नेभिगेशन
मनोरञ्जन

म्याटेलको ‘अटिस्टिक बार्बी’

बालबालिकाले जब आफूजस्तै देखिने वा व्यवहार गर्ने खेलौना देख्छन्, उनीहरूको आत्मविश्वास बढ्छ

बालबालिका त्यसै त संवेदनशील । अटिजम भएकाको स्वभाव अझ विशिष्ट । उनीहरूसँगको व्यवहारमा खेलाँची गरिनु हुन्न । खेलौना निर्माता विश्वप्रसिद्ध कम्पनी म्याटेलले बार्बी फेसनिटास शृंखला अन्तर्गत ‘अटिस्टिक बार्बी’ ल्याएको छ । अटिजम भएका बालबालिकाको स्वभावलाई ध्यानमा राख्दै खास प्रकारको गुडिया बनाएको हो ।

नयाँ गुडिया बनाउने क्रममा कम्पनीले ‘अटिस्टिक सेल्फ एड्भोकेसी नेटवर्क’सँग झण्डै १८ महिनासम्म घनिभूत सहकार्य गरेको थियो । अटिस्टिक व्यक्तिहरूको शारीरिक हाउभाउ, संवेगात्मक आवश्यकता र दैनिक जीवनका चुनौतीहरूलाई खेलौनामा जस्ताको तस्तै उतार्न विशेषज्ञहरूको राय लिइएको कम्पनीले जनाएको छ । यो पुतलीको डिजाइनमा सूक्ष्म विवरणहरूमा ध्यान दिइएको छ । सामान्य बार्बीहरूको तुलनामा यसको नजर (आइ गेज) थोरै फरक बनाइएको छ, जसले धेरैजसो अटिस्टिक व्यक्तिहरूले सोझै हेर्न वा आइ कन्ट्याक्ट गर्न असहज मान्ने यथार्थलाई झल्काउँछ ।

यो पुतलीसँगै कम्पनीले केही विशेष सहायक सामग्रीहरू पनि उपलब्ध गराएको छ । यसमा एउटा ‘फिगेट स्पिनर’ र ध्वनिको संवेदनशीलता कम गर्न प्रयोग गरिने ‘नोइज–क्यान्सिलिङ हेडफोन’ समावेश छन् । साथै सञ्चारका लागि प्रयोग गरिने विशेष ट्याब्लेट पनि गुडियासँगै राखिएको छ । गुडियाको लुगा पनि ‘सेन्सरी–फ्रेन्डली’ अर्थात् नरम र खुकुलो बनाइएको छ, किनभने धेरै अटिस्टिक बालबालिकाहरू कपडाको बनावटप्रति निकै संवेदनशील हुन्छन् ।

अटिज्म एउटा ‘न्युरो–डेभलपमेन्टल’ अवस्था हो, जसमा बालबालिकाको सञ्चार गर्ने र सामाजिक अन्तरक्रिया गर्ने तरिका अरूभन्दा फरक हुन्छ । उनीहरू प्रायः एउटै काम दोहोर्‍याउन मन पराउँछन्, सिधा आँखा जुधाउन असहज मान्छन् र चर्को आवाज वा कपडाको बनावटप्रति बढी संवेदनशील हुन्छन् ।

खेलौनालाई यति संवेदनशील भएर डिजाइन गर्नुको मुख्य कारण उनीहरूलाई स्वीकार्य महसुस गराउनु हो । जब बालबालिकाले आफू जस्तै देखिने वा व्यवहार गर्ने खेलौना देख्छन्, उनीहरूको आत्मविश्वास बढ्छ । यसले समाजमा अटिज्मसम्बन्धी भ्रम चिर्न र अन्य बालबालिकालाई विविधतालाई सम्मान गर्न सिकाउँछ । यस्तो डिजाइनले खेलौना र बच्चाबीच भावनात्मक सम्बन्ध बलियो बनाउन मद्दत गर्छ ।

म्याटेलका बार्बी एण्ड डल्सका ग्लोबल हेडले भनेका छन्, ‘हाम्रो उद्देश्य हरेक बच्चाले बार्बीमा आफ्नो प्रतिबिम्ब देख्न पाउनु हो । यो पुतलीले अटिस्टिक बालबालिकालाई समाजको हिस्सा महसुस गराउनुका साथै अन्य बालबालिकामा समानुभूति र बुझाइ विकसित गर्न मद्दत गर्नेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्