नेभिगेशन
दृष्टिकोण

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबैको दायित्व

न्युज २४ दैनिकमा प्रकाशित “निर्वाचन लक्षित प्रविधि नियमनको आवश्यकता” शीर्षकको सम्पादकीय सन्तुलित, समयसापेक्ष र अत्यन्तै गम्भीर विषयवस्तुमा केन्द्रित रहेकोमा आभार व्यक्त गर्न चाहन्छु।

निर्वाचन केवल मत हाल्ने प्रक्रिया मात्र होइन, यो लोकतन्त्रप्रतिको सामूहिक विश्वासको परीक्षा पनि हो । यो निर्वाचन अघिल्ला निर्वाचनभन्दा फरक सन्दर्भमा भइरहेको छ । प्रविधि र सामाजिक सञ्जालले नागरिकलाई सशक्त बनाएको छ, तर त्यही माध्यम मिथ्या सूचना, भ्रामक प्रचार र घृणात्मक अभिव्यक्तिको हतियार पनि बनिरहेको छ । यदि वर्तमान अवस्थाको प्रविधि र सामाजिक सञ्जाललाई उचित नियन्त्रण, नियमन र फिल्टरिङमार्फत सत्य– तथ्यमा आधारित सूचना प्रवाह सुनिश्चित गर्न सरकार र सम्बन्धित निकाय असफल भए, स्वच्छ र निष्पक्ष निर्वाचन कल्पनामा मात्र सीमित हुने जोखिम रहन्छ ।

निर्वाचन आयोग, सरकार, राजनीतिक दलहरू, सुरक्षा निकाय, प्रविधि क्षेत्रका विज्ञ र सामाजिक सञ्जाल सेवा प्रदायकबीच स्पष्ट समन्वय र तदारुकता आजको अपरिहार्य आवश्यकता हो । भ्रामक सूचना फैलिसकेपछि खण्डन गर्नु मात्र पर्याप्त हुँदैन; त्यसलाई फैलिनै नदिने पूर्वसावधानी नै अहिलेको प्रभावकारी उपाय हो ।

यससँगै, नागरिक स्वयं पनि जिम्मेवार हुनुपर्छन् । अपुष्ट समाचार सेयर नगर्ने, भावनामा बगेर निर्णय नगर्ने र सत्यताको खोजी गर्ने संस्कार नै लोकतन्त्रको बलियो आधार हो । सामाजिक सञ्जालमा देखिएको, सुनेको वा पढिएको हरेक कुरा सत्य हुँदैन । आँखाले देखेको र आफैंले अनुभूत गरेको यथार्थका आधारमा मात्र विवेकपूर्ण निर्णय लिनु नै लोकतन्त्रको मर्म हो । यदि मिथ्या र गलत सूचनाको सिकार भएर गलत पात्रलाई मतदान गरियो भने त्यसको मूल्य केवल व्यक्तिले मात्र होइन, पूरै देशले चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले मतदान केवल अधिकार होइन, सचेतनापूर्ण जिम्मेवारी पनि हो । सत्यको खोजी गर्ने, विवेक प्रयोग गर्ने र राष्ट्रको दीर्घकालीन हितलाई केन्द्रमा राखेर मताधिकार प्रयोग गर्ने संस्कारले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ ।

निर्वाचनले राजनीतिक निकास त दिन्छ तर त्यो निकास तब मात्र विश्वसनीय हुन्छ, जब प्रक्रिया स्वच्छ, निष्पक्ष र प्रविधिको दुरुपयोगबाट मुक्त हुन्छ । यस दिशामा सबै सरोकारवाला पक्षहरू गम्भीर, सचेत र उत्तरदायी बन्नु आजको ऐतिहासिक आवश्यकता हो ।

सूर्य प्रसाद श्रेष्ठ पूर्व प्रमुख निर्वाचन आयुक्त

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्