नेभिगेशन
प्रदेश

स्वास्थ्य बिमा बोर्डमा निमित्त कार्यकारी

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बोर्डको नेतृत्व रिक्त नराख्न मन्त्रालयका सहसचिव पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको जानकारी गराए । ‘बिमा बोर्ड जस्तो महत्वपूर्ण ठाउँमा प्रमुख पद खाली राख्न भएन । त्यसैले मन्त्रालयका सहसचिव पौडेललाई केही समयका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो,’ उनले भने । कार्यकारी निर्देशक डा. रघुराम काफ्लेले गत आइतबार राजीनामा दिएका थिए । निमित्त कार्यकारी निर्देशक पौडेल मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा प्रमुख हुन् । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार उनलाई बोर्ड र नीति तथा योजनामा महाशाखा दुवै हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्