आसन्न टी–२० विश्वकपबाट बंगलादेश बाहिरिएसँगै नेपाललाई राहत मिलेको छ । सुरक्षा चुनौती देखाउँदै बंगलादेश विश्वकप खेल्न भारत जान नमान्दा आईसीसीले उसको सट्टा स्कटल्याण्डलाई मौका दिएको हो । समूह सी मा स्कटल्याण्डको आगमनले नेपालको समूह चरण पार गर्ने सम्भावना बढेको विश्लेषण भइरहेका छन् तर सजिलो भने छैन ।
खेलकुद विधालाई तटस्थ विधाको रुपमा मानिदै आएको छ । खेलकुदसँग भावना, आत्मियता र एकता जोडिएको हुन्छ । तर कहिलेकाहीँ राजनीति हाबी भइदिँदा यसको मर्ममाथि नै प्रश्नचिह्न खडा हुन्छ । हो यस्तै, नियतिको शिकार बनेको छ, बंगलादेश । भारतसँगको राजनीतिक तनावका कारण बंगलादेश आसन्न टी–२० विश्वकपबाट बाहिरिएको छ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा फेब्रुअरी ७ बाट सुरु भएर मार्च ८ मा सकिने टी–२० विश्वकप नजिक यस खालको निर्णयले बंगलादेशमाथि चोट पुगेको छ । बंगलादेशलाई बाहिर राख्दै विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले स्कटल्याण्डलाई समेट्दै नयाँ खेलतालिका सार्वजनिक गरेको हो ।
भारत र बंगलादेश विवाद के हो?
पछिल्लो समय बंगलादेशमा हिन्दुविरुद्ध भएको क्रूरता र तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई भारतले शरण दिएको विषयमा दुई देशबीच सम्बन्ध बिग्रदै गएको छ । यसै विषयमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले सुरक्षा चुनौती देखाउँदै भारतमा विश्वकप खेल्न नसक्ने अडान राखेको थियो । त्यसपछि आईसीसीले भारतीय सुरक्षा परिषद्देखि विभिन्न निकायसँग समन्वय गर्दा कुनै सुरक्षा चुनौती नरहेको निष्कर्षसहित बंगलादेशलाई बाहिर राख्दै स्कटल्याण्डलाई मौका दिएको हो । केही समयअघि आसन्न आइपीएलमा कोलकाता नाइटराइडर्सबाट खेल्न तयार भएका बंगलादेशी खेलाडी मस्ताफिजुर रहमानलाई पनि बिसीसीआईको निर्देशनमा हटाइएको थियो ।
बंगलादेश बाहिरिँदा नेपाललाई राहत
तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली समूह सी मा परेको छ । उक्त समूहमा दुई पटकको टी–२० विश्वकप विजेता राष्ट्र इंग्ल्याण्ड र वेस्ट इन्डिजसहित बंगलादेश र इटाली थिए । तर आईसीसीले बंगलादेशको सट्टा स्कटल्याण्डलाई विश्वकपमा सामेल गराएपछि नेपाललाई राहत मिलेको विश्लेषण भइरहेका छन् । तुलनात्मक रुपमा बंगलादेशभन्दा स्कटल्याण्ड कमजोर राष्ट्र हो । आइसीसीले स्कटल्याण्डलाई टी–२० विश्व र्याङ्किङका आधारमा टिकट दिएको हो । यतिबेला वरियतामा स्कटल्याण्ड १४ औँ स्थानमा रहँदा नेपाल भने १७ औँ स्थानमा छ । यसअघि नेपाल र स्कटल्याण्डबीच टी–२० मा दुई पटक भिडन्त हुँदा समान एक एक पटक दुवै टोलीले जित निकालेका छन् । समान हैसियतको टोली प्रतिष्पर्धी पाउँदा नेपालको समूहचरण पार गर्ने लक्ष्यमा सहजता मिल्ने देखिन्छ । उसो त नेपाली खेलाडीको मेहनत र परिश्रमले नै त्यसको निर्धारण गर्ने क्रिकेट विश्लेषकहरू बताउँछन् ।
नेपालले यसपटक विश्वकपमा समूह चरण पार गर्ने लक्ष्य लिएको छ । टेष्ट राष्ट्र इंग्ल्याण्ड र वेस्ट इन्डिज पहाडझैँ उभिने छन् । नेपालको रणनीति छ– इटाली र स्कटल्याण्डलाई सहजै पराजित गन लक्षित गरेर समूह चरण पार गर्ने । तर त्यसका लागि नेपाली खेलाडी र प्रशिक्षकले रणनीतिक रुपमा मुम्बईको मैदानमा जादु देखाउनु पर्ने हुन्छ । नेपालले बहुचर्चित वाङ्खडे स्टेडियममा आफ्ना चारवटै खेल खेल्नेछ । त्यहाँको पिचलाई सुझबुझपुर्ण ढंगले रिड गर्न आवश्यक देखिन्छ ।
नेपाली टोली विश्वकप खेल्न भारत उडिसकेको छ । श्रीलंकामा श्रीलंका ए टोलीसँग तीन खेलको सिरिजमा २–१ ले पराजय भोगेको १५ सदस्यीय नेपाली टोली मुम्बईतर्फ लागिसकेको छ । त्यहाँ नेपालले मुम्बई क्रिकेट एसोसिएशन प्रेसिडन्ट ‘एक्सआई’ टोलीसँग अभ्यासस्वरुप दुई खेल खेल्नेछ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षक स्टुआर्ट ल रहेका छन् ।