ढाका । बंगलादेशी अधिकारीले दबाबमा नझुक्ने बताएका छन् भने टोलीका कप्तान लिटन दासले विश्वकपमा सहभागिताबारे चिन्ता व्यक्त गरेका छन् ।
एक वरिष्ठ खेल अधिकारीले सुरक्षा चिन्ताका कारण भारतमै खेल्नुपर्ने दबाब स्वीकार्य नहुने बताउँदै टी–२० विश्वकपमा बंगलादेशको सहभागितामाथि नै प्रश्न उठाएका छन् । बंगलादेशको अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नज्रुलले हालै सरकारी समाचार संस्था बीएसएससँग भने, ‘हामीले वैध कारणका आधारमा खेल स्थल परिवर्तन गर्न तार्किक अनुरोध गरेका हौँ । अव्यावहारिक दबाब वा अनुचित जबर्जस्तीमार्फत हामीलाई भारतमा खेल्न बाध्य पार्न सकिँदैन ।’ बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले खेलाडीहरूको सुरक्षा तथा संरक्षासम्बन्धी चिन्ता देखाउँदै समूह चरणका चारै खेल भारतमा खेल्न अस्वीकार गरेको छ । उसले आगामी प्रतियोगिताका सह–आयोजक श्रीलङ्कामा ती खेल सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष अनुरोध गरेको छ ।
क्रिकेटको सर्वोच्च निकाय आईसीसीले छिट्टै यस विषयमा निर्णय गर्ने अपेक्षा भइरहँदा बंगलादेशी सरकारी अधिकारीहरूले आफ्नो अडान परिवर्तन गर्न दबाब नमान्ने स्पष्ट पारेका छन् ।
बीसीबी र आईसीसीबीच भएको पछिल्लो वार्तासमेत सहमति बिना नै टुंगिएको थियो । समाचारअनुसार, बुधबारसम्म भारतमा खेल्न सहमत नभए प्रतियोगिताबाट बाहिरिन सक्ने चेतावनी बंगलादेशलाई दिइएको थियो ।
यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारत जान अस्वीकार गर्ने बंगलादेशको निर्णयलाई समर्थन गरेको र क्षेत्रीय राजनीतिक अस्थिरतालाई ध्यानमा राखी निर्णय गर्न आईसीसीलाई पत्र लेखेको बताइएको छ ।
पीसीबीले आईसीसीको शासकीय निकायलाई पत्र लेख्दै छिमेकमा जारी राजनीतिक उथलपुथलका बेला भारतमा खेल्न नचाहने बीसीबीको अडानलाई समर्थन गरेको जनाएको छ । यसअघि पाकिस्तानी सञ्चारमाध्यमहरूले बंगलादेशलाई विश्वकपबाट हटाइएमा पाकिस्तानले पनि प्रतियोगिताबाट हात झिक्न सक्ने अड्कलबाजी गरेका थिए ।
टी–२० विश्वकप फेब्रुअरी ७ बाट, अर्थात् दुई साताभन्दा अलिक बढी समयपछि सुरु हुँदैछ । बंगलादेशका समूह चरणका चार खेल कोलकाता र मुम्बईमा तय गरिएका छन् ।
‘सम्पूर्ण बंगलादेश अनिश्चिततामा’
बंगलादेशका कप्तान लिटन दासले टोलीले विश्वकप खेल्ने–नखेल्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । मंगलबार घरेलु क्रिकेट खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘जहाँ म उभिएको छु, म अनिश्चित छु, सबै अनिश्चित छन् । के तपाईं पक्का हुनुहुन्छ हामी विश्वकप खेल्छौँ ?’
ढाकास्थित पत्रिका प्रथम आलोले उद्धृत गरेको टिप्पणीमा उनले थपे, ‘अहिलेको अवस्थामा सम्पूर्ण बंगलादेश नै अनिश्चिततामा छ ।’
एक सुझावअनुसार, बंगलादेशको स्थान स्कटल्यान्डले लिन सक्नेछ, जुन विश्वकपमा छनोट हुन नसकेको उच्च वरियताको टोली हो ।
बीबीसीका अनुसार, क्रिकेट स्कटल्यान्डसँग अहिलेसम्म आईसीसीले सम्पर्क गरेको छैन, तर ढिलो भए पनि अवसर मिले सहभागिताका लागि तयार रहेको जनाएको छ ।
बंगलादेश र भारतबीचको विवाद जनवरी ३ मा चर्किएको हो । जारी राजनीतिक तनावका कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को निर्देशनमा बंगलादेशका तीव्र बलर मुस्ताफिजुर रहमानलाई अचानक इन्डियन प्रिमियर लिग (आईपीएल) बाट हटाइएपछि विवाद सतहमा आएको थियो ।
अघिल्ला वर्षसम्म निकट सहयोगी मानिएका यी दुई देशबीचको कूटनीतिक सम्बन्ध गत अगस्टदेखि कडा परीक्षणमा परेको छ । त्यसबेला पूर्व प्रधानमन्त्री शेख हसिना आफ्ना विरुद्ध भएको जनआन्दोलनपछि ढाकाबाट नयाँदिल्ली पलायन भएकी थिइन् । बंगलादेशले भारतमाथि आफ्ना थुप्रै समस्याका लागि दोष लगाउँदै आएको छ, जसमा सत्तामा रहँदा हसिनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको समर्थन पनि समावेश छ । विश्वकपकै अवधिमा, हसिना पदच्यूत भएपछि बंगलादेशले पहिलोपटक आम निर्वाचन गर्न लागेको छ ।