नेभिगेशन
दृष्टिकोण

नवउदारवादी दादागिरी र तेस्रो विश्व

नवउदारवादी पुँजीवाद र साम्राज्यवादले युद्ध, शोषण, असमानता र श्रम अधिकारमाथि तीव्र आक्रमण बढाइरहेका बेला विश्वका श्रमजीवी जनता गरिबी, बेरोजगारी र दमनको मूल्य चुकाउन बाध्य छन् । अब उनीहरू सुरक्षित रोजगारी, न्यायपूर्ण ज्याला, सामाजिक सुरक्षा, शान्ति र साम्राज्यवादी हस्तक्षेपविरुद्ध संगठित, जुझारु र अन्तर्राष्ट्रिय संघर्षमा उत्रिनुको विकल्प छैन ।

अनेकन संघर्ष र चुनौतीका बीच वर्ष सन् २०२६ को आगमन भएको छ । बितेको वर्ष सन् २०२५ ले पुँजीवादी व्यवस्थाको गहिरो संरचनात्मक संकटलाई फेरि एकपटक पुष्टि गरेको छ । नवउदारवादी पुँजीवादले सिर्जना गरेको आर्थिक अस्थिरता, बढ्दो आय असमानता र तीव्र शोषण बढाएको छ । साम्राज्यवादले भूराजनीतिक दबाब, तनाव, युद्ध र हस्तक्षेप बढाएको छ । यसले गर्दा विश्वका श्रमजीवी जनताले गरिबी, बेरोजगारी, शरणार्थी विस्थापन, दमन र सामाजिक विभेद तथा श्रम अधिकारको कटौतीको ठूलो मूल्य तिर्नुपरिरहेको छ ।

विश्वमा यतिबेला अमेरिका र अमेरिका समर्थित नाटो सैनिक गठबन्धनले सञ्चालन गरेको युद्ध, हत्या, हिंसा, आतंक नै साम्राज्यवादी आक्रामकता र सैन्यकरण हावी भएको छ । सार्वभौम देशमा राजनीतिक र आर्थिक प्रभुत्व लागू गर्न, एकाधिकारका लागि नाफा सुरक्षित गर्न र रणनीतिक स्रोत साधन र बजारहरूलाई नियन्त्रण गर्ने हेतुले यसो भइरहेको छ ।

प्यालेस्टाइनी जनताले आफ्नो मातृभूमिको रक्षाका लागि विगत सात दशकदेखि नरसंहारकारी फासिष्ट इजरायली सरकारविरुद्ध संघर्ष गरिरहेका छन् । प्यालेस्टिनी जनताका विरुद्ध गरिएका अपराधहरूले साम्राज्यवादको क्रूर र अमानवीय कृत्य फेरि एक पटक पर्दाफास भएको छ । सन् २०२५ को अन्त्यसम्ममा ६३ हजारभन्दा बढी प्यालेस्टाइनी जनताले ज्यान गुमाएका छन् र यो संख्या बढ्दै गएको छ । गाजामा भएको नरसंहारले के पुष्टि गरेको छ भने साम्राज्यवादी शक्तिहरूले गरेको युद्धविराम र सम्झौताहरू, तिनीहरूको नियन्त्रण र पर्यवेक्षण अन्तर्गत, न्यायपूर्ण वा दिगो शान्ति सुनिश्चित गर्न सक्दैन । यसो किन पनि हुने देखिन्छ भने साम्राज्यवादीले प्यालेस्टिनी जनताको स्वतन्त्रता र मर्यादाको अधिकारको साटो एकाधिकार र भूराजनीतिक प्रभुत्वको हितमा काम गर्छन् । अझ अहिले त प्यालेस्टाइन क्षेत्रमा मानवीय उद्दार गर्ने, खाद्यान्न, औषधी आपूर्ति गर्ने संस्थाहरूलाई नियन्त्रण गर्ने काम इजरायली सरकारले गरिरहेको छ ।

विश्व ट्रेड युनियन महासंघ, डब्लूएफटियूले इजरायलले गरेको कब्जा, विदेशी हस्तक्षेप र आर्थिक नाकाबन्दीका विरुद्ध सञ्चालन गरेका संघर्षप्रति ऐक्यबद्धता प्रकट गरेको छ । प्यालेस्टाइनी जनताको स्वतन्त्रता, न्याय र आत्मनिर्णयको लागि संघर्षरत प्यालेस्टाइनका जनतासँग ऐक्यबद्धता प्रकट गर्दै साम्राज्यवादी अमेरिकाले क्यूबामा गरेको आपराधिक नाकाबन्दी तुरुन्तै हटाउन र सबै प्रकारका साम्राज्यवादी दबाब र दोहनको अन्त्य गर्न माग गरिएको छ । यस्तै भेनेजुएलाका जनताले साम्राज्यवादी अमेरिकाको तीव्र धम्की, सैन्य उत्तेजना, आर्थिक युद्ध, आर्थिक नाकाबन्दी र हस्तक्षेपका विरुद्ध संघर्ष गरिरहेका छन् । साम्राज्यवादी अमेरिकाले भेनेजुएलाको सार्वभौमसत्तामाथि हस्तक्षेप गरिरहेको छ । यसले सिंगो ल्याटिन अमेरिकामा राजनीतिक स्थिरतामा समेत चुनौती खडा गरेको छ ।

विगतका वर्षहरू निम्न आयका श्रमिक वर्गका लागि सुखद् बन्न सकेन । नवउदारवादी अर्थनीतिले श्रमशोषण चर्काे रूपमा गरेको छ । न्यून तलब, स्थायी नियुक्तिको साटो ठेक्का, करार र आउटसोर्सिङबाट काममा लगाउने गरी श्रमिकविरोधी श्रम कानुनको नयाँ व्यवस्था गरेका छन्, युद्ध र द्वन्द्वका कारण आफ्नो मातृभूमि छोडेर विदेशिने बाध्यता विश्वव्यापी रूपमै बढेको छ । अझ नवउदारबादी पुँजीवादले दलाल पुँजीवादको चरित्र लिन थालेपछि विभिन्न देशहरूमा उत्पादनशील उद्योगहरू बन्द हुन थालेका छन् । रोजगारी कटौतीले बेरोजगारहरूको नयाँ जमात नै खडा हुन थालेको छ । वैदेशिक रोजगारीले आप्रवासी श्रमिकलाई नवदास बनाउने काम गरेको छ । यसले झन् भयावह गरिबी, बेरोजगारी र आय असमानता बढाएको छ ।

एकै समयमा, सबै ठाउँमा कामदारहरूले ज्याला, कामको अवस्था, सामाजिक सुरक्षा र ट्रेड युनियन स्वतन्त्रतामा तीव्र आक्रमणको सामना गरिरहेका छन् । सरकार र बहुराष्ट्रिय एकाधिकारहरूले निजीकरण, श्रम नियमन र दमनको नीतिलाई गति दिइरहेका छन् । श्रमिकहरूको न्यायपूर्ण संघर्षलाई अपराधी बनाउन र ट्रेड युनियन संगठनलाई कमजोर पार्न खोजिरहेका छन् । हडताल गर्ने अधिकार र संगठित हुने अधिकार धेरै देश संकुचनमा परेको छ ।

वास्तविक ज्याला वृद्वि गर्न पूर्ण श्रम र सामाजिक अधिकारसहित सुरक्षित रोजगारीका लागि, प्रतिहप्ता ३५ घण्टा काम र दिनमा ७ घण्टा कामको साथ ज्याला पारिश्रमिकको सुनिश्चितताका लागि, स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सुरक्षामा विश्वव्यापी, सार्वजनिक र निःशुल्क पहुँच र सुरक्षित र स्वस्थ कार्यस्थलहरू र काममा मानव मर्यादाको सम्मानका लागि विश्वभरका श्रमिक आन्दोलित छन् । नव उदारवादी पुँजीवाद र साम्राज्यदले श्रमजीवी जनताको श्रम र सामाजिक उपलब्धि र तिनीहरूको लोकतान्त्रिक र ट्रेड युनियन स्वतन्त्रताविरुद्ध कठोर र तीव्र आक्रमण गरिरहेका छन् । श्रमजीवी वर्गको जीवनयापनको उच्च लागत र उच्च मुद्रास्फीतिले श्रमिक र निवृत्तिभरणकर्ताका जीवनस्तरलाई निर्दयी रूपमा कमजोर पारिरहेको छ ।

युद्व, द्वन्द्व र व्यापारिक पुँजीवादले बेरोजगारी, अनिश्चितता र व्यापक आप्रवासन वा शरणार्थीहरूको प्रवाह बढाएको छ । साथै कामदारहरूबाट सस्तो श्रमको अभ्यास गराएर अत्यधिक श्रम शोषण बढेको बढ्यै छ । साथै नवउदारवादी सरकारहरूद्वारा व्यवस्थित रूपमा प्रवर्द्धन गरिएका लोकप्रिय र श्रमविरोधी कानुनी प्रावधानहरूले श्रम अधिकार र सामूहिक सौदाबाजीका सम्झौताहरूलाई उल्लेखनीय रूपमा कमजोर बनाएको छ । व्यक्तिगत करार गरेर काममा लगाउने, सार्वजनिक उद्यमको निजीकरण गर्ने, आउटसोर्सिङबाट काम लगाउने, टेलिवर्किङ र सेवा भाडामा दिने नवउदारवादीले श्रम क्षेत्रमा अवलम्बन गरेका कठोर नीतिका केही रूप हुन् ।

सामाजिक सुरक्षा र सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, खानेपानीजस्ता ठूला सामाजिक सेवाका उद्यमहरू निजीकरण भइरहेका छन् । यस्तै श्रमिकहरूको अवकाशको उमेर स्वेच्छाचारी ढंगबाट वृद्धि गर्ने कार्य जारी छ । तीव्र मुनाफाको दौडमा प्रविधि र विज्ञानका उपलब्धिहरूका बाबजुद, मानव बलिदान जारी रहेको छ ।

आजको श्रम संसारको निराशाजनक चित्रमा उत्साहजनक र आशावादी तत्व भनेको श्रमिकहरूले नवउदारवादी पुँजीवाद र श्रम विरोधी आक्रामकतालाई निष्क्रिय रूपमा स्वीकार गर्दैनन् भन्ने हो । विश्वको हरेक कुनामा श्रमिकहरू जुझारु एवं लडाकु परिचालनका साथ उनीहरूले आफ्नो आधुनिक आवश्यकताहरूको सन्तुष्टि सुनिश्चित गर्ने अधिकारसहित कामको माग गरिरहेका छन् । वर्गउन्मुख ट्रेड युनियनहरू जो विश्व ट्रेड युनियन महासंघमा आबद्ध छन्, उनीहरूले फ्रान्स, ग्रीस, इटाली, पोर्चुगल, साइप्रस, टर्की, स्पेन, अर्जेन्टिना, ब्राजिल, भारत, श्रीलंका, बंगलादेश, इन्डोनेसिया र अन्य धेरै देशमा ठूला जनसंघर्ष संघर्ष सञ्चालन गरिरहेका छन् । अर्कोतिर रोजगारदाता र सरकारहरूले श्रम मापदण्डलाई हेरफेर गर्न खोजिरहेका छन् । पुँजीवादी सरकार समर्थक ट्रेड युनियनहरूले वर्ग समन्वयवादी धारबाट ट्रेड युनियन आन्दोलनलाई भूत्ते बनाउने काम गरेका छन् ।

यो कुनै संयोग होइन कि विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ आईटियुसी र युरोपमा युरोपियन ट्रेड युनियन सेन्टर, युटिआएफले वर्ग समन्वयवादी धारबाट पुँजीपतिहरूको हितमा काम गरेका छन् । विश्वव्यापी ट्रेड युनियन आन्दोलनभित्र विश्व ट्रेड युनियन महासंघ, डब्लूएफटियूको उपस्थिति र प्रभावलाई उनीहरूले सीमित गर्ने लक्ष्य राख्दै, भयदोहन गरेर अनावश्यक दबाब दिने काम गरेका छन् । विश्वव्यापी रूपमा नवउदारवादी पुँजीवाद र साम्राज्यवादले उत्पन्न गरेको विषम परिस्थितिमा श्रमजीवी वर्गका लागि महत्वपूर्ण लक्ष्य भनेको विश्वका सबै क्षेत्रहरूमा प्रगतिशील एवं समाजवादी ट्रेड युनियनको उपस्थिति र प्रभावको विस्तार सुनिश्चित गर्नु हो ।

विश्वमा विकसित नयाँ परिस्थितिले श्रमजीवी वर्गका लागि अनुकूलता बढ्दै गएको छ । तसर्थ श्रमजीवी वर्गको हक अधिकारका लागि शान्तिको संघर्षको अर्थ सबैभन्दा पहिले नाटो र सबै खाले सैन्य गठबन्धनहरूलाई विघटन गर्ने संघर्षलाई तीव्रता दिनु पर्दछ । साथै श्रमजीवी वर्गका लागि हस्तक्षेप, प्रतिबन्ध, नाकाबन्दी र आर्थिक युद्धबिना आफ्नो आर्थिक र सामाजिक विकासको बाटो रोज्ने अधिकारको रक्षा गर्ने संघर्षलाई अगाडि बढाउनु पर्दछ ।

अतः अहिले नवउदारवादी पुँजीवादको गहिरो संरचनात्मक संकट, बढ्दो असमानता, श्रम शोषण र आर्थिक अस्थिरता देखिएको छ । साम्राज्यवादले युद्ध, हस्तक्षेप र सैन्यकरण बढाउँदै विश्वका श्रमजीवी जनतालाई गरिबी, बेरोजगारी, विस्थापन र अधिकार हननको भारी मूल्य चुकाउन बाध्य बनाएको छ । प्यालेस्टाइनमा इजरायली आक्रमण र नरसंहारले साम्राज्यवादी शक्तिहरूको अमानवीय चरित्र उजागर गरेको छ । विश्व ट्रेड युनियन महासंघले प्यालेस्टाइन, क्यूबा र भेनेजुएलाका जनतासँग ऐक्यबद्धता व्यक्त गरेको छ । नवउदारवादी नीतिका कारण अस्थायी रोजगारी, आउटसोर्सिङ, निजीकरण र श्रम अधिकारमाथि आक्रमण तीव्र भएको छ । तर विश्वभर श्रमिकहरू सुरक्षित रोजगारी, न्यायपूर्ण ज्याला, सामाजिक सुरक्षा र ट्रेड युनियन स्वतन्त्रताका लागि संगठित संघर्षमा उत्रिएका छन् । शान्ति, साम्राज्यवादी हस्तक्षेपविरुद्ध संघर्ष र प्रगतिशील ट्रेड युनियनको विस्तार आजको प्रमुख आवश्यकता हो ।

अध्यक्ष, पेसागत महासंघ नेपाल ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्