नेभिगेशन
प्रदेश

सूर्यविनायक–धुलिखेल खण्ड

सूर्यविनायक–धुलिखेल खण्डमा निर्माणाधीन अन्डरपास । साँगा क्षेत्रमा धमाधम काम भइरहेको ११ सय १० मिटर लम्बाइको अन्डरपासको भौतिक प्रगति ४५ प्रतिशत भएको छ । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ । यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ । अन्डरपासभित्रै २० मिटरको पुल पनि निर्माण गरिने सबइन्जिनियर ज्ञानमान श्रेष्ठले जानकारी दिए । अहिले फाउन्डेसन तथा सुपरस्ट्रक्चर निर्माणको काम भइरहेको छ ।

कुल १५.८ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । जसअन्तर्गत साँगा–धुलिखेल (८.३ किमि) र सूर्यविनायक–साँगा (७.५ किमि) सडकखण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गरिएको हो । आयोजनाकी सूचना अधिकारी इन्जिनियर अञ्जु परियारका अनुसार हालसम्म सूर्यविनायक–साँगा सडकखण्डको भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ ।

आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो । सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाखमा र ८.४ किलोमिटर साँगा–धुलिखेल सडकखण्ड ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । यो आयोजनाको प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ सम्म रहेको भए पनि निर्माण अवधि थप गरी २०८३ फागुनसम्म पुर्‍याइएको छ । तस्बिर : बिजेन अमात्य / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्