नेभिगेशन
राजनीति

‘प्रश्न सकिए लोकतन्त्र मर्नेछ’

काठमाडौं – राजनीति लगायत सबै क्षेत्रमा मिथ्या सूचनाको प्रभाव पर्दा आँखाले देखेको कुरा समेत सही नहुने अवस्था रहेको विज्ञले बताएका छन् । राजनीतिशास्त्री हरि शर्माले प्रश्न सकिए लोकतन्त्र मर्ने धारणा व्यक्त गर्दै प्रश्न सकिए मिथ्या सूचना पनि बढी फैलिने बताए ।

मिथ्या सूचनाविरुद्ध आयोजित दुई दिने काठमाडौं सम्मेलनमा शर्माले सो कुरा बताएका हुन् । सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन तथ्यलाई आधार बनाउन र हल्लाको पछि लाग्न नहुने निष्कर्ष निकालेको छ । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर– नेपाल) ले काठमाडौंमा आयोजना गरेको सम्मेलनमा विज्ञ तथा अध्येयताहरूले प्रविधिमा भएको पहुँचले गर्दा मिथ्या सूचनाको बाढी लागेकाले सूचनालाई छनोट गरी तथ्यलाई मात्र विश्वास गर्न जरुरी रहेको बताए ।

मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको बताउँदै विज्ञहरूले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुका साथै सूचना साक्षरता बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि याको डु टोइटले सही सूचना लोकतन्त्रको मुख्य आधार भएको उल्लेख गर्दै प्रविधिको सहजताले मिथ्या सूचना निकै छिटो फैलिएको बताए । उनले मिथ्या सूचनालाई न्यूनीकरण गर्न सूचनाको हक र सही सूचनाको पूर्वप्रवाहमा सरोकारवाला सबै एकठाउँमा उभिनुपर्ने र सरकार, प्रविधि, लोकतान्त्रिक शक्ति, नागरिक समाज, मिडिया, प्राज्ञिक क्षेत्र लगायत पारदर्शी र जवाफदेही हुनुपर्ने धारणा व्यक्त गरे ।

आइतबार सम्मेलनमा मिथ्या सूचनाविरुद्ध लड्न पत्रकारिता शिक्षा, मिडियाका भूमिका र मिथ्या सूचनाविरुद्धका कार्यक्रम विषयमा तीनवटा सत्रसहित सोसल मिडिया प्लेटफर्म नियमन र जलवायु परिवर्तनका विषयमा पनि प्यानल छलफल गरिएको थियो ।

मिथ्या सूचनाविरुद्ध पत्रकारिता शिक्षाको भूमिकासम्बन्धमा डा. लीला न्याइच्याइ, दीपक अर्याल, रोमकान्त पाण्डे र यमबहादुर दुरा, डा. घमराज लुइँटेलले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका अर्को सत्रमा प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्य, प्रतीक प्रधान, नितु पण्डित र उमेश चौहान, दुर्गा खनालले टिप्पणी तथा धारणा प्रस्तुत गरेका थिए । मिथ्या सूचनाविरुद्धका कार्यक्रमसम्बन्धी सत्रमा उमेश श्रेष्ठ, बबिता बस्नेत, प्रनय स्थापित र किरण भण्डारीलाई डा. श्रीराम पौडेलले सहजीकरण गरेका थिए भने डा. कुन्दन अर्यालले सहजीकरण गरेको सोसल मिडिया प्लेटफर्म नियमनसम्बन्धी सत्रमा वक्ताहरू तारानाथ दाहाल, डा. दोभान राई, डा. श्रीकृष्ण भट्टराई र शेखर क्षेत्री सहभागी थिए ।

त्यस्तै जलवायु परिवर्तनका मिथ्या सूचनाबारे सत्रमा रमेश भुषाल, इन्दिरा अर्याल, शुशीलकुमार श्रेष्ठ र मुकेश पोखरेललाई युनेस्कोकी निर्जना शर्माले सहजीकरण गरिन् । दुई दिने सम्मेलनमा मिडिया, सोसल मिडिया र मिडिया साक्षरतासम्बन्धी एक दर्जन अनुसन्धान प्रस्तुत गरिएको थियो । सम्मेलनका दुई दिनमा दुई सयभन्दा बढीको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्