नेभिगेशन
राजनीति
राष्ट्रिय सभा निर्वाचन

थपिए १८ नयाँ अनुहार

कांग्रेस ठूलो दल, गठबन्धनमा एमाले भयो बराबर, नेकपालाई घाटा

काठमाडौं, माघ ११

राष्ट्रिय सभामा १८ नयाँ अनुहार थपिएका छन् । कांग्रेस आफ्नो आकार बढाउँदै ठूलो दल बनेको छ । आइतबार सम्पन्न निर्वाचनमा ९ जना सांसद थपिएपछि कांग्रेस नेपाली कम्युनिष्ट पार्टीलाई पछि पार्दै राष्ट्रिय सभामा पहिलो दल बनेको हो । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद थिए ।

नेकपा राष्ट्रिय सभामा अब दोस्रो ठूलो दल बनेको छ । फागुन २० मा रिक्त हुने १८ पदका लागि निर्वाचन हुँदा नेकपाबाट कोही पनि निर्वाचित भएनन् । कांग्रेस, एमाले र जनता समाजवादी पार्टीले गठबन्धन गर्दा नेकपाको बाटो छेकिएको हो ।

एमाले भने पूर्ववत ११ सिटसहित तेस्रो स्थानमै सीमित भएको छ । गठबन्धन गरेका कांग्रे सले ९, एमालेले ८ र जसपाले १ सिट प्राप्त गरेका छन् । निर्वाचनअघि पनि राष्ट्रियसभामा एमालेका ११ सांसद थिए । एमालेका ८ सांसद बाहिरिएका थिए भने निर्वाचनबाट पुनः एमालेका ८ सांसद नै राष्ट्रियसभामा भित्रिएका हुन् । अनुहार फेरिए पनि राष्ट्रियसभामा एमालेको शक्ति पनि पुरानै कायम भएको छ । राष्ट्रिय सभामा जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान छ । एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्न बाँकी छ ।

राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । १८ सीटमा लागि आइतबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । निर्वाचित १८ मध्ये महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाही प्रतिनिधिसभा सदस्य भइसकेका अनुहार हुन् भने कर्ण संविधानसभा सदस्य भइसकेका हुन् ।

कहाँ को विजयी भए ?

राष्ट्रिय सभा निर्वाचनमा १८ वटै पदमा कांग्रेस–एमाले–जसपा गठबन्धनकातर्फबाट निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशमा महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाँक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । 

झाँक्रीले ६ हजार ३३० मतभार पाइन् । त्यहाँ नेकपाका उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन् । अपांगतातर्फ जंगली ५ हजार ३२२ मतभारले विजयी हुादा उनका निकटतम प्रतिस्पर्धी नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याए । अन्य क्लस्टरमा कांग्रेसकै केसीले ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित हुँदा माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए । राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत ल्याएका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा २ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसका प्राडा जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा विजयी भएका छन् । तिमिल्सिना अन्य र देवकोटा महिला कोटाबाट उम्मेदवार थिए । ६ हजार ६९ मतभारमध्ये तिमिल्सिनाले ५ हजार ३३ मतभार र देवकोटाले ५ हजार १४ मत प्राप्त गरेका छन् । नेकपाबाट गोमा लुइँटेल घिमिरे र कपिल लामा तथा राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा र शंकरप्रसाद बराल परािजत भए ।

त्यस्तै, कोशी प्रदेशमा पनि गठबन्धनकै उम्मेदवार निर्वाचित भए । राष्ट्रियसभाको दलित सदस्यमा एमालेका सोमनाथ पोर्तेल निर्वाचित भए भने अन्यतर्फ कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भए । झापाका पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गरेका छन् । उनले ६८ जना प्रदेशसभा सदस्यको मत पाउँदा स्थानीय तहका २०१ जनाको मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी नेकपाका खेम सुन्दासले २ हजार २७ मतभार प्राप्त गरेका छन् । महिला सदस्यमा एमालेकै रोशनी मेचे निर्वाचित भएकी छन् । उनले ७ हजार १७३ मतभारसहित राष्ट्रियसभाको यात्रा तय गर्दा उनकी प्रतिस्पर्धी नेकपाकी नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गरिन् ।

कर्णालीबाट विजयी एमालेकी मिना सिंह रखाल । तस्बिर : रासस

कर्णाली प्रदेशमा २ पदका लागि भएको निर्वाचनमा अन्य कलस्टरमा कांग्रेसका ललितजंग शाही र महिलातर्फ एमालेकी मिनासिं रखाल निर्वाचित भएकी छन् । नेकपाका दुवै उम्मेदवार पराजित भएका छन् । प्रदेश सभातर्फ कर्णालीका ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत व्यक्त गरेनन् । स्थानीय तहतर्फ १५८ मतदाता संख्यामध्ये १५२ मत मात्रै खसेको छ । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मतदान गरेनन् ।

त्यस्तै, मधेस प्रदेशबाट दलिततर्फ कांग्रेसका धर्मेन्द्र पासवान निर्वाचित भएका छन् । उनले ७ हजार ९ सय ४ मतभार प्राप्त गरे । नेकपाका शम्भु पासवान हजारा र जसपाकी चमेलीदेवी दास पराजित भए । त्यस्तै, अपांगता कोटामा कांग्रेसकै रञ्जित कर्ण निर्वाचित भए । नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष रहेका कर्ण पूर्वसांसद पनि हुन् । कर्णले ८ हजार ९३ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले १ हजार ३ सय ६१ मतभार प्राप्त गरे ।

त्यस्तै, बागमती प्रदेशमा २ पदका लागि भएको निर्वाचनमा महिलातर्फ कांग्रेसकी गीता देवकोटा र अन्यतर्फ एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् । २ स्थानका लागि सूदुरपश्चिम प्रदेशमा भएको चुनावमा महिलातर्फ एमालेकी लिलाकुमारी भण्डारी ३ हजार ९ सय ८४ मतले निर्वाचित भइन् भने अन्यतर्फ कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतले निर्वाचित भए । खाती पूर्वमहान्यायाधिवक्ता समेत हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्