काठमाडौं – मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भन्ने जिज्ञासादेखि मतदानको दिन सवारी चल्छ कि चल्दैन भन्ने प्रश्नसम्मले निर्वाचन आयोगको फोन निरन्तर घन्टी बजिरहेकै छ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा आयोगको टोल–फ्री कल सेन्टरमार्फत देशभरका मतदाता, नागरिक र सरोकारवालाले आफ्ना जिज्ञासा राखिरहेका छन् ।
कल सेन्टरमा आउने अधिकांश प्रश्न मतदाता नामावली, विवरण सच्याउने प्रक्रिया, मतदाता परिचयपत्र र मतदान केन्द्रसँग सम्बन्धित छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलक्षित आयोगले सञ्चालनमा ल्याएको कल सेन्टर मतदाता, नागरिक र सरोकारवालाका जिज्ञासा समाधान गर्ने प्रभावकारी माध्यम बन्दै गएको छ । आयोग परिसरमै स्थापना गरिएको कल सेन्टरमार्फत मतदाता नामावलीदेखि निर्वाचन आचारसंहिता, मतदान प्रक्रिया र उम्मेदवारीसम्बन्धी विषयमा दैनिक रूपमा प्रश्नहरू आउने गरेका छन् ।
आयोगका अनुसार माघ ५ गतेदेखि सुरु भएको कल सेन्टरमा आइतबारसम्म ७९२ जनाले विभिन्न जिज्ञासा राखेका छन् । प्राप्त प्रश्नमध्ये सबैभन्दा धेरै मतदाता नामावलीसम्बन्धी छन् । यस अवधिमा मतदाता नामावलीसँग सम्बन्धित ४२० जिज्ञासाको सम्बोधन गरिएको आयोगले जनाएको छ । यस्तै निर्वाचन आचारसंहिताका विषयमा ७२, मतदाता शिक्षासम्बन्धी ३६ तथा अन्य विविध प्रकृतिका २६४ प्रश्नको जवाफ दिइएको छ ।
निर्वाचनको नजिकिँदो मितिसँगै मतदातामा देखिने अन्योल र जिज्ञासालाई तत्काल समाधान गर्ने उद्देश्यले कल सेन्टर सञ्चालन गरिएको आयोगको भनाइ छ । कल सेन्टर बिहान ९ देखि साँझ ६ बजेसम्म खुला हुन्छ । आवश्यकता अनुसार समय थपिँदै लगिने जनाइएको छ । निःशुल्क टोल– फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक तथा सरोकारवालाले आफ्ना जिज्ञासा राख्न सक्ने व्यवस्था गरिएको छ । एकैपटक १५ जनासम्मले फोन गर्दा पनि कल होल्डमा नराखिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यो कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने अवधिसम्म सञ्चालनमा रहनेछ ।
कल सेन्टरमा आउने प्रश्नहरूमा मतदाता परिचयपत्रमा विवरण फरक परेको, मतदाता नामावलीमा मृतकको नाम समावेश भएको, अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न पाइने–नपाइने, उम्मेदवारी अयोग्यतासम्बन्धी उजुरी कसरी गर्ने भन्ने विषयहरू प्रमुख छन् ।
मतदाता परिचयपत्रमा बुवाको नाम वा पति–पत्नीको नाम फरक परेको अवस्थामा निर्वाचन घोषणा भइसकेपछि सेवा अस्थायी रूपमा बन्द रहने र निर्वाचन सम्पन्न भएपछि मात्र संशोधन गर्न सकिने जानकारी आयोगले दिएको छ ।
दिवंगत व्यक्तिका नाम मतदाता नामावलीमा रहेर दुरुपयोग हुनसक्ने चिन्ताबारे पनि आयोगले प्रष्ट पारेको छ । स्थानीय तहमा मृत्यु दर्ता भइसकेका व्यक्तिको नाम नामावलीबाट हटाइसकिएको र मतदान केन्द्रमा फोटोसहितको रंगिन मतदाता नामावली प्रयोग हुने भएकाले अनुहार र सक्कल परिचयपत्र भिडाएर मात्र मतदान गर्न दिइने हुँदा दुरुपयोगको सम्भावना नरहेको आयोगको भनाइ छ ।
मतदान प्रक्रिया सम्बन्धी जिज्ञासामा आयोगले मतदाता नामावलीमा नाम दर्ता भएको वडाको तोकिएको मतदान केन्द्रबाट मात्र मतदान गर्न पाइने स्पष्ट पारेको छ । अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न नमिल्ने र मतदाता परिचयपत्र नभए पनि वैकल्पिक रूपमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जा जस्ता सक्कल कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था छ ।
निर्वाचन आचारसंहितासम्बन्धी प्रश्नमा उपभोक्ता समितिको चुनाव, मेला–महोत्सव आयोजना, करार कर्मचारी नियुक्ति, संस्थाको साधारणसभा लगायतका गतिविधि आचारसंहिताअनुसार गर्नुपर्ने आयोगले जनाएको छ । आचारसंहिता लागू भइसकेपछि निर्वाचनलाई प्रभावित पार्ने खालका कार्यक्रम गर्न नपाइने र अत्यावश्यक अवस्थामा आयोगको सहमति लिनुपर्ने व्यवस्था रहेको बताइएको छ ।
नयाँ दल दर्ता, लोक सेवा आयोगको परीक्षा, सवारीसाधन सञ्चालन, सार्वजनिक बिदा र मतदान प्रतिशतको वैधताजस्ता विषयमा पनि कल सेन्टरमार्फत स्पष्ट जवाफ दिइँदै आएको छ । आयोगका अनुसार हाल नयाँ दल दर्ता गर्न पाइए पनि आसन्न प्रतिनिधि सभा निर्वाचनमा भाग लिन नमिल्ने, लोक सेवा आयोगका नियमित परीक्षा निर्वाचनका कारण नसारिने र मतदानको दिन अनुमति प्राप्त बाहेकका सवारीसाधन नचल्ने व्यवस्था छ ।
निर्वाचन आयोगले कल सेन्टरलाई मतदाता शिक्षाको महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ । आयोगका अधिकारीहरूका अनुसार नागरिकको जिज्ञासा समयमै सम्बोधन हुँदा निर्वाचनप्रति विश्वास बढ्ने र मतदान प्रक्रियामा सहभागिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । आयोगले आधिकारिक सूचनाका लागि आफ्नो वेबसाइट र कल सेन्टरमार्फत जानकारी लिन सबै मतदाता र सरोकारवालालाई आग्रह गरेको छ ।