काठमाडौं । काठमाडौं उपत्यकालाई तराई/मधेससँग सबैभन्दा छोटो दूरीमा जोड्ने बहुप्रतीक्षित र रणनीतिक महत्त्वको पूर्वाधार आयोजना हो, काठमाडौं– तराई/मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) । २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक शिलान्यास गरेपछि निर्माणमा गएको द्रुतमार्ग सुरुवाती कार्यतालिका अनुरूप काम हुन सकेको भए आजको मितिसम्म आइपुग्दा सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने थियो ।
तर, निर्माणमा गएको ८ वर्षभन्दा बढी समय व्यतित भइसक्दा अहिलेसम्म द्रुतमार्गको आधा काम पनि भएको छैन । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको प्रगति विवरणअनुसार द्रुतमार्गको भौतिक प्रगति ४५.१६ प्रतिशतमात्रै छ । द्रुतमार्ग आयोजनाको वित्तीय प्रगति पनि ४५.३३ प्रतिशत (मोबिलाइजेसन सहित) पुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
‘यो द्रुतमार्गको काम निकै जटिल भएकाले यसो हेर्दा प्रगति सुस्त जस्तो देखिन्छ,’ उनले भने, ‘तर पछिल्लो तालिकाभित्र नै बाँकी काम सम्पन्न गर्न निर्माणलाई गति दिएका छौं ।’ उनका अनुसार द्रुतमार्गको सडक आयोजना अन्तर्गत १०.९७९ किलोमिटर लामो ७ वटा सुरुङमार्ग निर्माण भइरहेकोमा ३.३५५ किलोमिटर लामो महादेवटार सुरुङमार्गमा देब्रे सुरुङमार्गतर्फ २.२५ किलोमिटर खनेर सकिएको छ । देब्रे सुरुङमार्गको यो प्रगति ७४ प्रतिशत हो । यो सुरुङमार्गमा १.१९६ किलोमिटर लाइनिङको काम सकिएको पनि बस्नेतले जानकारी दिए ।
यस्तै, दाहिने सुरुङतर्फ २.११९ किलोमिटर सुरुङ खनेर सकिएको छ । दाहिने सुरुङको यो प्रगति ६४ प्रतिशत भएको बस्नेतले बताए । यो सुरुङमा ०.५११ किलोमिटर लाइनिङ गर्ने कार्य सकिएको छ । यस्तै, १.६९० किलोमिटर लामो धेद्रे सुरुङमार्गमा दाहिने र देब्रे सुरुङमार्ग पहिले नै खनेर सकिएको छ । पुस मसान्तसम्ममा देब्रे सुरुङमार्गमा १.०५८ किलोमिटर र दाहिनेतर्फ १.०५० किलोमिटर लाइनिङको काम सकिएको नेपाली सेनाले जनाएको छ ।
यस्तै, १.६२२ किलोमिटर लामो पहिले नै खनेर सकिएकोमा अहिले लाइनिङको काम धमाधम भइरहेको बस्नेतले जानकारी दिए । यो सुरुङमार्फमा देब्रेतर्फको खण्डमा १.५१२.८० किलोमिटर र दाहिनेतर्फको खण्डमा १.५२३ किलोमिटर लाइनिङको काम सकिएको छ ।
यस्तै, दाहिनेतर्फ २.२१३ किलोमिटर र देब्रेतर्फ २.२६१ किलोमिटर लम्बाई रहेको चन्द्राम भीर सुरुङमार्ग अहिलेसम्म क्रमशः ३७५ मिटर र २८६ मिटर सुरुङमात्रै खनेर सकिएको छ । यसैगरी, देवीचौर सुरुङमार्गमा देब्रेतर्फको १.०७५ किलोमिटर खण्डमा ८ मिटर मात्रै खनिएको छ । दाहिनेतर्फको १.१०० किलोमिटर खण्डमा पोर्टलको काम भइरहेको छ ।
सिसौटार सुरुङमार्गको प्रगतिपनि न्यून देखिएको छ । यो सुरुङमार्गको ४८० मिटर लामो दाहिने खण्डमा अहिलेसम्म ७ मिटर मात्रै खनिएको छ भने ५६० मिटर लामो देब्रे खण्डमा पोर्टलको काम मात्रै भइरहेको छ । मौरीभिर सुरुङमार्गमा देब्रे खण्ड ६६३ मिटर र दाहिने खण्ड ५३५ मिटर रहेकोमा दुवै खण्डमा सुरुङ खन्ने कार्य अगाडि बढ्न सकेको छैन । यी खण्डमा अहिले पोर्टलको कार्य भइरहेको नेपाली सेनाको पुस मसान्तसम्मको प्रगति रिपोर्टमा जनाइएको छ ।
पुलहरूको कार्य प्रगति
द्रुतमार्ग आयोजनाअन्तर्गत ८९ स्थानमा पुल निर्माण गर्न प्रस्ताव गरिएकोमा अहिलेसम्ममा ८५ स्थानमा पुल निर्माण गर्न ठेक्का लगाउने कार्य पूरा भई निर्माण कार्य भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए । उनका अनुसार निर्माणाधीन पुलहरू मध्ये ५४ वटा पुलको जग हाल्ने कार्य तथा ३४ वटाको पुलको ‘सब स्ट्रक्चर’ गर्ने कार्य सकिएको छ ।
अहिलेसम्म ८२ मिटर उचाइ भएका विशेष प्रकृतिका १३ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको पनि उनले बताए । उनका अनुसार चारवटा पुल निर्माण हुनुपर्ने खोकना खण्डमा भने स्थानीयको अवरोधका कारण जग्गा अधिग्रहणको काम अगाडि बढ्न नसकेकाले ठेक्का लगाउन सकिएको छैन ।
सडक निर्माण प्रगति
द्रुतमार्ग आयोजनाको सडकतर्फ ११ किलोमिटर सडकको ‘सब–बेस’ तथा सर्भिस लेनमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । आयोजनाको विभिन्न सडक खण्डमा बाढी तथा पहिरोबाट हुनसक्ने सम्भावित क्षति रोक्न ढलान सुरक्षा, बक्स कल्भर्ट, ‘अप्टिकल फाइभर डक्ट’ विद्युतीकरण उपसाधन डक्ट लगायत संरचनाको निर्माण कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।
द्रुतमार्गको केही खण्ड पर्सा राष्ट्रिय निकुञ्जमा समेत पर्ने भएकाले निगगढ इलाकामा वन्यजन्तुलाई सडक वार–पार गर्न ‘एनिमल अन्डर पास’ निर्माणका लागि त्यसको स्ट्रक्चर बनाउने कार्य भइरहेको छ । द्रुतमार्गको निगजढ इलाकामै टोल प्लाजा तथा इन्टरचेन्ज निर्माण कार्य पनि भइरहेको छ । यो द्रुतमार्ग निर्माणका लागि रुट क्षेत्रमा अहिलेसम्ममा ५४ हजार १ सय ५१ वटा रुख बिरुवा कटान गरिएको छ ।
लागत र खर्चको अवस्था
यो द्रुतमार्ग आयोजना निर्माण सम्पन्न गर्न २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । बितेको ८ वर्षमा द्रुतमार्ग आयोजना निर्माणमा कुल ८२ अर्ब ९७ करोड रुपैयाँ खर्च भइसकेको छ । कुल खर्चे द्रुतमार्गको संरचना निर्माणमा ७७ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ भने बाँकी राजस्वबापतको रकम हो ।
यो द्रुतमार्गको बाँकी काम सम्पन्न गर्न चालु आर्थिक वर्ष (२०८२/८३) मा २४ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्तसम्म) सकिँदा द्रुतमार्ग आयोजनामा १ अर्ब ६२ करोड ९२ लाख ३४ हजार रुपैयाँ खर्च भइसकेको छ ।
द्रुतमार्ग आयोजनाले कूल खर्च गरेको रकममध्येबाट जग्गा खरिदको लागि दिइएको पेश्कीबापत १ अर्ब ६५ करोड रुपैयाँ, निर्माण व्यवसायीलाई दिइएको ८२ करोड ३७ लाख रुपैयाँ र नेपाल विद्युत प्राधिकरणलाई दिएइको पेश्की ९ करोड ८१ लाख रुपैयाँसहित कुल २ अर्ब ५७ करोड रुपैयाँ राजस्व तिरेको पनि नेपाली सेनाले जनाएको छ ।
द्रुतमार्गको प्रवेश विन्दुको विवाद अझै हटेन
काठमाडौं–तराई/मधेस द्रुतमार्गको विस्तृत अध्ययन रिर्पोट (डिपिआर) अनुसार सुरुवाती विन्दु खोकना हो । तर, स्थानीय तथा सरोकारवालाहरूले खोकना र बुङमती क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्वको कारण देखाउँदै यो द्रुतमार्गको संरचना निर्माणको काम अगाडि बढाउन दिएका छैनन् ।
द्रुतमार्गको काम सम्पन्न गर्नका लागि अहिले यहाँ देखिएको विवाद प्रमुख चुनौती बनेको छ । खोकनाबासीले प्रस्थान बिन्दु ५ किलोमिटर पर डुकुछापमा सार्नुपर्ने माग राखेर काम द्रुतमार्गको काम रोकेका छन् । नेपाली सेनाले खोकनामा देखिएको समस्या समाधानका लागि रक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी पहल गरिरहेको भए पनि खासै प्रगति हुन सकेको छैन ।
२०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौंको खोकनादेखि बाराको निजगढसम्म पर्ने ७२.५ किलोमिटर लामो यो द्रुतमार्ग आयोजना २०८३ साल चैतभित्र सम्पन्न गर्ने पछिल्लो तालिका छ । तर, निर्माण थालेको ८ वर्षमा आधा काम हुन नसकेको द्रुतमार्ग अबको १४ महिनाभित्र सम्पन्न हुन सक्ने सम्भावना भने न्यूज देखिन्छ ।
द्रुतमार्गको महत्त्वपूर्ण र जोखिमपूर्ण काम सुरुङमार्गको निर्माण भएकाले द्रुतमार्गको रुटमा पर्ने सुरुङको धेरै काम सम्पन्न भइसकेकाले बाँकी रहेको काम अबको १४ महिनाभित्र सम्पन्न गर्न सकिने प्रवक्ता बस्नेतको दाबी छ ।
कस्तो हुनेछ द्रुतमार्ग ?
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार यो द्रुतमार्ग आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेना लिएर गरिरहेको छ । द्रुतमार्गको सुरुवाती विन्दु ललितपुरको खोकना र अन्तिम विन्दु बाराको निजगढ छ ।
यो द्रुतमार्गको पहाडी भेगमा सडकको चौडाई २५ मिटर र तराई भेटमा २७ मिटर हुने गरी डिजाइन गरिएको छ । दु्रतमार्ग आयोजना अन्तर्गत ललितपुरमा ९ किलोमिटर, काठमाडौंमा ४.६ किलोमिटर, मकवानपुर ४९.७७ किलोमिटर र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ ।
द्रुतमार्ग सम्पन्न भएपछि तराईबाट काठमाडौंसम्मको दूरी ४ घन्टा कम हुने तथा सामान ढुवानीमा मात्रै वार्षिक ५० अर्ब रुपैयाँ बढी बचत हुने अनुमान गरिएको छ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग एसियन हाइवे स्तरको हुनेछ भने प्रतिघन्टा १२० किलोमिटरको गतिमा सवारी साधन गुडाउन सकिने भनिएको छ ।
यो द्रुतमार्गले काठमाडौं उपत्यकालाई पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग प्रत्यक्ष रूपमा जोड्नेछ । द्रुतमार्गबाट यात्रा गर्दा प्रवेश र निस्कने खोकना, निजगढ र बुधुने विन्दु रहनेछन् । बुधुनेमा प्रवेश वा निस्किएर मदन भण्डारी राजमार्ग वा कान्ति राजपथको पहुँचमा पुगिनेछ ।
प्रवेश गर्ने तथा निस्कन मिल्ने यी ३ वटै विन्दुमा सेमी–अटोमेटिक टोल प्लाजा राखिनेछ । सवारी साधनको प्रकारअनुसार टोल तिर्नुपर्ने व्यवस्था गरिने नेपाली सेनाले जनाएको छ । द्रुतमार्गको रानी सेरा खण्डमा दुवै लेनमा दुई वटा आराम गर्ने स्थान निर्माण गरिने । यी स्थानमा यात्रुका लागि खानेकुरा, आरामको सुविधा, गाडी मर्मत गर्ने ग्यारेज, पेट्रोल पम्प र चार्जिङ स्टेशन लगायतको सुविधा हुनेछ । यो द्रुतमार्ग निर्माण हुँदा यो नेपालको पहिलो ‘एक्सप्रेस वे’ मात्र नभई, नेपाली स्रोत र क्षमताबाट निर्माण भइरहेको मेगा आयोजना पनि हो ।