकेकाले आसिफ मानेनन् ।

निशातले लैलाका पिता नादिरको नम्बर पाए । सम्पर्क गरे । इथोपियामा रहेका नादिरलाई छोरी वेपत्ता भएको खबरले चासो त भयो तर उनीसँग भारतसम्म आउन खर्च थिएन । निशातले कसैगरी नादिरको भारत आउने खर्च व्यवस्था गरिदिए । उनी आए, जाहेरी दिए तर पत्ता लागेन । सन् २०१२ जुन । कश्मीरको किश्तवाड भन्ने ठाउँमा बम विस्फोट भयो । जाँचमा जुटेका सुरक्षाकर्मीले जानकारी पाए, उक्त ठाउँबाट नजिकै ओम मेहता रोडको एउटा पसलमा महाराष्ट्रको नम्बरप्लेट भएको कालो रङको एउटा कार छ, जसलाई आठ महिनादेखि त्यहाँ राखिएको छ । ल्याएदेखि बाहिर निकालिएको छैन । नम्बरको रजिष्ट्रेसन जाँच गर्दा खुल्यो, उक्त कार लैलाकी आमा सेलिनाको नाममा थियो । प्रहरीले सोधखोजमा सेलिना लैलाकी आमा भन्नेसम्म पत्तो पायो ।

जुनबेला विस्फोटको घटना भएको थियो, सावन्त आफ्नो एउटा फिल्म कश्मीरमै छायांकन गराइरहेका थिए । फारुख अब्दुल्लह (कश्मीरका पूर्वमुख्यमन्त्री)ले एउटा साँझ गेट टुगेदर राखेका थिए, जसमा सावन्तसँगै उनको सुटिङ युनिटलाई निम्तो थियो । त्यहाँ भेटिएका एक प्रहरी अधिकृतले कुरैकुरामा सावन्तलाई सोधे – ‘के तपाई लैला भन्ने हिरोइनलाई चिन्नुहुन्छ ? उनकी आमाका नाममा रहेको एउटा गाडी हामीले यहाँ भेट्यौं, अरु कुरा पत्तै लागेन ।’ सावन्तले लैलाले एउटा फिल्म आधै छाडेर वेपत्ता हुँदा आफूलाई ठूलो नोक्सान परेको सुनाए । कुराकानीका क्रममा दुवैलाई लाग्यो –लैला हराउनुका पछाडि अरू कुनै खास कारण हुनुपर्छ ।

कश्मीर प्रहरीले पत्ता लगायो, त्यो कार राख्ने ठाउँ १० महिनाअघि परवेज टाकले भाडामा लिएका थिए । अब टाकको खोजी सुरु भयो । त्यसपछि खुल्यो सेलिना आफ् ना छोराछोरीलाई लिएर फार्महाउसमा जाँदा टाकसँगै थिए । कश्मीरकै कुनै ठाउँबाट टाक पक्राउ परे । उनी पाकिस्तानबिच भाग्ने तयारीमा थिए । लामो केरकारपछि सेलिना र उनका छोराछोरीलाई आफूले गोली हानेर मारेको बयान उनले दिए ।

इगतपुरीस्थित फार्महाउसमा उनले गाडेका शवका अस्थिपञ्जरहरू भेटिए । त्यसपछि खुल्यो यो घटना मान्छे हराएको सामान्य नभई सामूहिक हत्या प्रकरण थियो ।

फरेन्सिक परीक्षणले अवशेषहरू लैला खान, उनकी आमा र अन्य चार पारिवारिक सदस्यका भएको पुष्टि गर्‍यो । न्यायिक प्रक्रिया भने झन् लामो रह्यो । बयान, फरेन्सिक प्रमाण, सम्पत्ति विवादका कागजात, पारिवारिक साक्षी—सबै जोडिँदै गए । परवेज टकले अपराध स्वीकार गरे पनि अदालतमा विभिन्न कानुनी प्रक्रियाका कारण मुद्दा वर्षौंसम्म चलिरह्यो । अन्ततः झन्डै १३ वर्षपछि मुम्बई सेसन कोर्टले उनलाई दोषी ठहर गर्‍यो । यो अपराधलाई अत्यन्तै क्रूर, योजनाबद्ध र ‘रेयरेस्ट अफ द रेयर’ श्रेणीको भन्दै मृत्युदण्डको सजाय सुनायो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्