नेभिगेशन
राजनीति

बालेनविरुद्ध उजुरी

काठमाडौं – रास्वपाका वरिष्ठ नेता बालेन शाहले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । धर्मराज तिमिल्सिनाले सोमबार दिएको उजुरीमा बालेनले निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको दाबी गरिएको छ ।

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पब्लिक डिबेटको सन्दर्भमा शाहले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उजुरीमा उल्लेख छ । बालेनले प्रयोग गरेका शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको उजुरीकर्ताको भनाइ छ ।

‘यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा क्षति पुर्‍याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको मानसिकता भ्रमित गर्ने खतरा छ । यसले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त रूपमा सम्पन्न हुने संवैधानिक उद्देश्यलाई कमजोर बनाउने र लोकतान्त्रिक बहसलाई हिंसात्मक आरोप तथा अफवाहको तहमा झार्ने खतरा रहेको’ भन्दै कारवाही गर्न माग गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्