काठमाडौं – मुलुक प्रतिनिधि सभा निर्वाचनमा होमिएसँगै ठुला लगानीकर्ता शेयर बजारमा प्रवेश गरेका छन् । साताको पहिलो दिनको कारोबार रकम करिब १४ अर्ब पुग्नुले यसको संकेत गरेको हो ।
शेयर बजारमा आइतबार कुल कारोबार १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ७२९ रुपैयाँको भएको छ । सबै उपसमूहका सूचक हरिया भएका छन् भने आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चुनाव हुने निश्चित भएपछि ठुला लगानीकर्ताले पैसा लगाउन थालेको बजार विश्लेषकको भनाइ छ । सबै समूहमा हरियाली र एकैदिन झन्डै एक खर्बले बजार पुँजीकरण बढ्नु सामान्य खुद्रा लगानीकर्ताको मात्र बलले सम्भव हुँदैन । यस्ता संकेतहरू प्रायः संस्थागत तथा क्यापिटल–रिच लगानीकर्ताको प्रवेश वा पुनःसक्रियतासँग जोडिन्छन् ।
‘चुनाव निश्चित नहुँदासम्म ठुला लगानीकर्ता पैसा लगाउन अन्योलमा थिए,’ विश्लेषक रवीन्द्र भट्टराईले भने, ‘चुनाव हुने भएपछि आत्मविश्वास बढेको छ ।’ एकैदिन १४ अर्बको कारोबार हुनुलाई पुँजीबजारमा ठुला लगानीकर्ताको प्रवेश भएको भनेर बुझ्न सकिने उनले बताए ।
राजनीति परिवर्तनका घटनाक्रमले शेयर बजार प्रभावित हुने गरेको उनी बताउँछन् । ‘नेपालमा चुनावमा मात्र हुन गइरहेको छैन, नयाँ पार्टीहरूको पक्षमा माहोल पनि देखिएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा राजनीतिक परिवर्तन हुन सक्ने अपेक्षा लगानीकर्ता बढेको हुनसक्छ । राजनीतिक परिवर्तनले लगानीकर्तामा सधैं आशा जगाउन सक्छ ।’
बैंकको सीइओ आउँदा होस् या धितोपत्र बोर्डमा प्रमुख फेरिँदा बजारले जहिल्यै सकारात्मक संकेत देखाउने गरेको उनले बताए ।
‘अमेरिकामा धितोपत्र बजारको नियामक निकायको प्रमुख परिवर्तन हुँदा प्रायः बजार बढेको इतिहास छ,’ भट्टराईले भने, ‘चुनावी वर्षमा सामान्यतया बजार बढेकै इतिहास छ । अमेरिका लगायतका अरु देशमा पनि हरेक चुनावी वर्षमा शेयर बजार बढ्छ ।’
चुनाव र राजनीतिक परिवर्तनको अपेक्षाका बीच अत्यन्तै सस्तो ब्याजदर र फालाफाल लगानीयोग्य रकमले पनि सेयर बजारलाई माथि लैजान सहयोग पुग्ने उनको विश्लेषण छ । ‘ब्याजदर पनि असाध्यै सस्तो छ । लगानीकर्तालाई कन्फिडेन्स पनि चाहिएको थियो । चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । अब हुन्छ भन्ने भएपछि उनीहरूमा आत्मविश्वास बढेको छ । चुनावका कारण चैतमा सुरु हुने शेयरको सिजन पनि अलि अघि सर्न सक्छ ।’
नेप्से परिसूचकको उछाल र कारोबार रकम हेर्दा प्रतिनिधि सभा निर्वाचनपछि राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र ब्याजदर घट्ने अपेक्षाले संस्थागत लगानीकर्ताको विश्वास बढाएको देखिन्छ । यस्ता लगानीकर्ता प्रायः ट्रेन्ड सुरु हुने चरणमै प्रवेश गर्छन् । यद्यपि यो प्रवेश दीर्घकालीन हो वा छोटो अवधिको ट्रेड, आगामी दिनको कारोबार निरन्तरताले पुष्टि गर्नेछ ।