नेभिगेशन
खेलकुद

टाइगर कप सुरु

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेल क्षेत्रको विकासबाट राष्ट्रको समग्र विकासको महत्वपूर्ण आधार हुने बताएका छन् ।

पोखरामा शुक्रबारदेखि सुरु भएको ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताए ।

‘खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । खेलको विकासबाट राष्ट्रको सर्वांगीण विकासको ढोका खोल्ने छ । खेलको विकासबाट राष्ट्रको सर्वांगीण विकासको ढोका खोल्न सकिन्छ । नेपाल खेलकुदको माध्यमबाट समेत चिनिँदै आएको छ । सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरूलाई खेलकै माध्यमबाट पराजित गर्न सकेका छौं,’ प्रदेश प्रमुखले भने । खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहेको उनको भनाइ छ ।

सानो स्थान, थोरै बजेट, सबै नेपालीको पहुँच, धेरैलाई मनपर्ने र मुलुकको भौगोलिक अवस्थाका कारण पनि भलिबल राष्ट्रिय खेल बन्न पुगेको बताउँदै उनले सीमित पूर्वाधार र सुविधाका बाबजुद अन्तर्राष्ट्रियस्तरमा नेपाली महिला भलिबल टोलीले प्राप्त गरेको नतिजा प्रशंसनीय रहेको बताए ।

उनले भने, ‘एसियन सेन्ट्रल जोन भलिबलको उपाधि लगातार जितेर नेपाली महिला भलिबल खेलाडीले नेपालको नाम चम्काएको म स्मरण गर्न चाहन्छु।’

भलिबलको भौतिक संरचना तथा पूर्वाधार कमजोर भए पनि यस्ता प्रतियोगिताका कारण खेलाडीलाई फाइदा पुर्‍याएको उनको भनाइ छ । जिल्ला तथा केन्द्रीयस्तरका प्रतियोगिताले खेलाडीलाई खेल कौशल प्रदर्शन तथा आर्थिक उपार्जनमा योगदान भएको भट्टले बताए ।

टाइगर ग्रुप अफ पोखराले विगत छ वर्षदेखि भव्य र व्यवस्थित ढंगले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी भलिबल खेलमार्फत पोखरा र गण्डकी प्रदेशमात्र नभई नेपाललाई नै चिनाउन महत्वपूर्ण भूमिका खेलेकामा धन्यवाद पनि व्यक्त गरे ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले टाइगर ग्रुपले आयोजना गरेको प्रतियोगिताले नेपाली भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पुगेको बताए । ‘नेपालको राष्ट्रिय खेल भलिबल विकासका लागि आफ्नै कभर्डहल निर्माण गर्नका साथै सातै प्रदेशमा प्रदेशस्तरीय खेलमैदान निर्माणका लागि संघले पहल गरिरहेको छ,’ उनले भने । टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले मुलुकको विषम परिस्थितिमा समेत आफूहरूले यो प्रतियोगितालाई निरन्तरता दिँदै भलिबल खेलमार्फत पोखरालाई विश्वसामु चिनाउन पहल गरेको बताए ।

‘छैटौं संस्करणमा आइपुग्दा टाइगर कप ब्राण्ड बनेको छ । यो ब्राण्डका रूपमा स्थापित गर्न भूमिका खेल्ने सबैमा म संस्थाका तर्फबाट आभार व्यक्त गर्दछु,’ शर्माले भने ।

यही माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ तीन विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र थाइल्याण्ड क्विन्स थाइल्याण्डले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी, पुरुषतर्फ विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भलिबल एशोसिएसनले उपाधिका लागि भिड्ने छ ।

प्रतियोगिताको पहिलो दिन विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । न्यू डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्दै सहज सुरुआत गर्‍यो ।

पुरुषतर्फ आर्मीले माल्दिभ्स भलिबल एसोसियसनलाई सोझो सेटमा हराउन सफल भयो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा नतिजा निकाल्यो । आजको अन्तिम तथा तेस्रो खेलमा एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई स्तब्ध पार्‍यो । पहिलो सेट २६–२४,दोस्रो सेट २७–२५ ले रोमाञ्चक जित निकालेको एपीएफले तेस्रो सेट गण्डकीलाई सुम्पियो ।

तेस्रो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्दा खेल चौथो सेटमा पुग्यो । चौथो सेटमा एपिएफले २५–२१ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । प्रतियोगिताअन्तर्गत शनिबार चार खेल हुनेछन् । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । दोस्रो खेल महिलातर्फ एपिएफ र थाइल्याण्ड क्विन्सबीच हुने तालिका छ ।

यसैगरी पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबीच हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल सङ्घबीच हुने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्