ललितपुर । नेपालको कृषि क्षेत्रलाई वैज्ञानिक, दिगो र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित आयोजित ‘आनुवंशिकी, बाली प्रजनन तथा बिउ विज्ञानसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन’ले कृषि नवप्रवर्तन, जैविक विविधता संरक्षण, बौद्धिक सम्पत्ति अधिकार र जलवायु सहनशील कृषिको आवश्यकता औंल्याएको छ । सम्मेलनमा विज्ञहरूले नेपालमा स्पष्ट नीति, कानूनी संरचना र भौगोलिक संकेत संरक्षणको अभावलाई कृषि विकासको प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्दै उन्नत बिउमा पहुँच, स्थानीय जातको संरक्षण, किसान अधिकार र जलवायु परिवर्तनअनुकूल प्रविधिको विकासमार्फत खाद्य सुरक्षा, रोजगारी र जीवनस्तर सुधारमा पहल गर्नुपर्ने औंल्याए ।
तीन दिने सम्मेलनको अन्तिम दिन बिहीबार आफ्नो प्रस्तुति दिँदै कृषिविज्ञ डा देवेन्द्र गौचनले नेपालमा कृषि क्षेत्रमा नवप्रवर्तन, जैविक विविधताको संरक्षण र सामाजिक न्याय सुनिश्चित गर्न बौद्धिक सम्पत्ति अधिकार, बिउ प्रणाली र कृषि जैविक विविधताको दिगो उपयोगसम्बन्धी नीति अत्यन्त महत्वपूर्ण रहेको तर्क राख्दै विद्यमान नीतिगत कमजोरीलाई सम्बोधन गर्नुपर्ने चुनौती रहेको बताए ।
उनले नेपालमा वनस्पति जात संरक्षण, भौगोलिक संकेत, पहुँच तथा लाभ बाँडफाँड, किसान अधिकार जैविक सुरक्षालगायत विषयमा स्पष्ट नीति र कानूनको अभाव रहेको बताए । यद्यपि जैविक विविधता र बिउ प्रणालीसम्बन्धी केही नीति भए पनि ती स्थानीय जातको प्रयोगबाट हुने लाभ बाँडफाँड जस्ता विषय समेट्न पर्याप्त नभएकाले पनि त्यसतर्फ काम गर्नुपर्ने धारणा राख्दै स्पष्ट नीति, कानूनी संरचना विकास गर्न सुझाए । कार्यक्रममा अर्का कृषि विज्ञ विमल बरालले ‘कृषिजन्य भौगोलिक संकेतः पहिचानसहितको ग्रामीण विकासको माध्यम’ शीर्षकमा प्रस्तुति दिँदै नेपालमा गोर्खाको सुन्तला, सिन्धुलीको जुनार, खोकनाको तेल, धुनीबेंसीको अम्बा, छैमलेको नास्पाति, मुस्ताङको स्याउ, जुम्लाको स्याउको प्रवर्धन गर्न सकिने बताउँदै ती कृषिजन्य वस्तुको भौगोलिक संकेत अधिकार संरक्षण गर्न पहल गर्नुपर्ने सुझाए । नेपालमा ट्रेडमार्क सम्बन्धमा पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ र कलेक्टिभ मार्कको दर्ता सम्बन्धी निर्देशिका २०६७ ले भौगोलिक संकेतजन्य वस्तुको दर्ता तथा कानूनी संरक्षणलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।
गण्डकी नदी बेसिन क्षेत्रमा जलवायु परिवर्तनका असरबाट प्रभावित समुदाय र पारिस्थितिकी प्रणालीको अनुकूलन क्षमता र लचिलोपनमाथिको अध्ययन निष्कर्ष पेश गर्द कृषि वैज्ञानिक प्रेम न्यौपानेले गण्डकी क्षेत्रका सञ्चालित परियोजनाले खाद्य सुरक्षा, पोषण सुधार, महिला श्रम न्यूनीकरण गर्ने, रोजगारी सिर्जना गर्ने र करिब १९ लाख मानिसको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको बताए । साथै यसले जलवायु सहनशील कृषि विकासको नमूना प्रस्तुत गर्ने अपेक्षा गरिएको बताए ।
नेपालको कृषि क्षेत्रलाई वैज्ञानिक, दिगो र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित ‘आनुवंशिकी, बाली प्रजनन तथा बिउ विज्ञानसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन’ आयोजना गरि एको हो । सम्मेलनको मुख्य उद्देश्य नेपालमा विभिन्न बालीहरूको जातीय सुधार र विकास तथा बिउ नवप्रवर्तनको भविष्य निर्माण गर्नु रहेको थियो ।
आयोजक संस्था नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका प्रमुख धानविज्ञ डा बालकृष्ण जोशीले नेपालको कृषि–पर्यावरणीय क्षेत्रहरूलाई ध्यानमा राखी ६ वटा विज्ञानः अनुवंश विज्ञान (आनुवंशिकी), बाली प्रजनन, बिउ विज्ञान, कृषि जैविक विविधता, कृषि जैविक प्रविधि तथा कृषि बायोस्टाटिस्टिक्स प्रयोगमार्फत कृषि क्षेत्रमा फड्को मार्ने प्रयासमा बल दिन सम्मेलन गरिएको बताए ।
कृषि क्षेत्रले भोगिरहेको कम उत्पादनशीलता, उन्नत तथा गुणस्तरीय बिउमा सीमित पहुँच र जलवायु परिवर्तन अनुकूल प्रविधिको अभावजस्ता चुनौतीका पहिचान गर्न र सम्भावित निकासका लागि सम्मलेन फलदायी भएको सहभागीहरूको धारणा थियो । ‘यस्ता सम्मेलन अत्यन्तै अपरिहार्य छन्, तर सम्मेलनका परिणामहरू लक्षित समुदायमा पुर्याउनु अर्को चुनौती छ, त्यसमा पनि सबैले पहिलकदमी लिनु आवश्यक छ,’ कर्मा एण्ड सन्स टे«डर्सका सुचितप्रसाद श्रेष्ठले बताए । सम्मेलनको आयोजना बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल (पिबाग्सन) र राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद् हुन् भने सहआयोजकका रूपमा लिबर्ड, जिन बैंक, अक्सफाम नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, मुक्तिनाथ बिउ बैंक लिमिटेड, कर्मा ग्रुप रहेका थिए । तीन दिनसम्म चलेको सम्मेलनमा २३० अनुसन्धानकर्ता, वैज्ञानिक, नीति निर्माता, प्राध्यापक, विद्यार्थी, उद्यमी, निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनमा सात वटा कार्यपत्र, ४५ वटा अनुसन्धान लेख तथा १५ वटा पोष्टरहरू प्रस्तुत थियो भने १५ वटा प्रदर्शनी कक्ष रहनेछ ।