नेभिगेशन
विश्व

डाभोस सम्मेलन के हो? किन महत्वपूर्ण छ ?

जेनेभा – डाभोस सम्मेलनका रुपमा विख्यात विश्व आर्थिक मञ्च (वल्र्ड इकोनमिक फोरम – डब्लूईएफ)को सम्मेलनमा संसारभरका शक्तिशाली व्यक्तिहरूको भेला भइरहेको छ । हरेक वर्ष स्वीजरल्याण्डको अल्पाइन रिसोर्ट डाभोसमा हुने यो पाँच दिने बैठक सोमबारदेखि सुरु भएको छ । यी दिनमा राजनीति, व्यवसाय, प्राज्ञिक क्षेत्र र नागरिक समाजका विविध विषयमा छलफल तथा निष्कर्षहरू निकाल्ने गरिन्छ । यतिबेला डाभोस सम्मेलनमा विश्वमा राजनीतिक तथा व्यापारिक उथलपुथलका बीच विश्वव्यापी एजेण्डाहरूलाई आकार दिन प्रयास भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अन्य विश्व नेताहरूसँगै यस वार्षिक कार्यक्रममा सहभागी भए । डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ‘ग्रीनल्याण्ड’ कब्जा गर्ने धम्कीका कारण आफ्ना युरोपेली सहयोगीहरूसँगको सम्बन्ध चिसिएका बेला उनको यो उपस्थिति भएको हो । मञ्च र यस बैठकमा के अपेक्षा गर्ने ? यतिबेला सर्वत्र चासोको विषय बन्न पुगेको छ ।

विश्व आर्थिक मञ्च के हो?

मञ्च स्वीजरल्याण्डको जेनेभामा आधारित एक थिंक–ट्यांक र कार्यक्रम आयोजक संस्था हो । सन् १९७१ मा डाभोसमा आयोजित पहिलो शिखर सम्मेलन व्यावसायिक कार्यकारीहरूको भेला थियो । यद्यपि, वर्षौंको दौडान यसको दायरा फराकिलो भएको छ र यसले आर्थिक असमानता, जलवायु परिवर्तन, प्रविधि र विश्वव्यापी सहयोग जस्ता विविध विषयहरूमा छलफल गर्दछ ।

२०२६ को शिखर सम्मेलन कहाँ हुँदैछ ?

यो शिखर सम्मेलन स्वीजरल्याण्डको अल्पाइन सहर डाभोसको सम्मेलन केन्द्रमा भइरहेको छ । यो सहर आफ्नो स्की रिसोर्टका लागि प्रसिद्ध छ । यो सहरमा करिब १०,००० मानिसहरू बस्छन् । करिब १,५०० मिटर (लगभग ५,००० फिट) को उचाइमा रहेको डाभोस स्वीजरल्याण्डको पूर्वी आल्प्सको ग्राउबुनडेन क्यान्टनमा अवस्थित छ । सन् १९७१ देखि हरेक वर्ष जनवरीमा डाभोस नै मञ्चको शिखर सम्मेलन स्थल रहँदै आएको छ । मुख्य सत्रहरू सोमबार, १९ जनवरीबाट सुरु भएका छन् र वार्षिक बैठक २३ जनवरीमा समाप्त हुनेछ । पाँच दिने यो सम्मेलनमा महŒवपूर्ण निष्कर्षहरू निकालिने विश्वास गरिन्छ ।

को सहभागी हुँदैछन् र को छैनन्?

व्यवसाय, सरकार र अन्य क्षेत्रका करिब ३,००० उच्च स्तरीय सहभागीहरूका साथै ठूलो संख्यामा कार्यकर्ता, पत्रकार र बाह्य पर्यवेक्षकहरू सहभागी हुने अपेक्षा गरिएको छ । आयोजकहरूका अनुसार ६० भन्दा बढी राष्ट्र र सरकार प्रमुखसहित करिब ४०० शीर्ष राजनीतिक नेताहरू र विश्वका अग्रणी कम्पनीहरूका करिब ८५० अध्यक्ष तथा मुख्य कार्यकारी अधिकारीहरू (सीईओ) सहभागी भइरहेका छन् ।

सहभागीहरूको अग्रपंक्तिमा ट्रम्प रहेका छन्, जसले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । साथै विदेश मन्त्री मार्को रुबियो, कोष मन्त्री स्कट बेसेन्ट र विशेष दूत स्टिभ विट्कोफ लगायत धेरै क्याबिनेट मन्त्री र शीर्ष सल्लाहकारहरू पनि सहभागी छन् । ब्लूमबर्ग न्यूजअनुसार, ट्रम्पले यस वार्षिक भेलामा गाजाका लागि आफ्नो ‘शान्ति बोर्ड’को बैठक पनि राख्न चाहेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रो, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन, सिरियाली राष्ट्रपति अहमद अल–शारा, क्यानाडाली प्रधानमन्त्री मार्क कार्नी, कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानी, कंगोका राष्ट्रपति फेलिक्स सुसेकेडी, चीनका उप–प्रधानमन्त्री हे लाइफेंग र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की यो शिखर सम्मेलनमा सहभागी हुने प्रमुख व्यक्तित्वहरू हुन् । आयोजकहरूका अनुसार ५५ अर्थ तथा वित्त मन्त्री, ३३ परराष्ट्र मन्त्री, ३४ व्यापार तथा उद्योग मन्त्री र ११ केन्द्रीय बैंकका गभर्नरहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ । प्रविधि क्षेत्रका दिग्गजहरूमा एनभिडियाका जेन्सेन हुआङ, माइक्रोसफ्टका सत्या नडेला, गुगल डीपमाइन्डका डेमिस हासाकिस र फ्रान्सको मिस्ट्रल एआईका आर्थर मेन्च सहभागी हुँदैछन् ।

नेटोका महासचिव मार्क रुट र विश्व व्यापार संगठनकी महानिर्देशक एनगोजी ओकोन्जो–इवेला लगायत अन्तर्राष्ट्रिय संस्थाहरूका धेरै शीर्ष अधिकारीहरू पनि सहभागी छन् ।

को सहभागी भइरहेका छैनन्?

इरानमा प्रदर्शनकारीहरूमाथि हालै भएको दमनपछि इरानी विदेश मन्त्री सहभागी नहुने आयोजकहरूले सोमबार बताएका छन् । अब्बास अराघचीले मंगलबार सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । मञ्चले एक्स (ट्विटर) मा भनेको छ, ‘इरानी विदेश मन्त्री डाभोसमा सहभागी हुने छैनन् ।’ इजरायलमाथि गाजामा नरसंहार गरेको आरोप लागे पनि उसलाई निमन्त्रणा गरिएको छ । राष्ट्रपति आइज्याक हर्जोगले कार्यक्रममा इजरायलको प्रतिनिधित्व गर्नेछन् । मोजाम्बिकका राष्ट्रपति डेनियल चापोले आफ्नो देशमा आएको भीषण बाढीका कारण डाभोस भ्रमण रद्द गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यस घडीमा जीवन बचाउनु नै हाम्रो पूर्ण प्राथमिकता हो ।’

एजेण्डा के छ ?

यस वर्षको नारा ‘संवादको भावना’ (अ स्पिरिट अफ डाइलग) रहेको छ । २०० भन्दा बढी सत्रहरूले भू–राजनीति र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) देखि जलवायु परिवर्तनसम्मका व्यापक मुद्दाहरूमा छलफल गर्नेछन् । ट्रम्पले बुधबार विश्वव्यापी व्यावसायिक नेताहरूलाई भेट्ने अपेक्षा गरिएको रोयटर्सले जनाएको छ ।

यस वर्ष के फरक छ ?

यस वर्ष भू–राजनीतिक सन्दर्भ निकै जटिल बनेको छ । भेनेजुएला, ग्रीनल्याण्ड र इरान जस्ता विविध विषयमा ट्रम्पका नीतिहरू र उनको आक्रामक भन्सार नीतिले विश्व व्यवस्थामा उथलपुथल ल्याएको छ र विश्वमा अमेरिकी भूमिकामाथि प्रश्न उठाएको छ । एआईको आगमनसँगै यसका सम्भावना र खतराहरूमाथि मुख्य छलफल हुने बताइएको छ । व्यावसायिक कार्यकारीहरूले दक्षता र नाफा बढाउन यसको प्रयोग कसरी गर्ने भन्ने बारे छलफल गर्ने छन् भने श्रम नेताहरूले यसले रोजगारीमा पार्ने खतराका बारेमा चेतावनी दिनेछन् । आलोचकहरूका अनुसार, डाभोसमा कुरा धेरै हुन्छ तर विश्वको असमानता र जलवायु परिवर्तन जस्ता समस्याहरू समाधान गर्न पर्याप्त काम हुँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्