नेभिगेशन
प्रदेश

हराउँदै गए अगेनाको कथा संस्कृति

मोबाइल तथा इन्टरनेटले अगेनाको त्यो न्यानो जमघट विस्थापित गरिदियो । आजका बालबालिकालाई लोककथा लामो र बोरिङ लाग्छ । युट्युब र टिकटकका छोटा भिडियोले धैर्य र कल्पनाशीलता खुम्च्याएको छ ।

कञ्चनपुर । हिउँदका कठ्यांग्रिदा चिसा रातहरू सुदूरपश्चिमका पहाडी गाउँबस्तीमा केवल जाडो लिएर मात्र आउँदैनथे, ती आफ्नै किसिमको न्यानोपन, आत्मीयता र सांस्कृतिक सुवास बोकेर आइपुग्थे । साँझ पर्न थालेसँगै गाउँका हरेक घरमा अगेनामा आगो बल्थ्यो । धुवाँसँगै फैलिन्थ्यो मायालु गफ, हाँसो र कथाको संसार । घरका महिलाहरू छिटोछिटो खाना तयार गर्थे । खाना खाएपछि बुढापाका अगेनाको वरिपरि बस्दथे र उनीहरूलाई घेरेर नाति–नातिनाको गोलो बन्थ्यो । ती अबोध तर जिज्ञासु आँखाहरूको एउटै आग्रह हुन्थ्यो — ‘हजुरबुबा, आज एउटा कथा सुनाइदिनुस्,’ वा ‘हजुरआमा, डर लाग्ने वा अचम्मको कहानी भन्नुस् ।’

त्यसपछि सुरु हुन्थ्यो लोककथा हाल्ने अनवरत सिलसिला । कथा केवल शब्द मात्र हुँदैनथ्यो, त्यो भाव, अभिनय र अनुभूतिको संगम हुन्थ्यो । कथा सुनाउने बूढापाकाहरू कहिले पात्रसँगै आफूलाई जोडेर भावुक हुन्थे, कहिले आँखाबाट आँसु झार्दै कथाको पीडा महसुस गराउँथे । बीच–बीचमा देउडा वा झ्याउरेका टुक्रा मिसिन्थे, जसले कथालाई अझ जीवन्त बनाउँथ्यो । सुन्ने बालबालिका कहिले डरले आँखा चिम्लन्थे त कहिले ‘अब के हुन्छ ?’ भन्दै कल्पनाको सागरमा हराउँथे ।

श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्रविक्रम सिंह ती दिन सम्झिँदै भन्छन्, ‘ती सम्झनाहरूले बालापन फिर्ता आएको जस्तो लाग्छ । तर समयसँगै अगेनाको आगो निभेझैं सुदूरपश्चिमका अनमोल लोककथाहरू पनि विस्तारै हराउँदै गएका छन् ।’ उनका अनुसार, डोटी, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, बाजुरा, बझाङ, कैलाली र कञ्चनपुर क्षेत्रमा बोलिने डोटेली र थारु भाषामा कथा ‘हाल्ने’ मौलिक परम्परा थियो । ती कथाहरू पुस्तकमा लेखिएका थिएनन्, बरु बाजे–बज्यैबाट नाति– नातिनीसम्म मुखैमुख सर्दै आएका अलिखित इतिहास थिए ।

सुदूरपश्चिमलाई ‘देवभूमि’ पनि भनिन्छ । यहाँ मष्टो, निङ्गलाशैनी, सिद्धनाथ, वैजनाथ, वीरवेताल, भागेश्वर, उग्रतारा, शैलेश्वरी र मालिकार्जुनजस्ता देवदेवीका कथाहरू गाउँगाउँमा सुनिन्थे । डोटेली भाषामा यस्ता दैवी कथालाई ‘चैत’ भनिन्थ्यो, जहाँ देवताले अन्याय सहँदैनन्, धामीमार्फत सत्य ओकल्छन् र गरिब तथा दुःखीको रक्षक बन्छन् भन्ने विश्वास रहँदै आएको छ । यिनै कथाले समाजमा न्याय, नैतिकता र आध्यात्मिक अनुशासनको जग बसालेका थिए ।

वीरगाथामा कत्युरी र मल्ल राजाहरूको बहादुरी र बलिदानको चर्चा हुन्थ्यो । तराईका कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायमा स–साना कथालाई ‘खिस्सा’ र लामालाई ‘बटकोही’ भनिन्थ्यो । ती कथामा बाघ, बाँदर, चराचुरुङ्गी र फूल पुतलीसमेत मानिससरह बोल्थे, जसले प्रकृति र मानवबीचको गहिरो सम्बन्ध देखाउँथ्यो ।

डोटेली लोककथामा भूतप्रेत, राजारानी, चतुर किसान र पौरखी पात्र प्रशस्त थिए । यस्ता कथाले बालबालिकालाई साहस, सतर्कता र बुद्धिको महत्व सिकाउँथे । गरिबले बुद्धिको प्रयोग गरेर सामन्तलाई जितेको कथा सुन्दा न्यायप्रतिको विश्वास अझ बलियो बन्थ्यो । सामाजिक अगुवा शेरबहादुर साउद भन्छन्, ‘त्यो बेला लिखित कानुन थिएनन्, तर देवन्यायमा अटुट विश्वास थियो । कथामार्फत मानिसलाई डर र धर्मको सीमाभित्र बस्न सिकाइन्थ्यो ।’ समय बदलियो । रेडियो आयो, त्यसपछि टेलिभिजन र अहिले मोबाइल तथा इन्टरनेटले अगेनाको त्यो न्यानो जमघट विस्थापित गरिदियो । आजका बालबालिकालाई लोककथा लामो र बोरिङ लाग्छ । युट्युब र टिकटकका छोटा भिडियोले धैर्य र कल्पनाशीलता खुम्च्याएको छ ।

६७ वर्षीय जयबहादुर ऐर स्मरण गर्छन्, ‘पहिले कथा यति सुरिलो भाकामा भनिन्थ्यो कि रात बितेको पत्तै हुँदैनथ्यो ।’ तर पहाडबाट तराईतर्फको बसाइसराइ, आधुनिक खेती प्रणाली र जीवनशैलीसँगै कथाको परिवेश नै हराउँदै गयो । थारु समुदायमा मकै छुटाउने बेलाको रातभरि कथा भन्ने चलन पनि अब सम्झनामा मात्र सीमित छ ।

राना थारु समुदायका अगुवा जगता राना चिन्ता व्यक्त गर्छन् । ‘यी कथाले मनोरञ्जन मात्र होइन, सामाजिक अनुशासन र नैतिकता सिकाउँथे,’ उनी भन्छन् । भलमन्सा रामकिसन रानाका अनुसार, कहिल्यै नसकिने दास्तान र गीतसहितको कथा वाचनले अनपढ मानिसलाई पनि जीवनदर्शन बुझाउँथ्यो ।

आज ती कथा सुनाउने पुर्खा इतिहासका पानामा बिलाएका छन्, र उनीहरूसँगै मौखिक सम्पदा पनि हराउँदै छ । संस्कृतिकर्मी ईश्वर सुनार भन्छन्, ‘लोककथा सुदूरपश्चिमी पहिचानको मेरुदण्ड हो । यी कथालाई डोटेली र थारु भाषामै संकलन गरी पुस्तक, अडियो र भिडियोका रूपमा अभिलेखीकरण गर्न जरुरी छ ।’ विद्यालयको स्थानीय पाठ्यक्रमदेखि डिजिटल माध्यमसम्म लोककथालाई नयाँ ढाँचामा प्रस्तुत गर्न सके मात्र यो अमूल्य पहिचान जोगिन सक्ने उनको विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्