काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले भनिन्, ‘म छोरी हुँ । घर समाजसँगै आवश्यकता परे दे श पनि सम्हाल्न सक्छु।’ उनले देशलाई फरक विचार आवश्यकता रहेकाले समाज रूपान्तरणका लागि राजनीतिमा होमिएको बताइन । कुन्ती अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा पनि प्रतिस्पर्धामा थिइन् । त्यतिबेला उनी पराजित भएकी थिइन् ।
त्यो अनुभवबाट धेरै सिकेको उनी बताउँछिन् । काठमाडौं–२ बाट उम्मेदवारी दिएकी उनले भनिन्, ‘हामी महिला, सधैं पहिला ।’ महिला र पहिलाकै अवधारणाका साथ एमालेको तर्फबाट अस्मिता थापाले पनि ओखलढुंगाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी छन् । उनी २०७९ मा स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिकाको उपाध्यक्षमा सबैभन्दा कम उमेरको जनप्रतिनिधिका रुपमा निर्वाचित भएकी हुन् ।
हाल उमेरले २९ वर्षीया थापाले युवा पुस्ताको आवाज र पाका पुस्ताको सम्मान गर्दै विकास निर्माणमा जोड दिने धारणा राखिन् । ‘युवा पुस्ता र पाका पुस्ताको समिश्रणले नयाँ रूपान्तरण सम्भव छ,’ उनी भन्छिन् ।
रास्वपाबाट रञ्जु दर्शना काठमाडौं–१ की उम्मेदवार हुन् । उनले समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएर प्रत्यक्षमा उम्मेदवारी दिएकी हुन् । २०६७/६८ देखि विवेकशील नेपाली दलबाट दर्शनाको राजनीतिक यात्रा सुरु भएको हो ।
२०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको प्रमुख पदमा प्रतिस्पर्धा गर्दा उनले निकै चर्चा पाएकी थिइन । दर्शनाले राजनीतिलाई आफूले सके सफा गर्ने नसके फोहर नगर्ने भनेर प्रवेश गरेको बताइन । मुलुक बनाउन नयाँ धारसहित युवा र नवीन सोच विचारको आवश्यकता रहेको उनको भनाइ छ । गर्भवती अवस्थामा रहनुभएकी दर्शना देशको भविष्य सुनिश्चित गर्न असल राजनीतिक चरित्र आवश्यक रहने धारणा राख्छिन् ।
कांग्रेसबाट झापा–२ मा उम्मेदवारी दिएकी सरिता प्रसाइँ राजनीतिमा महिलाको मुद्दा मात्रै नभइ समग्र मुद्दालाई उठान गर्न सक्नुपर्ने बताउँछिन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलहुँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेकी उनले संविधानसभामा सभासददेखि राष्ट्रियसभामा मुख्य सचेतकसम्मको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । काठमाडौं–१ मा नेकपा उम्मेदवार मेनुका भण्डारी चुनाव जित्ने सम्भावनाबारे आफ्नै ठाउँका छोरी र बुहारीलाई अघि बढाउने जिम्मेवारी जनताकै हातमा रहेको प्रतिक्रिया दिन्छिन् ।
महिला जिताउन जरुरी
उम्मेदवारी दिएका अधिकाश महिलाले महिला र पुरुष उम्मेदवारमा के फरक ? भन्ने प्रश्नको सामना गर्नुपरेको बताउँछन् । अधिकारकर्मी सरु जोशीसँग यसको जवाफ सरल र बहुआयामिक तर्क छ । उनी लामो समयदेखि नेतृत्व तहमा महिलालाई पुर्याउनुपर्छ भन्ने अभियानमा सक्रिय छिन् । उनले विभिन्न अध्ययनहरूबाट महिला नेतृत्व हुन सकेमा भ्रष्टाचार शून्य, स्थायी सुशासन, राज्य व्यवस्थापनमा कुशलता, शान्तिपूर्ण वातावरणमा काम गर्नसक्ने क्षमता, धैर्यता र आत्मविश्वासलगायतका गुण देखिने पुष्टि भइसकेको बताइन् । ‘घरदेखि परसम्मै व्यवस्थापन गर्न सक्षम महिलाको अभ्यासले राज्य सम्हाल्न सक्ने क्षमता नहुने कुरै भएन,’ उनी भन्छिन्, ‘महिला सक्षम छन्, एक पटक अवसर दिएर हेर्नुपर्छ ।’ आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएकामा तीन हजार ८९ पुरुष र ३९६ महिला र अन्यमा एक जनाले दर्ता गरेका छन् । यस अघिका २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र र राजनीतिक पार्टीसहित जम्मा २३५ जनाले निर्वाचनमा उम्मेदवारी दर्ता गराएका थिए । जसमा सबैभन्दा बढी ५८ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । पुरुषको संख्या धेरै देखिँदा महिला थोरै देखिन्छन् । तर, विगतको तुलनामा यो पटक महिला उम्मेदवार घटेका भने होइनन् ।