नेभिगेशन
प्रदेश

गोकर्णलाई विरासत जोगाउने चुनौती

गुल्मी । यस पटकको निर्वाचन धेरै हिसाबले रोचक मानिएको छ । कतै नयाँ उम्मेदवार त कतै बागी उम्मेदवारको रस्साकस्सी छ । नयाँ पुस्ताका नयाँ पार्टीलाई जनतामा स्थापित हुनुपर्ने दबाब छ भने पुराना पुस्ताका पुराना पार्टी र तीनका नेतालाई विरासत जोगाउने चुनौती छ ।

विरासत जोगाउने रस्साकस्सी गुल्मी–२ पनि देखिएको छ । आसन्न निर्वाचनका लागि नम्बर– २ मा एमालेका गोकर्णराज बिष्ट एक बलिया उम्मेदवार हुन् । उनी यो क्षेत्रबाट २०५६ सालदेखि निरन्तर एमालेका एक्ला उम्मेदवार हुन् । २०६४ सालको निर्वाचनमा मात्र उनी माओवादी केन्द्रका चन्द्रबहादुर थापा ‘सागर’ सँग पराजित भएका थिए । गत २०७९ सालको निर्वाचनमा संयुक्त गठबन्धनबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीसँग कडा प्रतिस्पर्धाका बीच बिष्ट विजयी भएका थिए । बिष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४ सय ४१ मत ल्याएकी थिइन् । यो चुनावमा झाँक्रीले बिष्टलाई नै सघाउने भएपछि बिष्टको पल्ला भारी भएको अनुमान छ ।

नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोविन्द पन्थी र नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महत चुनावी मैदानमा छन् । अधिवक्ता समेत रहेका रास्वपाका उम्मेदवार पन्थीलाई पार्टीका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नम्बर–१ का सांसद सागर ढकालले घरदैलो अभियानमार्फत साथ दिइरहेका छन् । उम्मेदवार पन्थी डीएसपी भएकै समयमा भुटानी शरणार्थी, भिजिट भिसा लगायतका प्रकरणको फाइल खोलिएको थियो ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भुवनप्रसाद श्रेष्ठ कांग्रेसका पूर्व जिल्ला सभापति हुन् । स्वच्छ छवि र प्रखर वक्ता श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा रेसुंगा नगरपालिकाको मेयर पदमा पराजित भएका थिए । २०७९ सालको प्रदेश सभा निर्वाचनमा गुल्मीको क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश सांसदमा पनि पराजित बनेका थिए ।

उनी यस क्षेत्रको पुरानो र अनुभवी नेता भएकाले यस पटक कम्युनिष्टको गड तोड्ने लक्ष्यमा कांग्रेस प्रयासरत छ । उता नेकपाबाट उम्मेदवार बनेका श्रीराम महत जुझारु, मिलनसार र कर्तव्य पालनामा इमानदार व्यक्ति मानिन्छन् । उनी पहिले नेकपा एमालेमै थिए । पार्टी विभाजनसँगै एकीकृत समाजवादीमा पुगेका थिए ।

यस निर्वाचन क्षेत्रमा उज्यालो नेपाल पार्टीका कर्णबहादुर थापा, नेशनल रिपब्लिक नेपालका पदम थापा मगर, मंगोल नेशनल अर्गनाइजेसनका बेदबहादुर थापा, राष्ट्रिय जनमोर्चाका तारा बहादुर थापाक्षेत्री, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का सन्त नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक सेनले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी भागिरथ थापा, भुमिराज सापकोटा, महेश्वर घिमिरे, मालता घिमिरे, रामप्रसाद घिमिरे, खुबिराम आचार्य, लोकबहादुर पुन, सरस्वती लम्साल, सुरेन्द्र पाण्डे, कुमारी हरिकला श्रीस मगर, नरेन्द्रप्रसाद रिजाल र फर्सुराम कडेल गरी १२ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।

गुल्मी–२ नेकपा एमालेको बलियो पकड भएको क्षेत्र हो । २०६४ सालबाहेक यहाँ सधैं एमालेका गोकर्णराज बिष्ट विजय हुँदै आएका छन् । यसपटक भने एमाले कांग्रेस, रास्वपा र अन्य दलका उम्मेदवारले कडा चुनौती प्रस्तुत गर्ने देखिन्छ ।

यस क्षेत्रमा कुल १ लाख ७ हजार ३ सय ६३ जना मतदाता रहेका छन् । जसमध्ये पुरुष ५४ हजार ४ सय २३, महिला ५२ हजार ९ सय ३८ र अन्य २ जना मतदाता छन् । यहाँ ६२ वटा मतदानस्थल र १ सय २९ वटा मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्