नेभिगेशन
खेलकुद

लगातार तीन जितसँगै बंगलादेश सुपर सिक्समा

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बंगलादेशले जित हासिल गरेसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा बंगलादेशले लगातार तीन जित हासिल गरेसँगै सुपर सिक्समा प्रवेश गरेको हो ।

आज सम्पन्न तेस्रो खेलमा बंगलादेशले नामिबियालाई ८० रनले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि बंगलादेशले अमेरिका र पपुवान्युगिनीलाई हराएको थियो । यो जितसँगै बंगलादेश ६ अंकका साथ ‘ए’ समूहको शीर्ष स्थानमा छ ।

खेलको सुरुमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रन बनाएको थियो । बंगलादेशका लागि शोभना मोस्तरीले सर्वाधिक २७ र दिलेरा अख्तरले २५ रन जोडेका छन् ।

नामिबियाको बलिङमा साइमा टुहादेलेनी र सिल्भिया सिहेपोले समान दुई/दुई विकेट लिए भने विल्का म्वाटिले र जुरियन यायरगार्डट्ले एक/एक विकेट लिएका छन् । जवाफी ब्याटिङमा नामिबियाले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो । नामिबियाका लागि सुने विटमानले सर्वाधिक १९ र मेजरली इगोरासेसले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । बंगलादेशकी शोर्ना अख्तरले चार र रबेया खान तथा फहिमा खातुनले समान तीन/तीन विकेट लिएका छन् ।

यसअघि, छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको हो ।

यो जितसँगै समूह बी मा रहेको नेदरल्याण्ड्सले तीन खेलबाट छ अंक जोडेको छ । आजको हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल यसअघि पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

जितका लागि १४१ रनको लक्ष्य पछ् याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनमा समेटियो । नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन जोडिन् । त्यस्तै सीता राना मगरले अविजित २७ रनको योगदान गरिन् भने बिन्दु रावलले १८ रन बनाइन् ।

नेदरल्याण्ड्सका लागि इसाबेल भान डर वोनिङले तीन विकेट लिइन् भने सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा पाँच विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन जोडिन् । त्यस्तै स्टेर कालिसले ३० रन बनाउँदा रोबिन रिके १९ र आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन् । नेपालका रुबिना क्षेत्रीले दुई विकेट लिइन भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्