नेभिगेशन
खेलकुद

शकिबको पुनरागमन खुला

बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब अल हसनको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनाका लागि ढोका खुला राखिएको बताएका छन् । क्रिकेट मैदानमा लामो समयदेखि चम्किएका शकिब सन् २०२४ को जनआन्दोलनका क्रममा अपदस्थ भएको तत्कालीन सत्तारूढ दलका सांसदसमेत थिए ।

पूर्वप्रधानमन्त्री शेख हसिनासँगको निकट सम्बन्धका कारण शकिब जनआक्रोशको केन्द्रमा परेका थिए । विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको घातक प्रहरी दमनसँग जोडेर हसिनामाथि हत्या अनुसन्धान गरिएकामध्ये उनी पनि एक थिए । शकिबले सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए । तर गत महिना उनले आफ्नो त्यो निर्णय फिर्ता लिँदै पुनः खेल्ने इच्छा व्यक्त गरेका थिए ।

बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का वरिष्ठ अधिकारी अमजद हुसेनले शनिबार राति पत्रकारहरूसँग कुरा गर्दै यदि अवस्था अनुकूल भए शकिबलाई राष्ट्रिय टोलीमा विचार गरिने स्पष्ट पारे ।

‘यदि शकिब अल हसनको चाहन्छन्, उनको शारीरिक फिटनेस र पहुँचले साथ दियो भने र उनी खेल हुने स्थानमा उपस्थित हुन सक्छन् भने बोर्ड र चयन समितिले उनलाई राष्ट्रिय टोलीका लागि विचार गर्ने बोर्डले सर्वसम्मत रूपमा निर्णय गरेको छ,’ उनले भने ।

अमजद हुसेनका अनुसार विदेशी लिगहरूमा सहभागी हुन चाहेमा बिसिबीले शकिबलाई अनापत्ति प्रमाणपत्र (एनओसी) पनि प्रदान गर्नेछ । ‘यदि उनी अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल्न चाहन्छन् भने बोर्डले आवश्यकताअनुसार एनओसी उपलब्ध गराउनेछ,’ उनले थपे । शकिबले यसअघि विद्यार्थी आन्दोलनको समयमा मौन बसेको विषयमा सार्वजनिक रूपमा माफी मागेका थिए तर उनले अपदस्थ सरकारमा सहभागी हुने आफ्नो निर्णयको भने बचाउ गरेका थिए ।

बायाँहाते अलराउन्डर शकिबले बङ्गलादेशका लागि ७१ टेस्ट, २४७ एकदिवसीय अन्तर्राष्ट्रिय र १२९ टी–२० खेल खेल्नुभएको छ । यी सबै प्रतियोगितामा उहाँले कुल ७१२ विकेट लिनुभएको छ, जसले उहाँलाई बङ्गलादेश क्रिकेट इतिहासका सर्वाधिक प्रभावशाली खेलाडीमध्ये एक बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्